जापानमा उद्धार कार्यमा हजारौं फौज परिचालित



टोक्यो, (एजेन्सी)।जापानमा वर्षौंपछि आएको अत्यन्तै ठूलो आँधीहूरीको कारण कम्तिमा १८ जना मानिसको ज्यान गएपछि आइतबार सरकारले उद्धार कार्यका लागि २७ हजार फौज परिचालन गरेको छ।

शनिबार राजधानी टोक्योदेखि दक्षिणमा हागिविस नामक समुद्री तुफानको कारण पहिरो जानुका साथै उत्तरी भागमा डरलाग्दो बाढी आएको थियो।

सरकारी टेलिभिजन एनएचकेले यस घटनामा अझै १३ जना मानिस हराइरहेको पुष्टी गरेको छ। मध्य नागानो क्षेत्रमा जापानको प्रशिद्ध बुलेट ट्रेनहरू डुबानमा परेका छन् भने हेलिकोप्टरमार्फत छतमा अलपत्र परेका मानिसलाई उद्धार गरिएको छ।

जापानी प्रधानमन्त्री सिन्जो आवेले आवश्यक परेको खण्डमा थप फौज परिचालन गरिने वचन दिएका छन्। आइतबार आँधी कमजोर हुँदै गएको छ। टोक्योदेखि उत्तरमा पर्ने कावागोय शहरमा आपतकालीन उद्धार टोलीले डुंगा प्रयोग गरी एउटा नर्सिंग होममा फसेका मानिसको उद्धार गरेका थिए।

टोक्योका झन्डै १ लाख ५० हजार घरमा बिजुली र पानी आपूर्ती बन्द भएको छ। हागिविस पुन फर्कन सक्ने भयको कारण ट्रेन र विमान सेवा रद्द गरिएको छ। अधिकांशको पहिरोमा पुरिएर र बाढीले बगाएर मृत्य भएको थियो। एकजना ७० वर्षीया वृद्धाको भने उद्धार गरिँदै गरेको हेलिकोप्टरबाट खसेर मृत्यु भएको बुझिएको छ।

जापानको केहि भागमा औषत वर्षाको ४० प्रतिशत वर्षा भएको जलवायु मापन विभागले जनाएको छ। शुक्रबार र शनिबार गरी माउन्ट फुजी नजिकको हाकोने शहरमा ३ फिट भन्दा बढी पानी परेको सरकारी अधिकारीले बताएका छन्।

आँधीका कारण जापानमा आयोजना भइरहको रग्वी वल्र्डकपका केही म्याच रद्द भएका छन् तर आइतबार तय भएको जापान र स्कटल्यान्डबीचको महत्वपूर्ण म्याच भने हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्