कारागारका कैदीबन्दीको जीवन कष्टकर



डोटी, (नेस)।जिल्ला कारागार डोटीका कैदीबन्दीहरू कष्टकर जीवन जिउन बाध्य भएका छन्। कैदीबन्दी बस्ने भवन चुहिने हुँदा उनीहरू प्लास्टिकको छाना बनाएर बस्न बाध्य भएका छन्।राणाकालमा निर्माण गरिएको वर्षौं पुरानो कारागार जीर्ण भएर चुहिन थालेपछि कैदीबन्दी प्लास्टिकको छानो बनाएर रात बिताउन बाध्य भएका हुन्।

डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले कारागार चुहिने भएकाले कैदीबन्दीलाई समस्या भएको बताउनुभयो। ‘भवन पुरानो छ।

बेलाबेलामा पानी पर्दा चुहिन्छ’, प्रजिअ पौडेलले भन्नुभयो– ‘कारागार मर्मतका लागि हामीले बजेट माग गरेका छौं। बजेट आएको छैन। आएपछि मर्मत गर्नेछौं।’

सरकारले जीर्ण भएको डोटी कारागार टालटुल गरे पनि पानी पर्दा चुहिने क्रम नरोकिँदा कैदीबन्दीलाई समस्या भएको हो। छानाबाट पानी चुहिने भएकाले प्लास्टिक राखेर कैदीबन्दी सुत्न बाध्य भएका हुन्। डोटी कारागारका छानामा राणाकालमा लगाइएका स्लेट पनि खिइएर झर्न थालेको कैदीबन्दीका नाइके दीपेन्द्र जेठाराले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘दिउँसो हामी बाहिर चौरमा हुन्छौं, सामान्य हुरी चल्दासमेत सिलेट खस्ने र कसको टाउकोमा लाग्छ र मर्छन् भन्ने चिन्ताले पिरोलेको हुन्छ।’पर्खालभित्रको ढोकासमेत पुरानो भएका कारण लगाउन गाह्रो हुने गरेको कैदीबन्दीहरू बताउँछन्।

रकम अभावले कारागारको जीर्ण भवन मर्मत सम्भारको कार्य हुन नसकेको कारागारका प्रमुख राजन केसीले बताउनुभयो।

‘भवन निकै पुरानो भएकाले छत चुहिन्छ’, उहाँले भन्नुभयो– ‘फर्समा पानी चुहिन्छ र छानाका सिलेट खस्ने भएकाले कैदीबन्दीलाई बस्न निकै गाह्रो छ।’

कारागार विभागले मागअनुसार बजेट नदिँदा डोटी कारागार हालसम्म मर्मत हुन नसकेको कारागारका कर्मचारीहरू बताउँछन्। डोटी कारागारमा पुरुष कैदीबन्दी ४३ र महिला कैदीबन्दी चार गरी हाल कुल ४७ जना रहेका छन्।

२५ जना मात्र कैदीबन्दीको क्षमता रहेको उक्त कारागारमा क्षमताभन्दा झन्डै दोब्बर कैदी राखिँदा झन् समस्या भएको कारागार प्रशासनले बताएको छ।

कैदीबन्दी बढी हुँदा खानेपानी र शौचालय जानका लागि समेत पालो पखर्नुपर्ने अवस्था रहेको बताइएको छ। कैदीबन्दी भन्छन्– ‘निकै कष्ट सहेर बाँच्नुपरेको छ। हामी पनि नेपाली नागरिक हौं, सहजरूपमा बाँच्न पाउनुपर्ने हाम्रो अधिकार सुनिश्चित गरिनुपर्छ।’

उता दिपायल सिलगढी नगरपालिकाले जीर्ण कारागार मर्मतका लागि केही रकम दिने आश्वासन दिएको कारागार प्रशासन प्रमुख राजन केसीले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘विभागबाट रकम आएको छैन, नगरपालिकाले छाना मर्मतका लागि रकम दिने भनेको छ तर दिएको छैन। दिनेबित्तिकै मर्मत गर्छौं।’

उता कैदीबन्दीलाई पढ्न सजिलो होस् भनेर नगरपालिकाको सहयोगमा जिल्ला प्रहरी कार्यालय डोटीले केही महिना पहिले कारागारमा पुस्तकालयको समेत व्यवस्था गरेको छ।

पुस्तकालय स्थापना भएपछि कैदीबन्दीलाई पुस्तक पढ्न र समय बिताउन निकै सजिलो भएको कैदीबन्दीका नाइके दीपेन्द्र जेठाराले जानकारी दिनुभयो। डोटी कारागार सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कारागार हो।

प्रतिक्रिया दिनुहोस्