लाखौं मूल्यको सीसीटिभी क्यामेरा उपयोगविहीन



पुष्पा थापा, सर्लाही। अपराध अनुसन्धान र नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले सर्लाहीका विभिन्न स्थानमा जडान गरिएका अधिकांश सीसीटिभी क्यामेरा मर्मत–सम्भार नहुँदा प्रयोगविहीन भएका छन्।

जिल्लाका मुख्य बजार र पूर्व–पश्चिम राजमार्ग सुरक्षाका लागि भन्दै १ सय २१ वटा सीसीटिभी क्यामेरा जडान गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

पूर्व–पश्चिम राजमार्ग र बजार सुरक्षाको लागि स्थानीय पालिका, प्रदेश सरकार, संघीय सरकार र विभिन्न संघसंस्थाको सहयोगमा मलंगवा नगरपालिका, ईश्वरपुर नगरपालिका, बरहथवा नगरपालिका, हरिवन नगरपालिका, लालबन्दी नगरपालिका, हरिपुर नगरपालिका, कौडेना गाउँपालिकामा उक्त सीसीटिभी क्यामेरा जडान गरिएको थियो।

करिब एकवर्ष पहिले जडान गरिएका सीसीटिभी क्यामेरा अहिले काम नलाग्ने भएर बिग्रेका छन्। हरिवनको पूव–पश्चिम राजमार्गको विभिन्न स्थानमा जडान गरिएका २१ वटा सीसीटिभी क्यामेरा मध्य अहिले तीनवटा मात्र सञ्चालनमा रहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक सुवास भट्टराईले जानकारी दिनुभयो।

वर्षाको पानीले सीसीटिभी क्यामेरा बिग्रिएकोले दशैंअघि नै मर्मत गरी पुनः सञ्चालनमा ल्याउने उहाँले जानकारी दिनुभएको थियो।

बिग्रेका सीसीटिभी म्यामेरा मर्मतको लागि कार्यपालिका बैठकमा कुरा उठे पनि मर्मत भइनसकेको हरिवन नगरपालिका–९ का वडाध्यक्ष सीताराम पोखरेलले जानकारी दिनुभयो।

त्यसै गरी बरहथवा नगरपालिकाको विभिन्न स्थानमा जडान गरिएका २५ वटा सीसीटिभी क्यामेरा मध्ये अहिले एउटा मात्र सञ्चालनमा रहेको इलाका प्रहरी कार्यालय बरहथवाले जानकारी दिएको छ। बरहथवा बजारमा २०७४ सालमा सीसीटिभी क्यामेरा जडान गरिएको थियो।

बिग्रेर संचालनमा नरहेका पुराना सीसीटिभी क्यामेराको प्रविधिक बोलाएर मर्मत गरी पुनः सञ्चालनमा ल्याउने बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतोले जानकारी दिनुभयो।

बजार तथा राजमार्ग क्षेत्रमा जडान गरिएका सीसीटिभी क्यामेराले काम गर्न छोडेपछि अहिले बजारमा चोरीका घटना दिनदिनै बढ्न थालेको बरहथवाका स्थानीय व्यापारी खेमराज बस्नेतले गुनासो गर्नुभयो।

त्यसैगरी मलंगवा नगरभित्र जडान गरिएका ३९ वटा सीसीटिभी क्यामेरामध्ये अहिले १२ वटा मात्र सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठोरले जानकारी दिनुभयो।

मलंगवा नगरपालिका भित्र जडान गरिएका सीसीटिभी म्यामेरा प्रयोगविहीन भएपछि सदरमुकाको सुरक्षामा चुनैती थपिएको प्रहरीको भनाइ छ।

त्यसैगरी उद्योग वाणिज्य संघ लालबन्दी र इलाका प्रहरी कार्यालय लालबन्दीले तीनवर्ष पहिले जडान गरेको ६ वटा सीसीटिभी क्यामेरा अहिले सबै प्रयोगविहीन भएको छ।

पुराना सीसीटिभी क्यामेरालाई मर्मत नगरी नगरपालिकाले यस वर्ष बजार क्षेत्रमा थप २२ वटा सीसीटिभी क्यामेरा जडान गरिरहेको छ। यस वर्ष जडान गरिएको सीसीटिभी क्यामेरा अबको एक साताभित्र सञ्चलनमा आउने नगर प्रमुख मानबहादुर खड्काले जानकारी दिनुभयो।

त्यसैगरी हरिपुरमा ६ वटा सीसीटिभी क्यामेरा र कौडेनमा एउटा सीसी क्यामेरा जडान गरिएको छ। यसरी लाखौं रुपियाँ खर्च गरेर जडान गरिएका सीसीटिभी क्यामेरा प्रयोगविहीन भएको भन्दै स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरेका छन्।

पुराना सीसीटिभी क्यामेरालाई मर्मत नगरी नयाँ खरिद गरेर स्थानीय पालिकाले आर्थिक दुरूपयोग गर्न खोजेको सर्वसाधारणले गुनासो गरेका छन्।

सडक छेउको बिजुलीका खम्बामा झुन्डिएका लाखौं मूल्य पर्ने सीसीटिभी क्यामेरा अहिले देखाउनका लागि मात्र भएको स्थानीयको आरोप छ। सीसीटिभी म्यामेराबाट खिचिएका दृश्यको प्रहरीले निगरानी गर्दै आएकोे छ।

सीसीटिभी क्यामेरा मर्मत गर्ने व्यक्तिको अभाव र लोडसेडिङका कारण सीसीटिभी क्यामेरा सञ्चालन गर्न मुस्किल परेको स्थानीय पालिकाको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्