पटाका बरामद



नेपाल समाचारपत्र, विराटनगर।मोरङको सुनवर्षी र रंगेलीबाट भन्सार छली ल्याएको पटाकासहित विभिन्न सामान मोरङ प्रहरीले बरामद गरेको छ।आइतबार सुनवर्सी–९ स्थित डाइनिया बजारमा भारतबाट अवैधरूपमा नेपालतर्फ साइकलमा ल्याउँदै गरेको अन्दाजी १२ हजार रुपियाँ बराबरको १२ बन्डल कोब्रा नामक पटाका इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो।

प्रहरीलार्ई देख्नासाथ पटाका छाडी मानिस साइकल लिएर फरार भएका थिए। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै मोरङ रंगेली नगरपालिका–२ मंगलबारेस्थित नहर छेउमा भारतबाट बीआर३८प३९८७ नम्बरको मोटरसाइकलमा भन्सार छली ल्याउँदै गरेको अन्दाजी ४० हजार बराबरको आइरन, ग्याँस चुलो, सिलिङ पंखा र प्रेसर कुकरलगायतका सामान रंगेलीबाट खटिएको प्रहरी गस्ती टोलीले पक्राउ गरेको छ।

प्रहरीलाई देख्नासाथ फरार भएका सामान ल्याउने व्यक्तिको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।उक्त सामान आवश्यक कारबाहीका लागि रानी भन्सार कार्यालय पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

तिहार तथा छठ नजिकिएसँगै सीमाक्षेत्रमा हुन सक्ने आपराधिक घटनाका साथै निषेध गरिएको पटाकाजन्य पदार्थ तथा अन्य अवैध सामानहरू भित्रिन सक्ने अवस्थालाई मध्यनजर गर्दै सीमाक्षेत्रमा विशेष प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्