रामलीला ज्ञान महोत्सव जारी

रामलीला मैदान निर्माणका लागि १ लाख रकम संकलन



बैतडी, (नेस)। बैतडीमा जारी रामलीला ज्ञान महोत्सवमा हालसम्म १ लाखभन्दा बढी रकम संकलन भएको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटमा असोज २२ गतेदेखि शुरू भएको उक्त ज्ञान महोत्सवमा उक्त रकम संकलन भएको हो।

रामलीला ज्ञान महोत्सवबाट संकलित रकमले दोगडाकेदार गाउँपालिका–३ खोचलेकमा रामलीला मैदान निर्माण गरिने आयोजक दोगडाकेदार रामलीला ज्ञान महोत्सवका संयोजक दानबहादुर कार्कीले जानकारी दिनुभयो।

कात्तिक ४ गतेसम्म सञ्चालन हुने उक्त रामलीला ज्ञान महोत्सवलाई सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले उद्घाटन गर्नुभएको हो।

यसअघि गत वर्ष पनि सञ्चालन गरिएको रामलीला महोत्सवमा १० लाख रुपियाँ संकलन भएको थियो। गत वर्ष रामलीला ज्ञान महोत्सवबाट संकलित रकमले निर्माणाधीन रामलीला मैदानको निर्माण अधुरै रहेकाले यो वर्ष पनि रामलीला महोत्सवको आयोजना गरिएको संयोजक कार्कीले बताउनुभयो।

यसैबीच बैतडीको थालीगडामा सञ्चालन भएको रामलीलामा दर्शकहरूको संख्या बढ्दै गएको छ। चार दिनअघिबाट शुरू भएको रामलीला महोत्सवमा दर्शकको संख्या बढ्दै गएको कालिका सांस्कृतिक समाजका सदस्य कर्णबहादुर चन्दले जानकारी दिनुभयो।

कालिका मावि थालिगडाको प्रांगणमा सञ्चालन भइरहेको रामलीला महोत्सव कालिका सांस्कृतिक समाजले आयोजना गरेको हो।स्थानीय धर्म, संस्कृति र कलाको संरक्षणका लागि समाजले प्रत्येक वर्ष रामलीला महोत्सवको आयोजना गर्दै आएको छ।

महोत्सवबाट संकलन भएको रकम विद्यालय र मन्दिर व्यवस्थापन तथा अन्य सामाजिक कार्यमा खर्च गर्ने गरिएको कालिका सांस्कृतिक समाजका सदस्य चन्दले जानकारी दिनुभयो। कात्तिक ४ गतेसम्म चल्ने महोत्सवमा रामचन्द्र भगवान्को जीवनीमा आधारित विशेष प्रस्तुति रहने उहाँले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्