गोरखा मनकामनाकी दिदी जाजरकोटकी मालिका



वासुदेव शर्मा

निःसन्तानलाई सन्तान दिने मालिकाको महिमा

जाजरकोट भेरी नगरपालिका–६, मछाइनाको मालिका मन्दिर धार्मिक र प्राकृतिक हिसावले निकै महत्वपूर्ण रहेको छ। यो मन्दिर गोरखा मनकामनाकी दिदी मालिका देवीको पूजा–अर्चना हुने मन्दिर हो। मागेपछि प्राप्त हुन्छ भन्ने सर्वसाधारणमा विश्वास भएकाले मनले चाहेको वर माग्न विभिन्न बहाना बनाउँदै गोरखा मनकामनामा सर्वसाधारणको घुइँचो लागे जस्तै जाजरकोटको मछाइना मालिका मन्दिरमा पनि सर्वसाधारणको भीड लाग्ने गर्दछ।

वर्षायामको समाप्तिसँगै विभिन्न मेलापर्व र जात्राहरूको अवसरमा मालिका मन्दिरमा पूजा गर्न निःसन्तान दम्पती जाने गर्दछन्। उनीहरू सन्तान प्राप्तिको लागि वर माग्न जाने गर्दछन्। प्राकृतिक सुन्दरताले भरिपूर्ण मछाइनाको मालिका क्षेत्रमा वनभोज खाने र घुम्न जानेको संख्या पनि बढ्दै जान थालेको छ।

गोरखाकी शक्ति स्वरूपा देवी मनकामनाकी दिदीका रूपमा जाजरकोटमा पुजिने गरेकी मालिका देवीको पूजा–अर्चना गर्न र वरदान माग्न मछाइना जानेको संख्या बढ्न थालेपछि भेरी नगरपालिका–६ मछाइनामा चहलपहल बढेको छ।

सुशिक्षा, सुस्वास्थ्य, धन र सन्तान प्राप्तिका लागि मालिका मन्दिरमा वर माग्न आउनेको संख्या बढ्ने गरेको मन्दिरका पुजारी गोविन्द घर्तीले बताउनुभयो।

उहाँले मन्दिरमा दर्शन गर्नका लागि जात्राको बेला १ हजारभन्दा बढी सर्वसाधारण आउने र अन्य समयमा दैनिकरूपमा सर्वसाधारण श्रद्धालु आउने र पूजा–अर्चना गर्ने गरेको बताउनुभयो।

मेरो इच्छा पूरा गरे बोका दिउँला भनेर भाकल गरेका मानिस बोकाको बली चढाउन चतुर्दशीको दिन मन्दिर जाने गर्दछन् भने श्रावण पूर्णिमाको दिन मालिका मन्दिरमा पूजा–अर्चना हुने र मेला लाग्ने पूजारी घर्तीले बताउनुभयो।

मन्दिरको अवस्थिति र पहुँच

गोरखाको मनकामना मन्दिरमा जस्तै दुरुस्तै चलन र संस्कार रहेको मछाइना मालिका मन्दिर समुन्द्र सतहदेखि २ हजार ४ सय ९० मिटर उचाइमा रहेको छ।सदरमुकाम खलंगा बजारदेखि १९ किलोमिटरको दूरीमा रहेको मछाइना क्षेत्र पैदलै जाँदा खलंगा गैरीखाली हुँदै रानागाउँ, पाखेदह, ओखलपानी भएर भेरे हुँदै पुगिन्छ। सवारीसाधनमा जाँदा बोहरा, छिप्रेना, काफलचौर, भेरे हुँदै पुगिन्छ।

मालिकाको डाँडामा पुग्ने जो–कोहीले पनि धार्मिक हिसाबले शुद्ध मन र मानसिक हिसाबले ताजा दिमाग बनाएर फर्किने गर्छन्। जाजरकोटको मालिका पुग्नु र गोरखाको मनकामना पुग्नु एकै भएको मालिका घुम्न आउने आन्तरिक तीर्थयात्रीको भनाइ छ।

सदरमुकाम खलंगाबाट चार घन्टाको पैदल र गाडीको यात्राबाट डेढ घन्टाको दूरीमा रहेको मालिका क्षेत्र गोरखाकी देवी मनकामनाको उत्पत्तिस्थल भएकाले सर्वसाधारणको आवात–जावात बढ्न थालेको सरोकारवाला बताउँछन्।

गोरखाको मनकामना मन्दिरमा जस्तै जाजरकोटको मालिका मन्दिरमा पनि मगर जातिका पुजारी रहने चलन छ र अन्य पूजाआजाको चलन र संस्कार पनि एकै प्रकारको पाइन्छ।

मनकामना रिसाएर गोरखा गएर बसिन्

दुई बहिनीका रूपमा पुजिने मनकामना र मालिका हिन्दूका लागि निकै महत्वपूर्ण देवी हुन्। साढे ६ सय वर्षअघि स्थापना भएको जाजरकोट राज्यका बेला दुई बहिनी मालिका र मनकामनालाई त्यति बेलाका राजाहरूले अन्यायपूर्ण व्यवहार गरेको भन्दै जाजरकोटको भूमि त्यागेर मनकामना गोरखा गएको किम्वदन्ती छ।

मनकामनाले जाजरकोटको भूमि छोड्दा सरापेर गएको हुनाले अहिले पनि जाजरकोटी राजाका सन्तान शाह ठकुरीहरू मनकामनाको दर्शन गर्न जाँदैनन्।

अहिले पनि जाजरकोटको मालिका क्षेत्रमा जाने हो भने मनकामनाको उत्पत्ति भएको ठाउँ भेरेमा नौवटा मूलबाट पानी जाग्ने गरेकाले त्यहींको जीर्ण मन्दिरमा मनकामनाको पूजाआजा गर्ने गरिएको छ।

प्राकृतिक सौन्दर्य र मालिकाको लोभलाग्दो वातावरण

मछाइनाको अग्लो पहाडमा मालिका देवी र त्यसैको छायाँ पर्ने नौमूलेमा मनकामनाको पूजा गर्ने गरेको पाइन्छ। स्थानीय सरकारले मालिका क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्छ भन्ने उद्देश्यका साथ मन्दिरमा जाने आगन्तुक पाहुनाका लागि अतिथिगृह र वनभोज खानका लागि बस्ने घर बनाइएको छ।

आवासको व्यवस्था भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई निकै सुविधा भएको छ। घनाजंगल र टाढा–टाढा देखिने सेता हिमशृंखलाहरूको मनोरम दृश्य र आस्थाकी देवी मालिकाको वर्षाैं पुरानो मन्दिरले सुन्दरता र ऐतिहासिक एवं धार्मिक महत्व बढाएको छ।

पूर्वमा सिस्ने हिमाल, उत्तरमा कुसे र च्याखुरे हिमाल, दक्षिणतिर रुकुम सल्यानका हरिया फाँटहरू, आसपासमा छरिएर रहेका स–साना बस्ती र वरिपरिको रमाइलो बाक्लो वनक्षेत्रको प्राकृतिक सौन्दर्यले जुनसुकै पर्यटकको मन लोभ्याउँछ। यसरी मालिका मन्दिरको वरिपरिको वातावरणले मानिसलाई लोभ्याउने गरेको छ।

पूर्वाधार विकासमा अग्रसर मालिका क्षेत्र

प्रशिद्ध मालिका क्षेत्रलाई जाजरकोट मात्र नभएर नेपालकै उत्कृष्ट पर्यटकीय तथा धार्मिक गन्तव्य बनाउनका लागि आफूहरूले पूर्वाधार निर्माण एवं अन्य संरचना तयार गर्ने उद्देश्यले मालिका पर्यटन क्षेत्र विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार गरेको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभयो।

सडक, बिजुली, सञ्चार, सुविधा सम्पन्न मालिका भ्यु टावर, मालिका पहाडको घेरावार, रिसोर्ट, पार्क, पिकनिकस्थललगायतका पूर्वाधारहरू निर्माण गरेर मालिकालाई नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि भेरी नगरपालिकाले योजना तर्जुमा शुरू गरेको नगरप्रमुख प्रमुख घर्तीले बताउनुभयो।

मछाइनामा उत्पादन हुने, स्याउ, आरु, आलु, कागती मात्र होइन भेरेको राम्री गाउँमा उत्पादन हुने काउली, बन्दा मुला, गाँजर, सिमीलगायतका ताजा अर्गानिक तरकारीले पनि आन्तरिक तथा बाह्य पर्यटकलाई थप आर्कषित गर्ने गरेको स्थानीयको भनाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस्