ताईफुको कारण जापानमा ३० को मृत्यु, १६ बेपत्ता



राजबिन थापा, टोकियो ।

जापानमा शनिवार शक्तिशाली भनिएको हगिबिस ताईफुको कारण हालसम्म ३० जनाको मृत्यु भएको छ । ताईफु र बाडीमा परि १६ जना बेपत्ता र १७० जना भन्दा बढी घाइते भएका छन् ।

ताइफुसँगै आएको वर्षाले गर्दा नदिहरुमा पानीको बहाव बढेसँगै शनिवार टोकियो महानगर क्षेत्र लगायत जापानका कयौं स्थानमा आवासीय क्षेत्रहरु डुबानमा परेको समाचार संस्था क्योदोले अनुसार जापानटुडेले समाचार प्रकाशन गरेको छ । बाढी र पहिरोको चपेटामा परेका मध्य, पूर्वी र उत्तरपश्चिम क्षेत्रमा उद्धार कार्य भइरहेको जनाएको छ ।

चिकुमा नदीको किनारको बाँध भत्किदा मध्य जापानको शहर नागानो सबै भन्दा धेरै प्रभावित भएको छ । नदीको पानी आवासीय क्षेत्रमा पसेको र त्यहाँको केही स्थान बाढीको पानीले ५ मिटरसम्म डुबेको जापानको भु–मन्त्रालयको अनुमान छ । महानगर र आसपासका क्षेत्रमा शनिवार मध्याहन्न देखि आइतबार बिहानसम्म अधिकांश विमानस्थल बन्द गरिएका थिए ।

भु पूर्वाधार, यातायात तथा पयर्टन मन्त्रालयका अनुसार नौं प्रिफेक्चरमा कम्तिमा पनि ३३ ओटा पहिरो र भुस्खलन भएको जनाएको छ ।
आइतबार बिहानबाट टोकियोको हानेदा विमानस्थल र अधिकांश शिन्कान्सेन बुलेट रेल सेवा सुचारु हुन थालेका छन् ।

टोकियोको सबवेको सञ्चालन बिहान सुरक्षाको अवस्था चेकजाँच गर्न स्थगित गरिएको थियो । हाल सम्म कुनै पनि नेपाली यस घटनामा परेको जानकारी आएको छैन ।

प्रतिक्रिया दिनुहोस्