युवा खेलाडीलाई बढी एक्सपोज गर्नुपर्छ ः गुरुङ



गएको बिहीबार नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप–२०२२ अन्तर्गत दोस्रो चरणको छनोटमा अष्ट्रेलिया विरुद्ध ५–० को हार बेहोरेको थियो। यो नेपालको सो छनोट चरणमा तेस्रो खेल थियो भने दोस्रो हार। सोही खेलको विषयमा नेपाल समाचारपत्रका संवाददाताले नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङसँग गरेको कुराकानी ः

अष्ट्रेलिया विरुद्धको खेललाई कसरी लिनुभएको छ ?

यसो हेर्दा नेपालले शुरूको पाँचांै मिनेटमा गोल बेहोर्दा बढी नै गोल खाने देखिएको थियो। तर, नेपालले खेल सम्हालेर अष्ट्रेलिया कै भूमिमा ५–० ले हार बेहोर्यो। यो नतिजा निराशाजनक भन्न मिल्दैन।

यदि कुवेतमा जस्तै गोल खाएको भए सायद यो नेपालको नराम्रो हारमा पथ्र्यो होला। अर्को अस्टे«लिया विश्वकप खेलिसकेको टोली हो।

शारीरिक हिसाबले हेरेमा पनि अस्टे«लियाका खेलाडी बलिया र अग्ला छन्। यसको बाबजुद जसरी नेपाली युवा खेलाडीले जोश देखाए त्यो भविष्यका लागि रामै्र हुने संकेत हो।

नेपालको खेलमा कमी–कमजोरी के–के छन् ?

कमजोरी भनेको अनुभव नभएका खेलाडी हुन्। यसले नेपाललाई बलिया टोलीसँग खेल्न कठिन भएको हो। नेपाली टोलीमा अधिकांश खेलाडी युवा छन्।

उनीहरू एक्सपोज हुन सकिरहेका छैनन्। उनीहरूले अनुभव बटुल्न सकिरहेका छैनन्। एकैपटक अन्तर्राष्ट्रिय खेल खेल्नुपर्दा गाह्रो भएको हुन सक्छ।

नेपालले जोर्डनसँग खेल्दै छ। यसका लागि कस्तो रणनीति लिनुपर्छ ?

जोर्डनसँग पहिले विश्वकपकै छनोट चरणमा नेपालले ९–० को फराकिलो हार बेहोरेको थियो। अहिले खेल्दाचाहिँ नेपालले रक्षात्मक शैली अपनाउनुपर्छ। पहिले–पहिले जुन टोली थिए उनीहरूसरह खेल्न खोज्दा गोल खान पुग्थ्यो।

तर, अहिले यसरी खेल्नुहुँदैन। बरु काउन्टर एट्याकलाई जोड दिनुपर्छ। त्यसले पक्कै पनि नेपालले राम्रो नतिजा निकाल्न सकिन्छ।

जोर्डनसँग मंगलबार खेलेपछि नेपालले बाँकी चारवटै खेल नेपालमै खेल्नेछ। तपाईंको विचारमा कस्तो नतिजा निस्कन्छ जस्तो छ ?

मेरो विचारमा राम्रो नतिजा निस्कनेछ। किनभने यी चारै खेल दशरथ रंगशालामा हुनेछन्। घरेलु मैदान र दर्शकको लाभ पक्कै नेपाललाई हुनेछ। यसैले सकारात्मक नतिजा निकाल्नेमा मलाई विश्वास छ।

एउटा कुरा नतिजाको भन्दा पनि रंगशालामा हुने खेलले नेपालमा फेरि फुटबलको वातावरण पहिले जस्तै फर्कनेछ भन्ने मलाई लागेको छ।

विदेशी प्रशिक्षकको प्रशिक्षण कस्तो छ ?

योहान कलिनले राम्रै गरिरहनुभएको छ। उहाँको लक्ष्य भनेको युवा खेलाडीलाई मौका दिनु हो। यही टोलीलाई उहाँले एक्सपोज गर्दै लैजान सकेमा २/४ वर्षमा नेपाली फुटबल राम्रो हुने पक्का छ।

यो टोलीमा अझै १० वर्षसम्म खेल्न सक्ने खेलाडी छन्। यसका लागि एन्फाले पनि घरेलु लिगलाई गम्भीर भएर लिनुपर्यो।

साथै अन्तर्राष्ट्रिय खेलहरू पनि भइरहनुपर्यो। विदेशी प्रशिक्षक भन्दैमा उहाँसँग जादुको छडी त हुँदैन। उहाँ एक्लैले मात्र के गर्न सक्नुहुन्छ ?

नेपाली फुटबलको उत्थान गर्न तपाईंको योजना के छ ?

मेरो योजना भनेको फुटबल एकेडेमी खोल्ने हो। यसका लागि मैले काठमाडौंमै जग्गा खोजिरहेको छु। यसका लागि १ रोपनीभन्दा बढीको जग्गा आवश्यक हुन्छ। भनेजस्तो जग्गा पाइरहेको पनि छैन।

यदि मैले एकेडेमी खोल्न पाएमा विद्यार्थीलाई प्रशिक्षण दिनेछु। हप्तामा तीन दिन प्रशिक्षण दिएर राम्रा–राम्रा फुटबलर जन्माउने सपना छ। अर्को मैले कोचको प्रशिक्षण पनि लिने विचार गरिरहेको छु। हेरौं के हुन्छ ?

प्रतिक्रिया दिनुहोस्