दर्जन बढी सहमति र सम्झौता तयार



काठमाडौं, (नेस)।नेपाल सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणका अवसरमा नेपाल–चीनबीच दर्जनभन्दा बढी सम्झौता र सहमति गर्ने तयारी गरेको छ। सरकारले प्राथमिकता निर्धारण गरेर भ्रमणका क्रममा गरिने सम्झौता तथा सहमतिको खाका तयार गरेको हो।

छिमेकी देश चीनबाट २३ वर्षपछि भएको उच्चस्तरको भ्रमणलाई नेपालले राजनीतिक, आर्थिक तहबाट फलदायी बनाउ सरकारले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र चीनका जानकार विज्ञहरुसँग सुझावसमेत लिएको थियो।

चिनियाँ राष्ट्रपति सीको भ्रमणलाई नेपालले निकै प्राथमिकतामा दिँदै सोहीअनुसारको सम्झौता र सहमतिको खाका तयार गरेको हो।

नेपालको निमन्त्रणलाई स्वीकार गर्दै दुईदिने भ्रमणमा आउनुभएका चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा नेपाल र चीनबीच दर्जनभन्दा बढी सम्झौता र सहमति गर्ने गृहकार्य सरकारले गरेको बताइएको छ।

सडक, प्रसारण लाइन, रेलमार्ग, क्रसबोर्डर रेल, आर्थिक जोन, सुरुङ मार्ग, नाका स्तरोन्नति, सडक मार्गको विकासलगायतका विषय सम्झौता तथा सहमतिमा समेटिएको परराष्ट्र मन्त्रालयले बताएको छ। पूर्वपश्चिम रेलमार्गमा चिनियाँ सहयोग हुने अपेक्षा सरकारले लिएको छ।

केरुङ–काठमाडौं रेलका विषयमा विस्तृत परियोजना अध्ययन प्रतिवेदन तयार गर्ने विषयलाई पनि सरकारले सम्झौताको प्राथमिकतामा राखेको छ।

टोखा–छहरे सुरुङमार्गसहित सडक खण्ड निर्माणको प्रस्ताव गर्ने तयारी गरेको सरकारले भ्रमणमा चीनले सरप्राइज घोषणा गर्न सक्ने अपेक्षा गरिएको छ।

राजमार्ग निर्माण तथा स्तरोन्नति, बन्दरगाह, विमानस्थल, विद्युत् केन्द्रलगायत भौतिक पूर्वाधारको निर्माणमा चीनसँग सहकार्य गर्दै आएको र यसमा सहयोग जारी राख्ने पनि सीले सन्देश दिनुभएको छ।

यसैबीच दुई दिनको बसाइमा आर्थिक, सामाजिक, स्वास्थ्य, शिक्षा, धार्मिक स्थलहरुको विकासका क्षेत्रमा समझदारी हुने कार्यक्रम रहेको छ।

केमिकल इन्जिनियरिङमा शिक्षा हासिल गर्नुभएका राष्ट्रपति सिले परम्परागत उपचार पद्धतिका विषयमा पनि समझदारी गर्ने कार्यक्रम रहेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ।

स्रोतका अनुसार राष्ट्रपति सिको नेपाल भ्रमणका बेला पर्न सक्ने स्वास्थ्य समस्यालाई ध्यानमा राखी नेपाल आर्मी अस्पताललाई तयारी अवस्थामा राखिएको छ।

यसका साथै वीर अस्पताल, त्रिवि शिक्षण अस्पताललगायत अन्य अस्पताललाई पनि तयारी अवस्थामा राखिएको छ। सिको भ्रमणले दुई देशबीचको सम्बन्ध प्रगाढ बन्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्