एक वर्षमा ५० विद्युतीय बस ल्याउँदै



Electric bus

काठमाडौं, (नेस)।सुन्दर यातायात प्रालिले यो वर्ष ५० वटा नयाँ बस ल्याउने तयारी गरेको छ। हाल ११ वटा बस सञ्चालन गर्ने अन्तिम तयारी गरेको यातायातले तिहारलगत्तै ५० वटा बस ल्याउने सम्झौता गर्न लागेको छ।

एक वर्षभित्र नयाँ ५० सहित सुन्दर यातायातसँग ६१ वटा बस हुने भएका छन्। सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले चीनको चाइना बीएके ग्रुप एलडी मोटर सेन्चुवा अटो कम्पनीले निर्माण गरिरहेको ती बसको ब्याट्री जडान गरेपछि सम्झौताको कार्यान्वयन हुने बताउनुभयो।

‘ब्याट्री जडान गरेसँगै कम्पनीले हामीलाई बस हस्तान्तरण गर्नेछ, हस्तान्तरण गरेको ४० दिनमा बस नेपालमा पठाउनुपर्नेछ।’ –उहाँले भन्नुभयो।

अन्तर्राष्ट्रिय नियमअनुसार विद्युतीय बस निर्माणलगत्तै ब्याट्री जडान गर्दा सम्झौता गर्ने प्रचलन रहेको थापाले बताउनुभयो।

‘ब्याट्री जडान गरेको ४० दिनभित्र बस नपठाए दैनिक ५ हजार डलर जरिवाना तिर्नुपर्ने कानुनी व्यवस्था भएकाले ४० दिनभित्र बस पठाउनै पर्ने उहाँले बताउनुभयो। ‘तिहारलगत्तै ५० बसको सम्झौता गर्न हामी चीन जाँदै छौं।’ –उहाँले भन्नुभयो।

चीनबाट ल्याइएका ती विद्युतीय बसमध्ये २५ वटा उपत्यकामा र २० वटा प्रदेश १ र ५ मा सञ्चालन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ।

‘प्रदेश नम्बर १ को विराटनगर, काकडभिट्टा, धरानका विभिन्न रुट र प्रदेश ५ को विभिन्न शहरका विभिन्न रुटमा बस सञ्चालन गर्ने गरी तयारी गरिरहेका छौं।’ –अध्यक्ष थापाले भन्नुभयो। प्रदेश सरकार र सुन्दर यातायातले दुईवटै प्रदेशमा चार्जिङ स्टेसन निर्माण गर्ने गृहकार्य गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्