तिहारपछि थप तीन रुटमा चीन निर्मित बस-उपत्यकामा २५ विद्युतीय बस चलाउने तयारी



Electric bus

ईश्वरराज ढकाल, काठमाडौं।उपत्यकास्थित चक्रपथमा चार थान विद्युतीय बस सञ्चालन गर्दै आएको सुन्दर यातायात प्रालिले तिहारलगत्तै थप सात बस चलाउने भएको छ। कम्पनीले दोस्रो चरणमा भित्याउन लागेका ती बस ललितपुर र भक्तपुरका विभिन्न रुटमा सञ्चालनमा आउनेछन्।

कम्पनीका अध्यक्ष भेषबहादुर थापाका अनुसार नयाँ रुटमा सञ्चालन गर्ने तयारी गरिएका ती बस कलकत्ता बन्दरगाहमा आइसकेको कम्पनीले जनाएको छ।

सातवटा नयाँ बस भित्रिएलगत्तै ती बस नारायणगोपाल चोकदेखि ललितपुरको मेडिसिटी अस्पतालसम्म, गोंगबुबाट भक्तपुरका सूर्यविनायकसम्म, ढुंगेअड्डादेखि बल्खु, कालिमाटी जमल हुँदै जोरपाटीस्थित नेपाल मेडिकल कलेजसम्म सञ्चालन हुनेछन्।

चीन सरकारले सञ्चालन गरी हाल बन्द भएको ट्रली बस स्ट्यान्डलाई सम्झना गर्दै भक्तपुरको तत्कालीन ट्रली बस स्टेसनसम्म विद्युतीय बस सञ्चालन गर्न लागेको अध्यक्ष थापाले बताउनुभयो। उक्त रुटमा आउने र जाने गरी दुईवटा बसको व्यवस्था गरिएको छ।

चीनको बहुराष्ट्रिय कम्पनी चाइना बीएके ग्रुप एलडी मोटर सेन्चुवा अटो कम्पनीले बसको निर्माण गरी नेपाल पठाएको हो। एक महिनाअघि राजधानीको चक्रपथमा सञ्चालनमा आएको सो बसको माग बढेपछि कम्पनीले नयांँ रुट परमिट लिएर बस सञ्चालन गर्न लागेको हो।

सरकारले नेपालमा विद्युतीय सवारी साधनलाई उच्च प्राथमिकता दिने घोषणा गरेपछि सुन्दर यातायातले युरोपको १५ स्थानमा एसेम्बल गर्न सफल चिनियाँ कम्पनीको ४० सिट क्षमता भएको बस नेपाल भित्याएको हो।

सुविधा सम्पन्न बसभित्र एयरकन्डिसन, सिसिटिभी र स्मार्ट पेमेन्ट, गाडीभित्र माइकिङ सिस्टम, लोकेसन दिन इलेक्ट्रिक बोर्ड जडान गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो।

‘बसमा यात्रुले आफ्नो एटीएम कार्ड, क्युआर कोड र सुन्दर यातायातले उपलब्ध गराएको कार्डबाट रकम तिर्न सक्ने व्यवस्था गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो।
हाइटेक प्रविधियुक्त बस भए पनि बसमा प्रविधि प्रयोग गर्ने यात्रुको संख्या अत्यन्तै न्यून रहेको पाइएको छ।

५ प्रतिशत विद्यार्थी, बैंक, वित्तीय संस्था र बीमा कम्पनीमा कार्यरत कर्मचारीले मात्र एटीएम र यातायातले उपलब्ध गराएको कार्ड प्रयोग गरी भाडा तिर्ने गरेकाले अब यात्रा गर्ने सबै यात्रुलाई यसतर्फ आकर्षित गराउने योजनामा कम्पनी लागेको बताइएको छ। बसमा सिटअनुसार मात्रै यात्रु चढाउने गरिएको दाबी कम्पनीले गरेको छ।

एउटा बको मूल्य करिब १ करोड ६२ लाख (भ्याटसहित) पर्ने ती बसमा यात्रा गर्ने यात्रुबाट इन्धन प्रयोग गरी सञ्चालन भएका बसमा भन्दा करिब २० प्रतिशत कम भाडा लिने गरेको कम्पनीले जनाएको छ।

अध्यक्ष थापाका अनुसार उपत्यकामा एक वर्षभित्र २५ बस सञ्चालन गर्ने योजना रहेको जानकारी गराउँदै त्यसका लागि सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो।

तालुकदार मन्त्रालयबाट सहयोग नभएका कारण बस सञ्चालन गर्न समस्या परेको दुःखेसो पोख्दै उहाँले भन्नुभयो– ‘न हामीलाई सरकारले ऋण छुट दिएको छ, न त सहुलियतमा ऋण उपलब्ध गराउन बैंकमा मध्यस्थता गरिदिएको छ।’

भाषणमा मात्रै विद्युतीय बस सञ्चालन गर्ने घोषणा गरेको सरकारले जनताका लागि सहुलियत भाडा दरमा विद्युतीय बस सञ्चालन गर्न लाग्दा कुनै पनि सहयोग नगरेको उहाँले दाबी गर्नुभयो।

नेपाल विद्युत् प्राधिकरणले दररेट नतोकिदिँदा चार्जिङ स्टेसन स्थापना गर्न समस्या भएको बताउँदै अध्यक्ष थापाले भन्नुभयो– ‘सरकारले यो विषयलाई गम्भीररूपमा लिनुपर्दछ।’

कम्पनीले हाल ३ स्थानमा १४ वटा चार्जिङ पोर्ट जडान गर्ने भएको छ। हाल भत्केको पुलको चार्जिङ स्टेसन मात्र सञ्चालनमा आएको छ। सुकेधारा र सीतापाइलामा चार्जिङ स्टेसन निर्माण गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्