बलिउड अभिनेता सलमानको घरमा प्रहरीको छापा



काठ्माण्डौ । बलिउडका चर्चित अभिनेता सलमान खान कुनै न कुनै विवादमा आइरहन्छन्। सुटिङ स्पटमै सहकर्मीसँग झगडा गरेर होस् या उनले हाँकेको गाडीले ठक्कर दिँदा या हरिण मारेको घटनाले, उनी बेलाबखत मिडियामा छाइरहन्छन्।

उनको घरमा काम गर्ने कामदारलाई बुधबार प्रहरीले पक्राउ गरेपछि उनी फेरि विवादमा तानिएका छन्। २९ वर्षदेखि प्रहरीको खोजीमा रहेका ६२ वर्षीय शक्ति सिद्धेश्वर राणा विगत १० वर्षदेखि सलमानको घरको रेखदेख गर्दे आएका थिए।

मुम्बई प्रहरीको सक्रियतामा गोराईस्थित सलमानको बंगलाबाट राणालाई पक्राउ गरिएको हो। उनीमाथि चोरी र कुटपिटको आरोपमा उजुरी दर्ता भएको थियो।

उजुरी पर्नासाथ पक्राउ भएका राणा जमानतमा रिहा भएपछि फरार भएका थिए। फरार राणा सलमानको घरमा काम गर्दै आएका थिए।

राणा त्यहाँ रहेको जानकारीपछि मुम्बई पुलिसको अपराध शाखाले छापा मारी पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्