भण्डारी–जिनपिङ भेटवार्ता



काठमाडौं, (नेस)।नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आइतबार भेटवार्ता भएको छ। राष्ट्रपति भण्डारी र राष्ट्रपति सीबीच भेटवार्ता भएको हो। भेटवार्तामा नेपाल र चीनका विविध आयामबारे छलफल भएको छ।

दुई राष्ट्रपतिबीच साँझ सात बजेपछि राष्ट्रपति भवन शीतल निवासमा भेट भएको थियो। भेटका क्रममा दुई राष्ट्रपतिले दुईपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यबारे छलफल गर्नुभयो।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार झन्डै ४० मिनेट भएको कुराकानीका क्रममा राष्ट्रपति भण्डारीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध भएको र नेपाली भूमिबाट चीनविरोधी गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो

। राष्ट्रपति भण्डारीको भनाइलाई उद्धृत गर्दै अधिकारीले भन्नुभयो– ‘नेपालमा धेरैपछि स्थायी सरकार आएको र सरकारले विकासलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो।

केरुङ–काठमाडौं रेलमार्गलाई पोखरा र लुम्बिनीसम्म पु¥याउने, नेपाल भ्रमण वर्ष २०२० मा धेरैभन्दा धेरै चिनियाँ पर्यटक ल्याउने विषयमा पनि उहाँले कुरा राख्नुभयो।’

भेटका क्रममा राष्ट्रपति भण्डारीले भूकम्पपछिको पुनर्निर्माणमा चीनले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि नेपालले चिनियाँ लगानी र सहयोगलाई सहज बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

जवाफमा राष्ट्रपति सीले नेपाल–चीन सम्बन्ध अटल रहेको उल्लेख गर्दै नेपालको विकासमा सहयोग गर्न चीनले तयार रहेको बताउनुभयो।

सीले ट्रान्स हिमालयन ‘कनेक्टिभिटी’ ले दुवै देशबीचको सहकार्यलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो। सीले नेपाल भ्रमण वर्षमा चिनियाँ नागरिकलाई नेपाल घुम्न प्रेरित गर्ने पनि बताउनुभयो।
दुई राष्ट्रपतिको भेटवार्ता पौने ८ बजेतिर सकिएको थियो।

भेटवार्ता सकिएपछि दुवै राष्ट्रपति सीको सम्मानमा भण्डारीले सोल्टी होटलमा आयोजना गरेको रात्रिभोजमा सहभागी हुनुभएको छ।

भारतको चेन्नईबाट सी एयर चाइनाको विशेष विमानबाट राष्ट्रपति सी हिजो ५ बजे काठमाडौं अवतरण गर्नुभएको हो। २३ वर्षपछि राष्ट्रपति सी नेपालको राजकीय भ्रमण गर्नुभएको थियो।

यसअघि सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको राजकीय भ्रमण गर्नुभएको थियो।
सीलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नुभयो। सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र सरकारका विभिन्न मन्त्री र उच्च पदस्थ अधिकारी विमानस्थल पुग्नुभएको थियो।

विमानस्थलमा नेपाली सेनाको विशेष टुकुडीले राष्ट्रपति सीलाई सम्मान गारत ‘गार्डअफ अनर’ दिएको छ। अति विशिष्ट पाहुनालाई नेपाली सेनाको टोलीले गार्ड अफ अनर प्रदान गर्ने परम्परा छ। त्यसअघि दुवै देशको राष्ट्रिय गानको धून बजाउँदै नेपाली सेनाले सलामी अर्पण गरेको थियो।

त्यसलगत्तै सी त्रिभुवन विमानस्थलबाट कालीमाटीस्थित होटल सोल्टी जानुभएको थियो। होटल सोल्टीमा भएको रात्रिभोजभन्दा अघि सी र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच भेट भएको थियो। सोल्टी होटलमा भएको सो भेट भेट वान टु वान भएको देउवाको सचिवालयले जनाएको छ।

सीले आज आइतबार बिहान नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गर्ने कार्यक्रम छ।

आजै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति सीबीच दुई पक्षीय औपचारिक वार्ता हुनेछ। दुई नेताको उपस्थितिमा नेपाल–चीनबीच केही सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ।

राजकीय भ्रमणमा चिनियाँ राष्ट्रपतिसँगै चीनबाट विदेशमन्त्री वाङ यी, चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य एवं राष्ट्रपति सीका निकट सहयोगी नेता दिङ सुइसियाङ, चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य एवं पार्टीको विदेश मामिला आयोगका डाइरेक्टर, पूर्वविदेशमन्त्री याङ जेइची, चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत स्वशासित क्षेत्र हेर्ने सचिव यु यिङ जी, चीनको राष्ट्रिय विकास तथा सुधार आयोगका मिनस्टर इन्चार्ज हे लिफेङलगायत रहनुभएको छ।

 

प्रतिक्रिया दिनुहोस्