उद्यमशीलतामा ई–कमर्सको बढ्दो प्रयोग



सञ्जय यादव

यति बेला विश्वसमुदाय इन्टरनेटमय भएको छ। इन्टरनेटका कारण पूरा विश्व एउटा सानो भिलेज अर्थात् गाउँमा परिणत भएको अवस्था छ। इन्टरनेटकै कारण व्यापार व्यवसायलगायतका सामाजिक जीवनका बहुआयामिक क्षेत्रमा अनगिन्ती परिवर्तनहरू देखा परेका छन्।

थरी–थरीका अवसर र चुनौतीहरू सिर्जना भएका छन्। पछिल्ला वर्षहरूमा ई–कमर्स अर्थात् अनलाइन मार्केटिङ वा अनलाइन सपिङको बढ्दो प्रयोग इन्टरनेटकै कारण सम्भव भएको छ।

उद्यमशीलता र इन्टरनेट ः

इन्टरनेट र ई–कमर्सको बढ्दो प्रयोगलाई आजभोलि उद्यमशीलताको उदीयमान प्रवृत्तिहरूको रूपमा लिइन्छ। आजको २१ औं शताब्दीमा विज्ञान र सूचना प्रविधिमा आएको तीव्र विकासले उद्यमशीलतामा इन्टरनेट र ई–कमर्सको प्रयोगलाई सहज बनाइदिएको छ।

खासगरी इन्टरनेटले विश्वभरका करोडौं कम्प्युटर, ल्यापटप र मोबाइलहरूबीच एक–अर्कामा निकट सम्बन्ध स्थापित गर्छ। इन्टरनेटले सञ्चारमाध्यमको रूपमा कार्य गरिरहेको छ।

अवसरहरूको सिर्जना गर्न, खोजी गर्न र उद्यमशीलता विकासमा नै आजभोलि इन्टरनेटले सघाउ पुर्याउँदै आएको छ। त्यसकारण इन्टरनेट उद्यमशीलता विकासको लागि उदीयमान प्रवृत्ति हो।किनकि इन्टरनेटको माध्यमबाट नयाँ–नयाँ व्यवसायहरू शुरू भएका छन्।

जसका कारण उद्यमी व्यवसायीहरू अधिकतम लाभान्वित भएका देखिन्छन्। यसरी इन्टरन्ेटका कारण उद्यमशीलताको क्षेत्रमा अनेक अवसरहरू सिर्जना भएका छन्।

ई–कमर्स अर्थात् अनलाइन सपिङ ः

इन्टरनेटले नै ई–कमर्सको लागि सञ्चारमाध्यमको रूपमा सेवा प्रदान गर्दछ। ई–कमर्सको माध्यमबाट स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरसम्मका ग्राहकहरू सिर्जना गर्न सकिन्छ।

आफ्नो देशमा उत्पादित वस्तु तथा सेवाको विश्वव्यापीरूपमा खरिद बिक्री गर्न तथा गराउन सकिन्छ। तुरुन्त कुनै पनि देशका उत्पादन तथा सेवा प्राप्त गर्न सकिने कारण उद्यमशीलताको क्षेत्रमा ई–कमर्स नवप्रवृत्ति हो।

कम्प्युटर प्रविधिको सहायतामा गरिने व्यापार व्यवसाय ई–कमर्स हो। ई–कमर्सलाई इन्टरनेट मार्केटिङ वा अनलाइन सपिङसमेत भनिन्छ। खासगरी ई–कमर्सका लागि टेलिफोन, कम्प्युटर, इन्टरनेट, भिडियो फोन, टेलिभिजन आदिको प्रयोग गरिन्छ।

उद्यमशीलता विकासमा इन्टरनेट र ई–कमर्सको सहयोग ः

उद्यमशीलता विकासमा इन्टरनेट र ई–कमर्सको सहयोग आजको सञ्चार र प्रविधिको भूमण्डलीकरण भएको अत्याधुनिक जमानामा बहुउपयोगी साबित हुन थालेका छन्। इन्टरनेट र ई–कमर्सको माध्यमबाट उत्पादित वस्तु तथा सेवाका ग्राहकहरूसँग अन्तर्राष्ट्रिय रूपमै सजिलै पहुँच बनाउन सकिने कारण पनि यी प्रवृत्तिहरू सहयोगीसिद्ध छन्।

खासगरी इन्टरनेटद्वारा एउटा उद्यमीले आफ्ना वस्तु तथा सेवाका बारेमा ग्राहकहरूलाई विश्वव्यापीरूपमा सूचना र जानकारी प्रवाह गरेर उद्यमशीलता विकासमा सहयोग पुर्याउँछ।

आजभोलि धेरैजसो उद्यमीले उत्पादित वस्तु तथा सेवाको विज्ञापन गर्न, प्रदर्शन गर्न, वस्तु बिक्री गर्न, ग्राहक सेवा र सञ्चारको लागि इन्टरनेटकै प्रयोग गरेको पाइन्छ।

इन्टरनेटको माध्यमबाट तुरुन्त सम्पर्क गर्न सकिने भएकोले पनि उद्यमीहरूलाई यसबाट सूचनाहरू प्राप्त गर्न सजिलो भएको हुन्छ। इन्टरनेट हिजोआज उद्यमीहरूका लागि विज्ञापनको अत्यन्त कम खर्चिलो र प्रभावकारी माध्यमसमेत बन्दै गएको छ।

त्यसै गरी ई–कमर्स पनि उद्यमशीलता विकासमा अत्यन्त प्रभावकारी प्रवृत्तिको रूपमा देखा परेको छ। खासगरी हालका दिनहरूमा होटेल बुकिङ, शेयर बजार, सवारीसाधन बुकिङ, हवाई टिकट बुकिङ, म्यागेजिन, पुस्तक, टेप, खेलौनाजस्ता वस्तुहरू मात्र नभएर धेरै कुराहरू ई–कमर्सको माध्यमबाट कारोबार गरिन्छ।

खासगरी ई–कमर्सको माध्यमबाट व्यक्तिगतरूपमा ग्राहकसँग सञ्चार गर्न सकिने, इन्टरनेटमा वस्तु तथा सेवाबारे आवश्यक जति सूचना सङ्ग्रह गराउन सकिने, अनलाइनको सेवामार्फत प्रत्यक्षरूपमा वस्तु तथा सेवाबारे ग्राहकहरूसँग सूचना पुर्याउन सकिने, न्यून लागतमा ग्राहकहरूसमक्ष सूचना पुर्याउन सकिने, सम्बन्ध निर्माण गर्न सहज हुने, विश्वव्यापी सञ्जाल तयार गर्न सकिने, नयाँ–नयाँ बजारमा अवसर खोज्न सकिने र अन्य व्यावसायिक कम्पनीहरूसँग पनि ई–कमर्सको सहायतामा रणनीतिक मित्रता गाँस्न सकिने हुँदा उद्यमशीलता विकासमा ई–कमर्सको अत्यधिक उपयोग र सहयोग रहने गरेको छ।

नेपालमा पनि हालका वर्षहरूमा करोडका हाराहारीमा जनतामा इन्टरनेट पहुँचको विस्तार भैसकेका छन्। नेपाल टेलिकम, एनसेललगायत दर्जनौं इन्टरनेट प्रदायक कम्पनीहरूले दिनानुदिन इन्टरनेट पहुँच विस्तार गर्न भूमिका खेलिरहेका छन्।

कम्प्युटर, मोबाइल, इमेल तथा इन्टरनेटको माध्यमबाट अफिसियल कामकाज, व्यापार व्यवसायका कामहरू सबै सञ्चालन हुन थालेका छन्।

इन्टरनेटकै सहायताबाट नेपालीहरूले पनि विश्वभर आयात निर्यात व्यापारमा सहभागी हुन पाएका छन्। तर जे–जति मात्रामा इन्टरनेटको सुविधा उपयोग गरिनुपर्ने हो त्यो भने नेपाली उद्यमी व्यवसायीहरूले गर्न सकेका छैनन्।

त्यसो हुनुमा कमर्सियल शिक्षा लिएकाहरूसँग व्यापार व्यवसाय गर्ने पूँजी नहुनु र पूँजी भएकाहरूसँग प्रविधिको उचित ज्ञान तथा शिक्षा नहुनुले काम गरेको देखिन्छ।

यसरी ई–कमर्सको माध्यमबाट जे–जस्ता अवसरहरू हासिल गरिनुपर्ने हो त्यो नेपालीहरूले गर्न सकेका छैनन्। तर यस माध्यमबाट व्यापार र उद्यम व्यवसायको क्षेत्रमा लाभ हासिल गर्नका लागि अझै धेरै अवसरहरू देखिन्छन्।

तर त्यसलाई उपयोेग गर्न प्राविधक ज्ञान र कमर्सियल शिक्षाको अझै विस्तार गर्न आवश्यक छ। पढेलेखेका युवाहरूलाई जागिरमा मात्रै नभएर उद्यमशीलताको क्षेत्रमा आकर्षित गर्न आवश्यक छ।

बजेट आउँदै पनि गरेको अवस्थामा सरकारले युवाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा व्यापार व्यवसाय गर्न कसरी आकर्षित गर्न सकिन्छ भन्ने सोचसहितको कार्यक्रम ल्याइनु आवश्यक देखिन्छ। विश्वको पछिल्लो नवीनतम प्राविधिक ज्ञानसहितको व्यापार व्यवसायविना मुलुकको आर्थिक उन्नति बडो कठिन छ।

त्यसरी अगाडि बढ्न सकिए इन्टरनेटका कारण आज विश्वका सबै देशहरू नेपाली उत्पादनहरूका लागि बजार भएका छन्। त्यो स्वर्णिम बजारमा पाइला टेक्ने महत्वपूर्ण अवसर ई–कमर्सले नै गराएको छ।

त्यसकारण ई–कमर्स अर्थात् अनलाइन मार्केटिङ वा अनलाइन सपिङको सम्बन्धमा आवश्यक ज्ञानको सञ्चार गराउन अत्यन्त आवश्यक छ। अनि मात्र नेपालले विश्वका देशहरूसँग व्यापारिक प्रतिस्पर्धा गर्ने ढोका खुल्नेछ।

नेपालको निकासी व्यापार फस्टाउनेछ। र, आर्थिक रूपमा पनि मुलुक अगाडि बढ्नेछ। किनकि आर्थिक विकासको मेरुदण्ड भनेको व्यापार तथा व्यवसाय नै हो।

(लेखक यादव जैन युनिभर्सिटी, बैङ्लोरमा विधावारिधि गर्दै हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस्