प्रथम सिपाघाट फुटबल प्रतियोगिता हुँदै



ज्ञानमणि नेपाल, काभ्रे ।

काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं. ६ सिपाघाटमा प्रथम फुटबल प्रतियोगिता हुने भएको छ । सिपाघाट फुटबल क्लबको आयोजनामा हुने उक्त प्रतियोगिता आगामी कार्तिक १ गतेदेखि हुने बताइएको छ । जसका लागि खेलाडी सहभागी तथा नाम दर्ता गराउन सूचना आह्वान गरिएको छ । नगरपालिकामा रहेका विभिन्न फुटबल क्लबहरुलाई प्रतियोगितामा सहभागी हुन अनुरोध गरिएको हो ।

उक्त खेलमा टिम दर्ता गर्न ६ हजार रुपैयाँ दस्तुर लाग्ने आयोजकले जनाएको छ साथै प्रतियोगिताका लागि प्रत्येक खेलाडीले आफ्नो परिचय खुलेको कागजात तथा फोटो अनिवार्य बुझाउनु पर्नेछ । प्रतियोगिता अवधिभर कुनै खेलाडीबाट खेल प्रभावित पार्न खोजिएमा टिमलाई खेलबाट निस्कासन समेत गरिने आयोजकले बताएको छ ।

सिपाघाटको तल्लोबजार खेलमैदानमा उक्त प्रतियोगिता हुने बताइएको छ । खेलमा प्रथम हुने टिमलाई नगद ५५ हजार , दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुने टिमलाई २० हजार नगद राशीको पुरस्कार तथा मेडल र प्रमाणपत्र वितरण गर्ने आयोजक क्लवले जनाएको छ । इच्छुक टिमहरुले आजैका मितीदेखि नाम दर्ता गराउन सकिनेछ ।

खेलका नियमहरु

खेल सुरु हुनुभन्दा एक घण्टा पहिले नै आयोजकसँग सम्पर्क गर्नु पर्नेछ र खेल लिग चरणको हुने बताइएको छ । खेलाडीको फोटो परिचय खुल्ने परिचय पत्र अनिवार्य हुनेछ । रेफ्रीको निर्णय अन्तिम निर्णय हुनेछ । यस नगरपालिकामै पहिलो पटक हुन लागेको यस किसिमको प्रतियोगितामा धेरै टिमको सहभागिता हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्