सन् २०१९ भित्र गरीबीको रेखामुनि रहेका ९५ प्रतिशत चिनियाँलाई गरिबीबाट माथि उठाइने



चीन ।

चीनको गरिबीको रेखामूनि रहेको जनसङ्ख्याको ९५ प्रतिशत जनसङ्ख्यालाई सन् २०१९ भित्र गरीबीबाट मुक्त गरिने चिनियाँ उच्च अधिकारीले शुक्रबार बताउनुभएको छ ।

गरिबी निवारण तथा विकासका लागि राज्य परिषद् नेतृत्व समूहका निर्देशक लिउ योङ्फुले भन्नुभयो, “चीनका ९० प्रतिशतभन्दा बढी गरीब काउन्टी (इलाका) को गरिबी यस बर्षभित्र अन्त्य गरिने योजना चीनको छ । राज्यका विभिन्न निकायहरूले यस योजनालाई साकाररूप दिन युद्धस्तरमा काम गरिरहेको छ ।”

“चीनको गरिबी नियन्त्रणका लागि भएको निरन्तरको प्रयासबाट आगामी बर्ष अर्थात् सन् २०२० सम्ममा यहाँका जनतालाई गरिबीको रेखामूनिबाट बाहिर ल्याइनेछ,” उहाँले भन्नुभयो ।

चीनले विगत केही दशकमा गरिबीविरूद्धको लडाईमा ऐतिहासिक सफलता पाएको छ । यसैकारणगरिबी नियन्त्रणका लागि चीनलाई विश्वकै नमूनाका रूपमा विश्वले हेर्ने गरेको छ ।

चीनको सरकारी तथ्याङ्क अनुसार सन् २०१८ मा ग्रामिण क्षेत्रमा वसोबास गर्ने एक करोड ३८ लाख ६० हजार जनसङ्ख्या गरिबीबाट बाहिर आएको देखाएको छ । सन् २०१२ मा गरिबीको रेखामूनि रहेको चिनियाँ जनसङ्ख्या नौ करोड ८९ लाख ९० हजार रहेकोमा सन् २०१८ को अन्त्यसम्ममा यो सङ्ख्या एक करोड ६० लाख ६० हजारमा झरेको छ ।

चीनका राष्ट्रपति सी जिन पिङले सन् २०२२ सम्ममा चीनबाट गरिबीलाई पूर्णरूपमा अन्त्य गर्ने घोषणा अनुसार चीनले यहाँको गरिबीलाई निरन्तर तथा युद्धस्तरमा घटाउँदै गएको छ ।
रासस/सिन्हवा

प्रतिक्रिया दिनुहोस्