जीपको ठक्करबाट पैदलयात्री आचार्यको मृत्यु, स्कुटरमा सवार तीन जना घाइते 



न्युज अफ नेपाल, तनहुँ ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ खैरेनीटारमा जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिकोट पञ्चाल झरना गाउँपालिका–५ निवासी २२ वर्षीय कृष्णप्रसाद आचार्य रहेका छन् ।

पोखराबाट दमौलीतर्फ आउँदै गरेको बा१२च १८१२ नं को जीपले ठक्कर दिँदा घाइते भएका आचार्यको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । पैदलयात्रीलाई ठक्कर दिने जीप र चालक प्रहरी नियन्त्रणमा लिएको छ ।

यसैगरी पृथ्वीराजमार्गअन्तर्गत बन्दीपुर गाउँपालिका–५ याम्पामा बोलेरोको ठक्करबाट आज स्कुटरमा सवार तीन जना घाइते भएका छन् । मुग्लिङबाट डुम्रेतर्फ आउँदै गरेको बा१८च ५३१६ नं को बोलेरोले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश नं ३–००–०१प ८३ नं को स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जना घाइते भएका हुन् ।

प्रहरीका अनुसार घाइते हुनेमा स्कुटर चालक भरतपुर महानगरपालिका–११ बस्ने ३६ वर्षीय सुरज धिताल, निजकी श्रीमती ३० वर्षीया शोभा धिताल र उनीहरुका छोरा नौ वर्षीय अर्पण धिताल रहेका छन् ।

घाइतेमध्ये सुरजको हातमा सामान्य चोट लागेको छ भने शोभा र अर्पणको टाउको र बायाँ खुट्टामा चोट लागेको र उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते दुई जनालाई नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्