दशैंको रमझम चलिरहेको बेला पुर्वसभामुख महराले यसरी बिताए तीन दिन



न्युज अफ नेपाल, काठमाडौं ।

देशभर दशैं मनाइरहँदा पुर्वसभामुख कृष्णबहादुर महरा भने महाअष्टमी (आइतबार) साँझ प्रहरी हिरासतमा पुगे ।

संसद् सचिवालयकै एक कर्मचारीमाथि यौन दूराचारको आरोप लागेपछि उनले सभामुखबाट राजीनामा दिएका थिए ।

आरोप लागेको एक सातापछि आइतबार प्रहरीले उनलाई पक्राउ गर्यो ।

दशैंको रमझम चलिरहेको बेला आइतबार साँझ प्रहरी पुर्वसभामुख महरालाई लिन उनको सरकारी निवासमा पुग्यो ।

तीन दिनदेखि पुर्वसभामुख महरा त्यहीँको थुनुवा कक्षमा छन् । अदालतमा दशैं बिदा भएकाले पुर्वसभामुख महरालाई २८ गतेमात्रै अदालतमा पेश गरिनेछ । दशैंको दोस्रो दिनमा पक्राउ परेका पुर्वसभामुखको पूरै दशैं हिरासतमै बित्नेछ ।

पुर्वसभामुखलाई सिंहदरबार वृत्तको एक छुट्टै कोठामा राखिएको छ । ‘सिनियर अभियुक्त’ पक्राउ पर्दा त्यहीँ राखिँदै आएको छ । प्रहरीका अनुसार महरा उच्च रक्तचापका बिरामी भएकाले कोठामै अक्सिजन राखिएको छ । उनले आवश्यक परेको बेला अक्सिजन लिने र सहज भएको बेला झिक्ने गरेका छन् ।

महरालाई चिकित्सकको टोलीले थुनुवा कक्षमै आएर चेकजाँच गर्छ । उनलाई भेट्नका लागि परिवारका सदस्यबाहेक अरु कोही नआएको प्रहरीले बताएको छ ।

महराले प्रहरी हिरासतमा रहेको बेला परिवारका सदस्यसँग दशैंको टीका लगाएनन् । कहिले आफन्तले ल्याइदिएको खानेकुरा खाइरहेका छन् कहिले प्रहरीकै मेसमा पाकेको खानेकुरा पनि खान्छन् ।

प्रतिक्रिया दिनुहोस्