पूर्वी इराकमा पुनः आठ प्रदर्शनकारी मारिए  



इराक ।

इराकको राजधानीबाट पूर्वतर्फ रहेको एक जिल्लामा आइतबार प्रदर्शनकारी र सुरक्षाबलबीच भएको झडपमा परी कम्तीमा आठ प्रदर्शनकारीको मृत्यु भएको प्रहरी स्रोतले एएफपी समाचार समितिलाई जानकारी दिएको छ ।

शिया मुसलमानहरुको बलियो प्रभाव रहेको सदर शहरको विभिन्न भागमा प्रदर्शनकारीहरूले टायर जलाउनुको साथै अन्य हिंसात्मक कार्यहरु गरेको थिए । सोही अवस्थामा प्रदर्शनकारी र सुरक्षाबललबीच झडप भएको बताइएको छ ।

इराकी राजधानी बग्दाद र इराकका अरु प्रान्तमा भडकिएको सरकार विरोधी प्रदर्शनका क्रममा मारिने व्यक्तिको संख्या १०० भन्दा बढी भएको छ । इराकी मानव अधिकार आयोगका अनुसार आइतबारसम्ममा चार हजार भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

इराकी मानव अधिकार आयोगका सदस्य अलि अल–बायाटीले बग्दाद र अरु प्रान्तका मुख्य शहरहरुमा पाँच दिनदेखि जारी हिंसामा सुरक्षाकर्मी समेत १०० भन्दा बढी मारिएका बताउनु भएको छ ।

उहाँले आन्दोलनमा संलग्न झण्डै चार हजार जना घाइते भएका पनि जानकारी दिनुभयो । यी घाइतेमध्ये अधिकांश आन्दोलनकारी रहेका छन् ।

गत मंगलबारदेखि बग्दाद र मुलुकका अन्य ठूला शहरमा निरन्तर प्रदर्शन भइरहेको छ । उनीहरु बेरोजगारी बढेको, आधारभूत सेवाबाट आमजनता बिमुख रहेको तथा सरकारमा भ्रष्टाचार व्यापक बढेको भन्दै प्रदर्शनमा उत्रिएका हुन् ।

गत शुक्रबार बिहान इराकी प्रधानमन्त्री अदेल अब्दुल माहदीले प्रदर्शनकारीलाई शान्त रहन र वार्तामा आउन आग्रह गर्नुभएको थियो ।
रासस /एएफपी

प्रतिक्रिया दिनुहोस्