एनसेलको ‘अनलिमिटेड रोमिङ’ डेटा प्याक



काठमाडौं, नेस । 

एनसेलका ग्राहकले अब विभिन्न १० देशको भ्रमणमा रहँदा बिना कुनै झन्झट सुलभ दरमा डेटा रोमिङ सेवाको फाइदा लिन सक्नेछन्। एनसेल प्रालिले ‘अनलिमिटेड रोमिङ’ डेटा प्याक योजनामा असोज १६ गतेबाट कतार, संयुक्त अरब इमिरेट्स र अमेरिका पनि समावेश गर्ने भएको छ।

यससँगै भारत, मलेसिया, अमेरिका, कतार, संयुक्त अरब इमिरेट्स, सिंगापुर, श्रीलंका, बंगलादेश, कम्बोडिया र इण्डोनेसियाको भ्रमणमा जाने ग्राहकका लागि अनलिमिटेड रोमिङ डेटा प्याक उपलब्ध हुनेछ। यस अफरअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले यी देशको भ्रमणमा रहँदा हरेक दिन कर बाहेक मात्र सय रुपियाँ र करसहित १२७ दशमलव ६९ रुपियाँ अनलिमिटेड रोमिङ डेटा सेवा लिन सक्नेछन्। यो सेवाबाट लाभ लिन एनसेलका ग्राहकले आफू यात्रामा जानु अघि एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी निर्देशन अनुसार यो रोमिङ सेवा सुचारु गर्न सक्नेछन्। रोमिङ सेवा सुचारु गरी सकेपछि पुनः एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी ग्राहकले यो डेटा प्याक लिन सक्छन्।

यो योजनाले ग्राहकलाई भ्रमणमा रहँदा सुलभ दरमा अनलिमिटेड इन्टरनेट सेवा सुनिश्चित गरी आफ्ना परिवारका सदस्य, साथीभाईसँग सम्पर्कमा रहिरहन सहयोग पुर्याउने विश्वास एनसेलले लिएको छ। एकपटक यो प्याक सुचारु गरेपछि नेपालको समय अनुसार हरेक मध्यरातमा यो सेवा स्वतः नवीकरण हुनेछ र शुल्क भने ग्राहकले डेटा प्रयोग गरेको खण्डमा मात्र लाग्नेछ। अर्थात ग्राहकले प्याक खरिद गरी डेटा सेवा प्रयोग नगरेमा शुल्क लाग्ने छैन। ग्राहकले यो प्याक माथि उल्लेखित १० देशको भ्रमणमा जानु अघि वा ती गन्तव्यमा पुगेपछि पनि लिन सक्नेछन्। सम्बन्धित देशमा पुगेर मात्र यो डेटा प्याक लिनका लागि ग्राहकले रोमिङ सेवा नेपालमा नै सुचारु गरेको हुनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्