सुनको थालमा माग्न हिँड्दै



कमल ढकाल, नेस । 

एउटा कथा हाम्रो देशसँग मिल्दो भएको छ। एक माग्ने थियो। जो मन्दिरको छेउमा माग्न बसेको थियो। उसलाई दिनका दिन एक महात्मा आएर ए तिमी बसेको ठाउँ खनेर हेर त माग्न बस्न पर्दैन भन्थे। लोभी माग्नेले यहाँ खनेपछि म हट्छु भनेर कस्तो रिस गरेको यो साधुले भनेर सोचे। अझै नकारात्मक सोच बढाएर उनले सोचे खनेपछि त म हटिहाल्नुपर्छ अनि आफू बस्न होला भनेर सोचे। महात्मा भने जहिले आए पनि ए खनेर त हेर एकपटक भन्थे। माग्नेले सधैं नेगेटिभ मात्र सोचे। कहिल्यै खन्न मानेनन्।

एक दिन यस्तो दिन आयो। मन्दिरको उत्खनन हुने भयो। माग्ने बसेको ठाउँमा पनि खन्नैपर्ने भएपछि खनियो। उनी बसेको मुनि नै रहेछ सुन र चाँदीका असंख्य मुद्राहरू। त्यो देखेर माग्ने चकित प¥यो। साधुलाई उल्टो सोच्दा आफैं उल्टोमा डुबेको उनले थाहा पाए। अब उनीसँग रुनुसिवाय केही भएन डाँको छोडेर रुन थाले। त्यही माग्नेजस्तै भएको छ हाम्रो देश। असंख्य सम्भावनाबीच गरिब बनेको छ मुलुक। उल्टो भाषा चाँडो बुझ्ने, सुल्टो भाषा नबुझ्ने भएको छ। दुःख कहिल्यै नबिर्सने। सुख च्वाट्टै बिर्सने बनेको छ। पुर्खाले र प्रकृतिले जति नै दिए पनि हामीले त्यसलाई भुलेर हामी गरिबको कोटीमा बसिरहेकाछौं।

कहिलेकाहीं रमाइलो र ऊर्जावान् मान्छेसँग भेटघाट हुन्छ र लाग्छ केही गर्न सकिँदैन भन्ने मान्छेको भीडमा यस्ता मान्छे पनि छन् र त मुलुकको आशाको दियो हातमै भएजस्तै लाग्छ। अन्धकार हटेझैं लाग्छ। डा. हरिप्रसाद पोखरेल यस्ता व्यक्ति भेटिए जसले पूरै भेटमा देशभित्र अनेकांै सम्भावना मात्र रहेको बताए। पाल्पा मदनपोखरीमा जन्मिएका हरि आफूलाई भिन्न स्वभावका ठान्छन्। सानैदेखि पोखरी जंगलमा जस्तो एकान्तमा बस्थे। को हो को हो चराले बोल्दा म हँु म हुँ भन्दै पछि लाग्थे। नौ कक्षा पढ्दापढ्दै अन्तिममा हरिद्वारमा गए। जीवनले झकझकाएपछि ५–६ वर्ष बसे। योग र प्रणायाम सिके। जमिनभन्दा लालपुर्जाको बोलवाला हुँदै जाने त्यो बेलामा हरिले पनि पढ्नैपर्ने ठानी दिल्लीबाट ब्याचलर गरे। विभिन्न योग सिस्टम अफ मेडिसिनमा अनरेवल भन्दै उनलाई डाक्टर उपाधि दिएपछि हरिको नाम अगाडि डाक्टर जोडियो।

सानैदेखि प्रकृति र जीवनप्रति गहिरो अभिरुचि राख्ने हरि त्रिविको पहिलो प्राकृतिक चिकित्साको प्राध्यापक हुन्। योग र प्राकृतिक चिकित्सामा बेलुका बीएमएस पढाउँछन्। योगका प्राध्यापक पनि भए। विशेष गरी स्वास्थका लागि लागेका डाक्टर हरिले २०५० सालमा प्राकृतिक स्वास्थ्य संस्था खोले, जहाँ प्राकृतिक चिकित्सा पद्धतिमा स्वास्थ्यको रक्षा गरिन्छ। रोगीको रोग र चेतनाको उपचार गर्नुपर्ने बताउँछन् हरि।

मुख्यरूपमा सरुवा र आकस्मिकमा सफल नभए पनि जीवनभर औषधि खाने मुटुको रोग, उच्च रक्तचाप, पेट बाथका रोगमा ब्याक पेन, घुँडा दुख्नेलगायतका रोगमा राम्रो उपचार हुने पोखरेल बताउँछन्।

रोग लाग्दा उपचार गर्नेभन्दा पनि रोग आउने बाटो नै नदिने गरी हिँड्नुपर्नेमा लागेका छन् हरि। यसका लागि रात्रि संस्कारमा रमाउँदै गएको समाजलाई परिवर्तन गर्न उनले मर्निङ क्लबको अवधारणा ल्याएका छन्। जसलाई हरिले बियरको बोतलमा मह र कागती खुवाउने भन्छन्।

आफूले ताप्ने घाम र मर्निङ क्लबको मुभमेन्ट हरेक गाउँ र शहरमा गर्ने अभियानमा छन् हरि। एक गाउँमा १ रोपनी जग्गा लिने र त्यो जग्गामा एक क्लब बनाउने। जहाँ हरेक बिहान उठेर मान्छे चरित्र र स्वास्थ्य निर्माणमा लाग्छ। योगका आसन र प्राणायाम गर्छ र कसरी नैतिक चरित्र बढाउने भन्दै सफल व्यक्तिका कुरा सुनिन्छ। प्रत्येक टोल टोलमा मर्निङ क्लब खोल्दा केही वर्षपछि नै एक राम्रो संस्कार शुरू हुने र अभियान नै सञ्चालन हुने बताउँछन्।

हामी २६ सय वर्षअगाडि जन्मेको एक व्यक्ति बुद्धका नाममा गर्व गरिरहेका छौं। मर्निङ क्लबका कारणले भोलि एक व्यक्ति मात्र राम्रो जन्म्यो भने देशकै लागि यो एक राम्रो योगदान हुने ठानी आजकल हरि यसकै बारेमा तल्लीन बनेका छन्। स्वस्थ र चरित्र राम्रो हुने मान्छेको भीड बढ्यो भने त्यो भीडबाट पक्कै एक क्रिम मान्छे जन्मनेमा हरि ढुक्क छन्। साँच्चै नैतिक समाजबाट एक मान्छे जन्मन सक्छ पनि।
योगलाई स्वास्थ्यमा ढाल्दै लगेका हरिले हिमालय खण्डबाट शुरू भएको योगको उत्पत्ति नेपालमै भएको र पछि मात्र विश्वको अन्य भागमा फैलिएकाले नेपालले यसको नाममा गर्व गर्दै छाती फुलाएर फैलाउनुपर्ने बताउँछन्।

प्राकृतिक चिकित्सामा माटोले सेकेर, जडीबुटी प्रयोग गरेर, योग प्राणयाम गरेर मान्छेका रोग निको पारिन्छ। सिरहा जाजरकोट नेपालगन्ज, लमजुङ र राजधानीमा गरेर पाँच ठाउँमा प्राकृतिक चिकित्सालय खोलिएका र खोलिँदै छन्।

भीमसेनगोलाको प्राकृतिक चिकित्सालयको कार्यालयमा भेटिएका हरिले पूरै बसाइभरि देशकै बारेमा चिन्तित बनेर कुरा गरे। अविवाहित हरि आफ्नो बारेमा भन्दा पनि देशकै बारेमा कुरा गर्थे। यति राम्रो प्रकृति भएको देश संसारमै नभएको बताउँदै भन्थे– हेर्न मात्र आएका मान्छेले दिएको पैसा हामी नेपालीले बोक्न सकिँदैन। साच्चै उनीसँग कुरा गर्दा लाग्थ्यो कति जोश भरिएको आवाज।

अनेक भिजन छ उनका। उनका कुरा सुन्दा लाग्थ्यो नेपाल बन्छ राम्रो हुन्छ। भन्दैथे ७ हजारमाथिको बस्ती तल झार्ने। माथि टे«किङ रुट बनाउने, होटल लज बनाउने। नदी बन्द गर्दा ताल हुने यो देशमा हामी गरिब भएर बाँचेका छौं। हेर्नकै लागि जडीबुटीको फूलबारी बनाउन सक्छांै। जसले हेल्थ र वेल्थ दुवै दिन्छ। आँखालाई शीतलता दिने ताल, झर्ना, खोंच, अनगिन्ती चराचुरुङ्गी, जंगल भएको यो मुलुक साँच्चै सुनको थाल भएको मुलुक हो। माल पाएर पनि चाल नपाएका हामी सुनको थाल बोकेर माग्न हिँडेका छौं। अरू विदेशी मुलुकसँग माग्नेभन्दा पनि दिन सक्ने हामी जबसम्म यी कुरा याद हुँदैन तबसम्म गरिब भएर नै बाँच्नेछांै। यही कुरा चिन्न र चिनाउन योग र नैतिक चरित्र बोकाउन डाक्टर हरि लागिपरेका छन्। उनी यही कुरा लिएर हिँडिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्