खसीको भन्दा बंगुर र राँगाको माग बढ्दो

दशैं माछामासुकै चाड 



न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडा–९ की सिम्रन थापालाई मासुबिना दशैं मनाइन्छ जस्तो लाग्दैन रे । उहाँ भन्नुहुन्छ–हाम्रो चलन नै पहिल्यैदेखि दशैंमा खसीबोका काट्ने हो । तर, सिम्रन भने खसीबोकाको मासु रुचाउनुहुन्न । ‘मलाई त खसीको मासु मन पर्दैन, कुखुरामात्र मनपर्छ,’ उहाँले भन्नुभयो ।

दशैंलाई माछामासुकै चाड भने पनि हुन्छ । पछिल्लो समय हेटौंडाबासीले खसीबोकाको मासु त्यति रुचाएको देखिएन । राँगा, भैंसी, बंगुर र कुखुरालगायतको मासुको माग बढ्दै गएपछि खसीबोका रुचाउने कम हुँदै गएको माछामासु व्यवसायी संघ मकवानपुरको अनुमान छ ।

हाल दशैंमा खसीबोकाको भन्दा बढी बंगुर र राँगाभंैसीको माग हुने गरेको संघले जनाएको छ । अन्य दिन विभिन्न प्रकारका पशुका मासु खाए पनि दशैंमा खसीबोका नै खोज्ने चलन थियो । तर, हाल बंगुर र राँगाभैंसीको माग बढ्दो रहेको संघ महासचिव नारायण राजथलाले बताउनुभयो ।

राजथलाका अनुसार पछिल्लो समय स्वास्थ्यका लागि सेतो मासु राम्रो भन्नेबारे सञ्चारमाध्यम र चिकित्सकको भनाइ आउन थालेपछि चौपायासँगै पक्षीजन्य मासु र माछाको व्यापार पनि बढ्न थालेको छ ।

खसीबोका बिक्रेता संघ मकवानपुरका अध्यक्ष राजकुमार महर्जनका अनुसार अघिल्लो वर्ष तुलनात्मकरुपमा धेरै भारतीय खसी आयात हुन्थे । तर, हेटौंडामा पछिल्लो समय राँगा र बुंगुरले बजार पाउँदैछ । दशैंमा हेटौंडामा खसीबोका भन्दा बंगुर तथा राँगाभैंसीको मासु बढी बिक्ने गरेको उहाँले अनुमान गर्नुभयो । हाल खसीबोका व्यापारीहरु घट्दो रहेको उहाँको भनाइ छ ।

माछामासु व्यवसायी संघ महासचिव राजथलाका अनुसार अन्य समय हेटौंडामा प्रतिदिन करिब ६० वटा राँगाको मासु बिक्री हुने गथ्र्यो । दशैंमा एक सय बढीको संख्यामा राँगाको मासुको माग हुने गरेको उहाँले बताउनुभयो ।

विगतमा केही समुदायले मात्र प्रयोग गर्ने भए पनि हाल अन्य समुदायले पनि यसको मासु उपभोग गर्न थालेपछि राँगाको माग बढेको उहाँको अनुमान छ । राँगाको मासुबाट विभिन्न परिकार बनाउन सकिने भएकोले यस्को माग बढेको हो ।

हेटौंडामा अन्य समय तीन वटा बंगुरका मासु बिक्री हुन्थ्यो । हाल दैनिक सात वटासम्मको मासु बिक्री हुने गरेको उहाँले जनाउनुभयो । पछिल्लो समय दशैंमा बँदेलको मासु खाने प्रचलन बढ्दै गएपछि यसको माग बढेको राजथलाको भनाइ छ ।

हाल बंगुरपालन व्यवसाय फस्टाएसँगै यसको मासु उपभोग गर्नेको संख्यामा पनि वृद्धि भएको छ । ‘बंगुर तथा राँगाको मासु स्वस्थ्यकर हुने हुँदा उपभोक्ताको रोजाइमा पर्र्न थालेका छन्,’ राजथलाको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्