नेपाली सेना विश्व खेलकुदमा सहभागी हुने



नेपाल समाचारपत्र काठमाडौं
नेपाली सेनाको अन्तर्राष्ट्रिय सैनिक खेलकुद परिषद्ले आगामी कार्तिक १ गतेदेखि १० गतेसम्म चीनको वुहानमा आयोजना हुने सातौं सीआईएसएम विश्व सैनिक खेलकुदमा सहभागिता जनाउने भएको छ।
सो प्रतियोगितामा नेपाली सेनाले पहिलो पटक सहभागिता जनाउन लागेको बुधबार पत्रकार सम्मेलनमा जानकारी गराएको हो। उक्त प्रतियोगितामा कुल २५ खेल सामेल भएकोमा नेपाली सेनाका ४० जना खेलाडीले १३ खेलमा सहभागिता जनाउनेछन्।
नेपाली सेनाले सहभागी हुने खेल आर्चरी, ब्याडमिन्टन, बक्सिङ, बिच भलिबल, फेन्सिङ, कुस्ती, तेक्वान्दो, ट्रयाथलन, जुडो, घोडचढी, सुटिङ, ट्रयाक एन्ड फिल्ड र मोडर्न पेन्टाथलन रहेका छन्। प्रतियोगितामा समग्रमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँग आबद्ध मध्ये १ सय ५ राष्ट्रका १० हजार ७ सय १९ जना खेलाडी तथा पदाधिकारी सहभागी हुनेछन्।

प्रतिक्रिया दिनुहोस्