मार्जिन कारोबार हुन थाल्यो, नेप्सेमा गिरावट



नेपाल समाचारपत्र, काठमाडौं
दुई दिन लगातार १० अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार पुनः ओरालो लागेको छ। लगानीकर्ताले लाभांश सुरक्षित गर्ने बेलामा परिसूचक ओरालो लाग्न पुगेको छ। बुधबार नेप्से ४ दशमलव ९८ अंकले घटेर ११४० दशमलव ७१ बिन्दूमा झरेको छ।

यस दिन कुल १६१ वटा कम्पनीको ७ लाख ८५ हजारभन्दा बढी कित्ता शेयर २० करोड रुपियाँभन्दा बढीमा कारोबार भएको छ। बुधबार कारोबारमा आएका समूहमध्ये अन्य र सामूहिक लगानी कोष समूहबाहेक सबै समूहमा गिरावट आएको छ। यस दिन बैंक अफ काठमान्डूको शेयर कारोबार उच्च भएको छ।

यस बैंकको संस्थापक र साधारण शेयर गरी दुवैतर्फको कारोबार उच्च भएको छ। बुधबार नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यस कम्पनीको शेयर मूल्य छ प्रतिशतभन्दा बढीले बढेको छ। त्यस्तै हिमालयन पावर पार्टनरका लगानीकर्ताले भने धेरै गुमाएका छन्। यस कम्पनीको शेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ।

यसैबीच धितोपत्रको दोस्रो बजारमार्फत लगानी गर्ने सर्वसाधारण लगानीकर्तालाई अन्तर्राष्ट्रिय अभ्यास अनुरुप मार्जिन कारोबार सुविधा शुरू भएको छ। नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सुविधा कार्यान्वयनमा ल्याउन पहल गरे स्वरुप एक धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधाको कार्यान्वयन गरेको हो।

बोर्डले नयाँ वित्तीय उपकरणको रुपमा ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०७४’ अनुरुप नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट तयार गरिएको कार्यविधिलाई स्वीकृति दिँदै मार्जिन कारोबारमा धितोपत्र दलाल र ग्राहकको समझदारीमा ऋणको ब्याजदर हुने व्यवस्था गर्नुको साथै मार्जिन कारोबार सुविधा सञ्चालनका लागि छुट्टै हितग्राही खाताको व्यवस्थासमेत गर्दै मार्जिन कारोबार सुविधा शीघ्र सञ्चालन गर्न निर्देशन दिएको थियो।

धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार शुरु गरेसँगै अब लगानीकर्ताले दोस्रो बजारमार्फत शेयर खरिद गर्न तोकिएको धितोपत्रको मार्जिन राखेर शेयर खरिद गर्न सक्ने छन्।

हालसम्म नेप्सेबाट २१ वटा धितोपत्र दलाल व्यवसायीलाई मार्जिन कारोबारको लागि कर्जा प्रदान गर्न स्वीकृति लिएका छन्। शेयर खरिद बिक्री गर्न एकद्वार प्रणालीमार्फत सवै सुविधा उपलब्ध गराउने बोर्डको नीति अनुरुप नयाँ वित्तीय उपकरणको रुपमा मार्जिन कारोबार धितोपत्र बजारमा प्रवेश गराई धितोपत्र दलाल व्यवसायीको कार्य क्षेत्र समेत विस्तार भएको छ।

लामो समयदेखि रोकिएको मार्जिन कारोबार सुविधा मंगलबारदेखि ब्रोकर नम्बर ५० (क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज) बाट मार्जिन कारोबार सेवा शुरु भएको हो। क्रिस्टलले गत असार १२ गते मार्जिन कारोबार सुविधा सञ्चालनका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बाट स्वीकृति पाएको थियो।

प्रतिक्रिया दिनुहोस्