सशस्त्र प्रहरीले शुरू गर्यो यात्रु सहायता कक्ष



नेपाल समाचारपत्र, डोटी।डोटीको दीपायल सिलगढी नगरपालिका–४ पिपल्लामा सशस्त्र प्रहरीको ३६ नम्बर गणले पहिलो पटक नागरिक सहायता कक्ष स्थापना गरेको छ।

सशस्त्र प्रहरीले पहिलो पटक खोलेको उक्त यात्रु सहायता कक्षको बुधबार एक कार्यक्रमका बीच डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले उद्घाटन गर्नुभएको छ।

नेपालीको महान चाड दशै, तिहार तथा छठ पर्वलाई लक्षित गरी उक्त यात्रु सहायता कक्ष स्थापना गरिएको सशस्त्र प्रहरीको ३६ नम्बर गणका गणपति तथा शसस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढा मगरले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘यात्रुको समस्या समाधानका लागि हामीले यात्रु सहायता कक्ष स्थापना गरेका छौं, कसैलाई पनि समस्या परे उक्त कक्षमा आएर उजुरी गरेमा समस्या समाधान गर्नेछांै।’

यात्रु सहायता कक्षको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी पौडेललले यात्रु सहायता कक्षले यात्रुको सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘यात्रु सहायत कक्षले समस्यामा परेका यात्रुको उद्धारमा उल्लेख्य भूमिका खेल्नेछ, यसलाई हामी सधैं निरन्तरता दिनेछौं।’

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा एसपी दिलिपसिंह देउवाले यात्रु सहायता कक्षमा इलाका प्रहरी कार्यालय दीपायलबाट चौबीसै घण्टा जनपथ प्रहरी खटिने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘यात्रु सहायता कक्षमा हाम्रो तर्फबाट चौबीसै घण्टा प्रहरी टोली खटिने छ, कुनै समस्या परे प्रहरी समक्ष आउनुहोला।’

देउवाले चाडपर्वमा बढी भीडभाड हुने भएकाले बजारमा विभिन्न समस्या आउन सक्ने भएकोले नागरिक तथा यात्रु सहायता कक्ष स्थापना गरिएको बताउनुभयो।

त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय दीपायलका प्रमुख मोहनसिंह धामीले नागरिक तथा यात्रु सहायता कक्षमा खटिएका प्रहरीले यात्रुलाई सहायता गर्ने, यात्रुका समस्या बुझ्ने, सामान्य समस्या तत्काल सामाधान गर्ने र ठुलो समस्या भए प्रक्रिया अगाडि बढाउन सहयोग गर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘यात्रु सहायता कक्षमा खटिएका ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनमा भूमिका खेल्नेछन्, समस्यामा परेकालाई सहयोग गर्नेछन्।’ट्राफिक प्रहरी प्रमुख धामीले चाडपर्वमा बसका यात्रु ठगिने सम्भावना भएकोले त्यस्ता घटना नियन्त्रणमा सहायता कक्षले सहयोग गर्ने बताउनुभयो।

बसपार्क बाहिर सडकको छेउमा यात्रु चढाउने र यात्रुलाई तानातान गरिने भएकाले यसको नियन्त्रणमा पनि ट्राफिक प्रहरी परिचालन गरिने उहाँको दाबी छ।

प्रतिक्रिया दिनुहोस्