मालपोत कार्यालयमा भू–सेवा केन्द्र शुरू नागरिकले घरबाटै जग्गा कारोवारसम्बन्धी सेवा पाउने



मोतीराम तिमल्सिना, काभ्रे। नागरिकलाई घरबाटै सेवा प्रदान गर्ने उद्देश्यले शुरू भएको भू–सेवा मालपोत कार्यालय काभ्रेमा कार्यान्वयन गरिएको छ।

भदौ ३० गतेबाट शुरू गरिएको सेवा पूर्णरूपमा कार्यान्वयनमा आउने गरी दक्ष जनशक्ति तयार गर्दै व्यवस्थापन गरिएको प्रमुख मालपोत अधिकृत शालिकराम आचार्यले बताउनुभयो।

अनलाइनबाटै सेवा प्रदान र प्राप्त गर्न कागज मुक्त सरकारको अवधारणालाई मूर्तरूप दिई छिटो छरितो र प्रभावकारी सेवा प्रवाह गर्न भू–सेवा केन्द्र सेवा शुरू गरिएको आचार्यले बताउनुभयो।

जिल्लाबाट उक्त सेवा प्रवाहका लागि ५२ जनाले अनुमति लिएका छन्। उक्त सेवाबाट लिखत पारितका कार्यहरू हुनेछन्। सो माध्यमबाट राजीनामा, बकस, छोडपत्र, सगोलनामा, नामसारी, रोक्का र फुकुवा, हाल साविक, प्रतिलिपि, विद्युतीय अभिलेख संशोधन, दाखिल खारेज लगायतका कार्यहरू हुनेछन्।

घरबाटै जग्गा सम्बन्धी कार्य गर्न निवेदन दिन सकिने र अनलाइनबाटै काराबार गर्न सकिने भएकोले नागरिकलाई उक्त सेवाले सहज बनाउने प्रमुख शालिकराम आचार्यले बताउनुभयो।

यसका लागि सेवा केन्द्रको अनुमति लिएकालाई तालिम प्रदान गरिएको छ। तालिम लिएका व्यक्तिले पनि नागरिकलाई सेवा दिन सक्नेछन्। एक पटक लिएको युजरले आफ्नो जग्गाको ५ पटकसम्म कारोबार गर्न सक्नेछ।

मालपोत कार्यालय काभ्रेले २०७३ पौष ६ गतेदेखि साविकका ९ वटा गाविसलाई अनलाइन सेवामार्फत सेवा दिन शुरू गरेको थियो। साविकका ९ वटा गाविसबाट शुरू भएको उक्त अनलाइन सेवा अहिले पूणरूपमा लागू भएको छ।

कार्यालमा आईपी क्यामेरा जडान गरी सबै कर्मचारीको कार्यकक्षको तथा कामको अवलोकन कार्यालय प्रमुख, तालुक विभाग तथा मन्त्रालयबाट प्रत्यक्षरूपमा जतिखेर पनि हेर्न सकिने व्यवस्था मिलाइएको छ। यसका कारण कार्यालय समयमा कार्यालयभित्र सेवाग्रहीसँग अतिरिक्त शुल्क लिने सक्ने अवस्था हटेको छ।

पूर्णप्रविधिमैत्री कार्यालय निर्माणका लागि आफ्नै वेभसाइटको व्यवस्था गरी भए गरेका कार्यको जानकारी दिने गरेको प्रमुख आचार्यले बताउनुभयो।कार्यक्रममा लेखापढी व्यवसायी संघका अध्यक्ष रोशन श्रेष्ठलगायतले उक्त सेवाका बारेमा धारणा राखेका थिए।

कार्यक्रममा मालपोत अधिकृत रमेश पौड्याल, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष मोतिराम तिमल्सिना, लेखापाल चर्तुभूज तिमल्सिना, कम्प्युटर शाखाका रामभक्त हुमागाईले मन्तव्य राख्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्