भटाभट कार्यालय उद्घाटनले सदरमुकाममा चहलपहल



बासुदेव शर्मा, जाजरकोट।स्थानीय तह गठन भएपछि सुनसान बनेको जाजरकोट सदमुकाममा नयाँ कार्यालय उद्घाटन हुँदा मानिसको चहलपहल बढेको छ। दिन प्रतिदिन जाजरकोट सदरमुकाम खलंगा बजारमा नयाँ कार्यालय उद्घाटन भएका छन्।

संघीय सरकारको मातहतमा कार्यक्रम सञ्चालन गर्दै आएको साविकको घरेलुु तथा साना उद्योग विकास समिति शाखा कार्यालय जाजरकोटमा थप जिम्मेवारीका साथ उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको उद्घाटन भएको छ।

नयाँ जिम्मेवारीसहित स्थापना भएको कार्यालयको उद्घाटन राष्ट्रि«य सभाका सदस्य भैरवसुन्दर श्रेष्ठले गर्नुभएको हो ।कर्णाली प्रदेश सरकारको मातहतमा रहने गरी उद्घाटन भएको कार्यालयले आगामी वर्षदेखि उद्योग दर्तालगायत पर्यटन, वन तथा वातावरण, उद्योग वाणिज्य तथा उपभोक्ताको हित संरक्षणमा काम गर्ने जिम्मेवारीका साथ उद्घाटन भएको हो।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले कार्यालयले उद्योग दर्तालगायत उपभोक्ता हित संरक्षणका विषयमा थप जिम्मेवारी पाएकोमा खुसी व्यक्त गर्दै बजारमा भइरहेको कालो बजारी, अव्यवस्थित मासु पसल, दर्ता नगरेर सञ्चालन गरेका उद्योग व्यापारलाई रोक्न कार्यालयले पहल गर्न आग्रह गर्दै आवश्यक सहयोग जिल्ला प्रशासन कार्यालयलगायत स्थानीय सरकार र सरोकारवाला निकायले सहयोग गर्ने बताउनुभयो।

कार्यालयको वोर्ड अनावरण गर्दै राष्ट्रिय सभाका सदस्य भैरवसुन्दर श्रेष्ठले कार्यालयको बोर्डमा लामो नाम भएकोले जिम्मेवारी थप भएको बताउँदै जनतालाई दिने सेवा सरल सहज तरीकाबाट प्रदान गर्न कार्यालयका प्रमुखलगायत कर्मचारीलाई सल्लाह सुझाब दिनुभएको थियो।

उहाँले सरोकारवाला निकायबाट कार्यालयमा कर्मचारी कम भएको गुनासो आएकोले कर्मचारीको पदपूर्तिका विषयमा केन्द्र सरकार र प्रदेश सरकारसँग आवश्यक पहल गर्ने बताउनुभयो।

आर्थिक वर्षको तीन महिनाभित्र १० लाख रुपियाँ बराबरको राजस्व संकलन गरेको कार्यालयले कर्मचारी नहुँदा काम गर्न कठिन भएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटका प्रमुख ऋषभदेव खनालले बताउनुभयो।

सात जनाको दरबन्दी रहेको कार्यालयमा करारमा रहेको कार्यालय सहयोगी दुई जना र आफूले मात्र कार्यालय सञ्चालन गरेको बताउँदै कर्मचारीको पदपूर्तिको लागि पहल गर्न राष्ट्रिय सभाका माननीय भैरवसुन्दर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलाई आग्रह गर्नुभयो।

स्थानीय प्रशासन, स्थानीय सरकार, राजनैतिक दलका प्रतिनिधिलगायत सरोकारवाला निकायसँग सहकार्य गरी जिम्मेवारी वहन गर्ने कार्यालय प्रमुख खनालले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्