त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ विमानको ‘रेकी’



टीका बन्धन, काठमाडौं। नियाँ राष्ट्रपति सी जिन पिङले यही महिनाको अन्तिम साता गर्ने नेपाल भ्रमणको तयारीका लागि चीनबाट आएको विशेष विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रेकी’ गरेको छ।

बोइङ विमानको उडान र अवतरणमा आउन सक्ने सम्भावित प्राविधिक कमी–कमजोरीबारे चिनियाँ टोलीले पूर्वपरीक्षण गरेको हो।

बुधबार दिउँसो बेइजिङबाट आएको एयर चाइनाको बोइङ ७४७–८०० सय विमानमा आएका अधिकारीले सुरक्षा र प्राविधिक पक्षको अनुगमन गरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ।

पूर्वअभ्यासकै लागि बुधबारको एयर ट्राफिक कन्ट्रोल रुम, नेपाल प्रहरी र विमानस्थलका कर्मचारीलाई अन्य दिनमा भन्दा बढी ‘हाई अलर्ट’ मा राख्दै विशिष्ट पाहुना आएकै झल्को दिने गरी खटाइएको थियो।

बेइजिङबाट आएको विमान १ बजेर ३५ मिनेटमा अवतरण गरेर दिउँसो साढे ३ बजे फर्किएको थियो। सो विमान अवतरण हुने समय आसपासमा अन्य विमान उडान र अवतरणमा समेत रोक लगाइएको थियो।

‘भीभीआईपीको भ्रमणमा हुने विशेष विमान उडान, अवतरण र विमानस्थलसँग जोडिएका पक्षबारे करिब दुई घन्टा रिहर्सल भयो’, विमानस्थल कार्यालयका एक अधिकारीले भने– ‘यो सबै तयारी चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारीका लागि भएको हो।’

उनले प्रस्ट्याउँदै भने– ‘बुधबार चीनबाट आएको क्षमताको जहाजले हाम्रो विमानस्थलमा व्यावसायिक उडान शुरू गरिसकेको छैन।’ एयर चाइनाको विमान अवतरण हुने समय नजिकिएसँगै भुटानको थिम्पुबाट आएको भुटान एयरलाइन्सको विमानलाई एयर ट्राफिक कन्ट्रोल रुमले आकाशमै होल्ड हुन निर्देशन दिएको थियो।

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका लागि ‘कारगेट’ लगायत अन्य सुरक्षा साधन चीनले विमानबाटै ल्याउने तयारी गरेको छ।

राष्ट्रपति सीको भ्रमणलाई लक्षित गर्दै त्रिभुवन विमानस्थल आसपासका क्षेत्रमा निर्माण भइरहेका घर–टहरा निर्माण कार्यमा खटिएका कामदारमाथि समेत निगरानी बढाइएको सुरक्षा निकायले जनाएको छ।

‘कामदार कामदार नै हुन् या कामदारको भेषमा अन्य व्यक्ति परिचालन भइरहेका छन् भनेर निगरानी र अनुगमन भइरहेको छ।’ –सुरक्षा निकायको उच्च स्रोतले बुधबार साँझ नेपाल समाचारपत्रसँग भन्यो।

विमानस्थल आसपासका होटल, रेस्टुरेन्ट र सामान्य चिया खाजा पसलमा समूहमा भेला हुनेहरूमाथि पनि निगरानी बढाइएको ती अधिकारीले बताए। सिनामंगल र आसपासका क्षेत्रमा अस्थायीरूपमा सञ्चालन हुँदै आएका खुद्रा पसल र टहरासमेत हटाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्