पूर्वसभामुखलाई महरा पुत्रको ठाडो जवाफः कति छिटो आँ गरेर बसेको ?



न्युज अफ नेपाल, काठमाडौं ।

महिला बलात्कार काण्डमा मुछिएका सभामुख कृष्णबहादुर महरा महरा पुत्र निर्मल महरा ‘एटम’ले कडा प्रतिक्रिया दिएका छन् । बलात्कारका विषयमा आक्रामक अभिव्यक्ति दिएर चर्चामा आएका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ्गप्रति महरा पुत्र एटमले नेम्वाङ्गलाई ‘कति छिटो आँ गरेर बसेको ?’ भनि प्रश्न गरेका छन् ।

पत्रकारसँगको कुराकानीमा नेम्वाङ्गले सभामुख महरालाई अब नेकपाले चिन्दैन भन्ने अभिव्यक्ति दिएका थिए । नेम्बाङ्गले भनेका छन्, ‘उहाँलाई अब नेकपा संसदीय दलले सांसदका रुपमा चिन्दैन । उहाँ संसदीय गतिविधि तथा दलको बैठकमा सहभागी हुन पाउनु हुने छैन् ।’

बलात्कारको आरोप लागेको तर पुष्टि नभईसकेको अवस्थामा महराप्रति नेकपा नेतासमेत रहेका नेम्वाङ्गले नचिन्ने प्रतिक्रिया दिएपछि महरा पुत्र आक्रोशित बनेका हुन् । सभामुख पदप्रति लालायितसमेत देखिएका नेम्वाङ्गको प्रतिक्रिया प्रति महरा पुत्रले पदको निमित्त कति आतुर भनि प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा नेम्बाङ्गको अभिव्यक्ति प्रति कडा प्रतिक्रिया दिँदै एटमले लेखेका छन्, ‘कति छिटो “आ” गरेर बसेको ? कमरेडहरु नै आफ्ना कमरेडको अस्तित्व छिटो समाप्त होस् भन्ने कामना गर्न लागेपछि षडयन्त्र केलाई बुझ्ने ?’

महरा पुत्र एटमले आफ्ना बाबुले नैतिकताको आधारमा राजीनामा दिएको भन्दै तुरुन्तै आँ नगर्न पनि सुझाव दिएका छन् । उनले आरोप प्रमाणीत हुने समयसम्म धैर्य रहन पनि नेम्बाङ्गलाई सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्