सिनियर टेनिसमा थापालाई उपाधि 



नेपाल समाचारपत्र, काठमाडौं। नेपालका कमल थापाले नेपाल आईटीएफ सिनियर्स वल्र्ड र्याङकिङ टेनिस च्याम्पियनसिपको सर्किट– २ अन्तर्गत ५५ वर्षमाथि पुरुष सिंगल्समा मंगलबार उपाधि जितेका छन्।
नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा कमलले नेपालकै प्रदीपबहादुर शाहलाई ६–१ र ६–३ को सोझो सेटमा पराजित गरेका हुन्।

पुरुष सिंगल्स ६० वर्षमाथि अमेरिकाका एजेएस छत्वालले अस्ट्रेलियाका रोबर्ट म्याक गुइगानलाई ६–४, ७–६ (७–५) ले पहिलो भए। ५० वर्षमाथि पुरुष सिंगल्समा भारतका तुलेश्वरसिंह थोङबाम पहिलो भए।

उनले फाइनलमा भारतकै शंकर कृष्णस्वामीलाई ६–२, ४–६, १–२ (रिटायर्ड) लाई हराएका थिए। यस्तै ४५ वर्षमाथि पुरुष सिंगल्समा डेनमार्कका निकोलाइ रास्त्रुपले बाजी मारे।

उनले फाइनलमा भारतका योगेश कोहलीलाई ६–० र ६–० ले सहजै पन्छाए। ४० वर्षमाथि पुरुष सिंगल्समा भारतका दीपक मार्वाहाले नेपालका महेश श्रेष्ठलाई ३–६, ६–२ र ६–४ को सेटमा पराजित गरे।

पुरुष सिंगल्स ३५ वर्षमाथि नेपालका आत्माराम कार्कीले नेपालकै भीष्मजंग गुरुङलाई ६–३ र ६–३ ले पराजित गर्दै पहिलो भए।
पुरुष डबल्स ४५ वर्षमाथि भारतका योगेश कोहली र शंकर कृष्णस्वामीको जोडीले नेपालका प्रताप मोक्तान र जितेन्द्र प्रधानको जोडीलाई ६–४ र ६–३ ले पाखा लगाउँदै शीर्ष स्थान हात पारे।

प्रतिक्रिया दिनुहोस्