विद्युत्को स्मार्ट मिटर राख्न सर्वेक्षण शुरू



नेपाल समाचारपत्र, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उपभोक्ताको घरमा स्मार्ट मिटर जडान गर्न सर्वेक्षण शुरु गरेको छ। प्राधिकरणले काठमाडौं उपत्यका स्मार्ट मिटरिङ आयोजनाअन्तर्गत पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रका करिब ९० हजार ग्राहकको स्मार्ट मिटर जडान गर्दै छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट मिटरिङलाई महत्वाकांक्षी योजनाका रुपमा अगाडि बढाएका हुन्।

स्मार्ट मिटर जडान भएपछि मिटर रिडिङका लागि ग्राहकको घरघरसम्म जानुपर्ने हालको व्यवस्थाको अन्त्य भई टेलिफोन सेवामा जस्तै स्वचालित विलिङ लागू हुनेछ।

जसले गर्दा मिटर रिडिङको लागत घट्नेछ। यसबाट वितरण सेवालाई आधुनिकरण गर्ने, वितरण चुहावटलाई घटाइ प्राधिकरणको वित्तीय स्वास्थ्यमा सुधार ल्याउने र समग्र वितरण प्रणाली सञ्चालन दक्षता बढाउनेछ।

ठेकेदार कम्पनीले ग्राहकको घरघरमा गएर डाटा संकलनको काम गरिरहेको आयोजना संयोजक जुजुरत्न शाक्यले बताउनुुभयो। उहाँले डाटा संकलन गर्न आउने सर्भेयरलाई आवश्यक जानकारी उपलब्ध गराइदिन आग्रहसमेत गर्नुभयो ।

सरकारको लगानी र एसियाली विकास बैंक एडीबीको सहुलितपूर्ण ऋणमा स्मार्ट मिटर प्रणालीलाई काठमाडौं उपत्यकामा नमुना परियोजनाको रुपमा अघि बढाइएको हो। स्मार्ट मिटर जडानलाई मलुकभर नै विस्तार गर्ने प्राधिकरणको योजना छ।

रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रअन्तर्गतका ग्राहकको स्मार्ट मिटर डिजाइन, आपूर्ति, जडान र सञ्चालनका लागि चिनियाँ कम्पनी पिङगाओ विज्डम ज्वाइन्ट भेन्चरले ठेक्का पाएको छ। यो काम आगामी वर्षको पुसभित्रमा सक्ने लक्ष्य राखिएको छ।

प्रतिक्रिया दिनुहोस्