निर्माणअघि नै सेल्फी किङको माग



अभिनेता विपिन कार्कीले मुख्य भूमिकामा अभिनय गरिरहेको फिल्म सेल्फी किङको सुटिङ पूरा नहुँदै विदेशबाट यसको माग भएको छ।

प्रसादजस्तो सफल फिल्म निर्माण गरेको समूहले बनाउँदै गरेको फिल्म खरिदका लागि विदेशमा प्रदर्शन गर्ने वितरकले माग गरेको निर्माण समूहले दाबी गरेका छ।

निर्माता सुभाष थापाका अनुसार अस्ट्रेलियाका लागि प्रसाद प्रदर्शन गरेको गोर्खे इन्टरटेनमेन्टले नै सेल्फी किङको प्रदर्शन अधिकार खरिद गरेको छ। गोर्खेले २५ लाख रुपियाँमा अस्ट्रेलियाको प्रदर्शन राइटस् खरिद गरेको हो।

यस्तै युरोप, अमेरिका, जापान, कोरिया, साउदी, दुबई, हङकङ, मलेसियालगायतका देशबाट पनि फिल्मको प्रदर्शन राइट्स् खरिदका लागि प्रस्ताव आइरहेको थापाले बताएका छन्।

दिनेश राउत र सुभाष थापाको संयुक्त निर्माणमा निर्माणाधीन ड्रामा कमेडी जनराको फिल्ममा एक चर्चित टेलिभिजन हास्य कलाकारले कला यात्राको दौरान पाएको सफलता र व्यक्तिगत जीवनबीचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा रहेको छ। फिल्म विशाल सापकोटाले निर्देशन गरिरहेका छन्।

फिल्मको शीर्ष भूमिकामा विपिन कार्कीको अभिनय रहनेछ। फिल्ममा विपिनका साथमा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बास्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहनेछ भने अभिनेत्री केकी अधिकारी विशेष भूमिकामा छिन्।

फिल्ममा निर्देशक विशालकै लेखन, सुवास भुसालको संगीत, बी पाण्डेको शब्द, अञ्जु पन्त र पुरुषोत्तम सुवेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, सुसन प्रजापतिको छायांकन र जीवन थापाको सम्पादन रहनेछ।

प्रतिक्रिया दिनुहोस्