अष्ट्रेलियाविरुद्ध खेल्न नेपाली फुटबल टिम भोलि अष्ट्रेलिया प्रस्थान गर्दै



न्युज अफ नेपाल, काठमाडौं ।

विश्वकप फुटबल छनोटको दोस्रो चरणमा अष्ट्रेलियाविरुद्ध खेल्ने नेपाली टिमलाई विदाई गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज एक कार्यक्रम गरी अष्ट्रेलियाविरुद्ध खेल्ने नेपाली फुटबल टिमलाई विदाई गरेको हो । नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाल र एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले विदाइ गरेका हुन् ।

नेपाली टिमका कप्तान किरण चेम्जोङले अष्ट्रेलियासँग खेल्न तयारी भएको बताएका छन् । हामी गोर्खाली हौं । हामी हार मान्दैनौं । अष्ट्रेलियाविरुद्ध खेल्न तयार रहेको कप्तान चेम्जोङले भने ।

खेलाडीलाई विदाइ गर्दै सदस्यसचिव सिलवालले अष्ट्रेलियाविरुद्ध नेपालले राम्रो नतिजा निकाले उत्कृष्ट पुरस्कार दिने बताए । सिलवालले अष्ट्रेलियाविरुद्ध राम्रो खेल खेल्न शुभकामना दिए । तपाईहरुले राम्रो नतिजा ल्याउनु भयो भने एन्फालाई र सरकारलाई पुरस्कार दिन पहल गर्ने सिलवालले बताए ।

नेपालले यही असोज २३ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै छ भने असोज २८ गते जोर्डनसँग उसैको भूमिमा खेल्दैछ । नेपाली टिम भोलि अष्ट्रेलिया प्रस्थान गर्दैछ ।

समूह ‘बी’ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा कुवेतसँग ७–० गोलको हार ब्यहोरेको थियो । तर दोस्रो खेलमा भने चाइनिज ताइपेलाई २–० गोलअन्तरले पराजित गरेको थियो ।

नेपाली फुटबल टाेलीबाट किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठले गोलकिपरकाे भुमिकामा रहने छन् । त्यस्तै डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ रञ्जित धिमाल, सुमन अर्याल रहनेछन् भने सुनिल बल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई, रोहित चन्दले मिडफिल्डरमा र फरवार्डमा विमल घर्तिमगर, अविशेक रिजाल र नवयुग श्रेष्ठ रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्