मासियो मौलिकता



नेपाल खुला दिसामुक्त घोषणा भा’छ। यो मामिलामा नेपाल दक्षिण एसियाकै पहिलो मुलुक रे। खेत, बारी, झाडी, बुट्यान, खुला पाखा, चौर, गल्ली र टोल बस्तीमा घोप्टेमुन्टो लगाउँदै सट्याकसुटुक बिस्ट्याउने मनुवा देखिन्न, मनुवाले यस्ता भेगमा बिस्ट्याएको भेटिन्न भन्ने सरकारी दाबी छ।

पर्यटकीय र सार्वजनिकस्थलमा छेलोखेलो शौचालय निर्माण भएकाले नेपालले दक्षिण एसियाका अन्य मुलुकलाई खुला ठाउँमा नबिस्ट्याउने प्रतिस्पर्धामा उछिन्या होला। भनेसी, स्याउला र पातपतिङ्गरले हतार–हतार खै के पुछ्ने नेपालको मौलिक पहिचान सरकारले मासेरै छोडेछ।

मर्निङ र इभिनिङ वाकको बहानामा घरका कुकुरलाई टोल बस्ती बिजोग हुने गरी बिस्ट्याउन लगाउने सज्जनको बाहुल्य भएको मुलुक साँच्चै खुला दिसामुक्त भा हो र भन्या ?

काठमाडौं उपत्यका र अन्य मुख्य शहरी भेगमा सार्वजनिक शौचालय कति बने त्यो उपलब्धि कहिले सुन्न पाइने हो कुन्नि ?दिसा–पिसाबले च्यापेसी ठमेलमा शौचालयको झमेला हुन्न होला, पोखरामा खेतका गरा र गल्ली चाहार्नुपर्दैन होला। अनि धरानमा धानबारीतर्फ दौडिनु पर्दैन होला।

सरकारले हतारमा कीर्तिमान राख्न खोज्दा मध्य तराईका खोलाकिनारा, खेत र झाडी अनि राजमार्गका किनाराको घोप्टे पोजवाला फोटो सामाजिक सञ्जालमा भाइरल भइहाल्ने पो हो कि ? सरकारका खास शुभचिन्तक सामाजिक सञ्जालमा भाइरल नबनुन् धरहरा यही चाहन्छ।

प्रतिक्रिया दिनुहोस्