झापा स्पोट्र्स अवार्डमा उमेश र एस्तर उत्कृष्ट



नेपाल समाचारपत्र,बिर्तामोड। झापा स्पोट्र्स अवार्ड–२०७५ को वर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ उमेश राई र महिलातर्फ एस्तर राई भएका छन्। शारीरिक सुगठनका उमेश राईले वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जित्दै एक थान मोटरसाइकल जितेका छन्। उनले मनोनयनमा परेका फुटबलर नवयुग श्रेष्ठ र शारीरिक सुगठनका राम दाहाललाई पछि पारेका हुन्। राई साउथ एसियन च्याम्पियन हुन्।

स्पोट्र्स अवार्डको वर्ष उत्कृष्ट खेलाडी महिलातर्फको अवार्ड झापाकी कराँते खेलाडी एस्तर राईले जितिन्। एकेएफ केडेट च्याम्पियन राईले मनोनयनमा परेका फुटबलर एन्जिला तुम्बापो र भलिबलकी विनीता बुढाथोकीलाई पछि पारिन्। वर्ष उत्कृष्ट खेलाडीको अवार्ड विजेता राईले एक थान स्कुटर प्राप्त गरिन्।

यसै गरी वर्ष उत्कृष्ट खेलाडी युवाको अवार्ड क्रिकेटर अप्सरी बेगमले जितेकी छन्। मेचीनगरकी बेगमले मनोनयनमा परेका फुटबलर छिरिङ गुरुङ र ब्याटमिन्टनकी अमिता गिरीलाई पछाडि पारेकी थिइन्। युवा वर्ष खेलाडी भएकी बेगमले नगद २५ हजार रुपियाँ प्राप्त गरिन्।

वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड फुटबलका हरि खड्काले जिते। उनले बक्सिङका डम्बर लिम्बु र कराँतेका प्रशिक्षक योगेश राईलाई अछाडि पारे हुन्। खड्काले नगद २५ हजार रुपियाँ हात पारे भने पिपुल्स च्वाइसको अवार्ड फुटबलर कर्ण लिम्बुले जिते। उनले नगद २५ हजार रुपियाँ प्राप्त गरेका छन्।

लाइफटाइम अचिभमेन्ट अवार्डको पुरस्कार भलिबलका गणेशविक्रम नेम्वाङले प्राप्त गरे। उनले नगद ३५ हजार रुपियाँ प्राप्त गरे। ०६६ सालमा स्थापना भएको नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाले पूर्वफुटबलर स्वर्गीय आशिषविक्रम नेम्वाङको स्मृतिमा पछिल्लो तीन वर्षदेखि अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्