चार उद्योगबाट एक चौथाई राजस्व



नेपाल समाचारपत्र, हेटौंडाआन्तरिक राजस्व कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७५/०७६ मा विभिन्न स्रोतको राजस्ववापत ४ अर्ब २८ करोड ५२ लाख ७० हजार संकलन गरेको छ।

कार्यालयका अनुसार संकलित राजस्वमध्ये हेटौंडा औद्योगिक क्षेत्रस्थित गोरखा लाहारी उद्योग प्रालि (चुरोट), एसियन पेन्ट्स्, युनाइटेड बु्रअरी र शिवम् सिमेन्ट उद्योग प्रालिबाट करिब १ अर्बभन्दा बढी राजस्व संकलन गरिएको हो।
आव २०७५/०७६ अवधिमा अन्तः शुल्कतर्फ २ अर्ब ४१ करोड २६ लाख ५० हजार, आयकरतर्फ ८८ करोड ३२ लाख २९ हजार र मूल्य अभिवृद्धि करतर्फ ७१ करोड ८७ लाख ८० हजार राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ।
कार्यालयको तथ्यांकमा उल्लेख भएअनुसार ब्याज करतर्फ ३ करोड २८ लाख ६५ हजार, घरबहाल करतर्फ २ करोड ६२ लाख १३ हजार, स्वास्थ्य सेवा करतर्फ २ करोड ९५ लाख १९ हजार र शिक्षासेवा करतर्फ २१ लाख ३२ हजार राजस्व संकलन गरिएको छ।
कार्यालयको आव २०७३/०७४ को तुलनामा गत आव २०७५/०७६ मा राजस्व संकलनमा १ अर्ब ३५ करोड थप आम्दानी गरिएको आन्तरिक राजस्व कार्यालय मकवानपुरका प्रमुख सन्तबहादुर ढकालले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्