यात्रु र चालकलाई सुरक्षित यात्राको शुभकामना



मोतिराम तिमल्सिना,काभ्रे।जिल्ला प्रहरी कार्यालय काभ्रेले घटस्थापनादेखि जिल्लाका विभिन्न स्थानमा लामो दुरीमा सञ्चालन भएका सार्वजनिक यातायातका चालक, सहचालक र यात्रुलाई सुरक्षित यात्राको शुभकामना दिएको छ।

जिल्लाका दुई मुख्य मार्ग अरनिको र बीपी राजमार्गबाट दैनिक एक हजारभन्दा धेरै यात्रुबाहक सवारी ओहोर–दोहोर गर्दै आएका छन्। उक्त सवारी साधन सञ्चालन गर्दा चालकले सुरक्षितरूपमा सञ्चालन गर्दा यात्रुहरूको यात्रा सहज हुुने भएकाले उनीहरूलाई शुभकामनासहित सचेत गराएको जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले बताउनुभयो।

विजया दशमी, शुभ दिपावली तथा छठ पर्वसम्म सुरक्षाको लागि तयार पारिएको सुरक्षा योजना २०७६ अनुसार राजमार्ग र सहायक मार्गहरूमा सवारी दुर्घटना हुन नदिने, क्षमता भन्दा बढी भारी बोक्ने सवारीउपर कारबाही, भीभीआईपी र भीआईपीको आवागमन मार्ग, मुकाम स्थल सुरक्षा तथा अवैध चोरी पैठारी नियन्त्रणको लागि उक्त सुरक्षा योजना लागु गरिने बताइएको छ।

यसका साथै जिल्लाका प्रमुख शहर, आर्थिक कारोबार हुने बैंक तथा वित्तीय संघसंस्था, सरकारी कार्यालयको सुरक्षा, व्यापारिक केन्द्र, बसपार्क टिकट काउन्टर, धार्मिक मेला पर्व लाग्ने स्थान, सपिङ मल तथा सुपर मार्केट जस्ता महत्वपुर्ण स्थानमा हुनसक्ने चोरी, लुटपाट, डकैती, तस्करी, कालोबजारीलगायत अन्य अपराधिक घटना हुनसक्ने सम्भावनालाई मध्यनजर राखी सुरक्षा योजना लागू गरिएको छ।

यसै सन्दर्भमा कार्यक्रमको पहिलो दिन संघीय प्रहरी इकाइ कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भोजजंग शाहले समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ‘सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना’ कार्यक्रम धुलिखेल नगरपालिका–७ भकुन्डे चोकमा सुभारम्भ गर्नुभएको थियो।

कार्यक्रमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटालगायत सिनियर, जुनियर प्रहरी अधिकृत तथा जवान, ट्राफिक प्रहरीहरू, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख, मजदुर संघ संघठनका प्रमुख तथा पदाधिकारी साथै सवारी चालक, सहचालकहरूको सहभागिता रहेको थियो।

सो कार्यक्रमा लामो तथा छोटो दुरीका सवारी चालकलाई खादा, फूलको माला तथा अबिरको टीका लगाई सुरक्षित यात्राको साथै बडा दशंै–२०७६ को उपलक्ष्यमा शुभकामना दिइएको छ। यसका साथै यात्रुहरूलाई सुरक्षित यात्राको शुभकामना दिई जनचेतनामूलक सामग्री वितरण गरिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो।

दोस्रो दिन पनि प्रहरीले ५० वटा सवारीका चालक, सहचालकलगायत १ हजार ४ सय जनाको सहभागितामा लामो तथा छोटो दुरीका सवारी चालकलाई खादा, फूलको माला तथा अविरको टीका लगाई सुरक्षित यात्राको साथै बडा दशैं–२०७६ को उपलक्ष्यमा शुभकामना दिइएको छ।

प्रतिक्रिया दिनुहोस्