भाडा वृद्धिविरुद्ध गाउँपालिका पुगे व्यवसायी



नेपाल समाचारपत्र, प्यूठान।विद्यालयको चर्को भाडा वृद्धि विरुद्ध व्यवसायीहरू गाउँपालिका पुगेका छन्। प्यूठानको सरुमारानी गाउँपालिकाको केन्द्र बड्डाँडा बजारस्थित सार्वजनिक जग्गामा घरटहरा ठड्याएर वर्षौंदेखि व्यापार व्यवसाय गर्दै आएका व्यावसायीहरू विद्यालयले वृद्धि गरेको नयाँ भाडादर नमान्ने भन्दै सरुमारानी गाउँपालिका कार्यालय पुगेका हुन्।

आफूहरूसँग कुनै सल्लाह नै नगरी विद्यालयले भाडा बढाएको व्यवसायीको आरोप छ। बड्डाँडामा सार्वजनिक जग्गामा बसोबास गरिरहेका २७ घरधुरीका स्थानीय बासिन्दा न्याय माग्दै गाउँपालिकामा पुगेका हुन्।अघिल्लो वर्षको तुलनामा एकसयदेखि तीनसय प्रतिशतसम्म विद्यालयले भाडादर वृद्धि गरेपछि उचित भाडादर कायम गरिदिन आग्रह गर्दै गाउँपालिकासम्म पुगेको संघर्ष समितिका संयोजक वासुदेव गिरीले बताउनुभयो।

‘भाडा तिर्दैनौ भनेका छैनौं। उचित भाडादर कायम हुनुपर्यो। अहिले विद्यालयले तोकेको भाडादर कुनै हिसाबले पनि वैज्ञानिक छैन। यो भाडादर अत्याधिक चर्को भयो’, उहाँले भन्नुभयो।विद्यालय व्यवस्थापन समितिले यसअघि वर्षमा ५ प्रतिशतका दरले भाडा बढाउने निर्णय गरेको छ तर विद्यालयले आफैंले गरेको निर्णयलाई उल्लंघन गर्दै व्यवसायीमाथि अन्यायपूर्वक भाडा वृद्धि गरेको संयोजक गिरीको गुनासो छ।

उता गाउँपालिकाले भने उचित भाडादर कायम गर्न विद्यालयलाई निर्देशन दिएको छ। दशैंलगत्तै सर्वपक्षीय भेला बोलाएर समस्या सुल्झाउन निर्देशन दिएको गाउँपालिका स्रोतले बताएको छ।सार्वजनिक जग्गामा बसिरहेका व्यवसायी बेलबहादुर गाहले स्कुलले चर्को भाडा तोकेर चिठी पठाएको गुनासो गरे।

‘यसअघि मैले प्रतिमहिना ४ सय ५० रुपियाँ तिर्थें’, उहाँले भन्नुभयो– ‘अहिले १ हजार ५ सय रुपियाँ तोकेर विद्यालयले पत्र पठाएको छ। हाम्रो ढाड सेक्ने काम भयो।’त्यस्तै यसअघि ७ सय ६० रुपियाँ भाडा बुझाउँदै आउनुभएका बड्डाँडाका स्थानीय रामअबतार गुप्ता (कल्लु)ले विद्यालयले ४ हजार १ सय रुपियाँ भाडा तोकेर पत्र पठाएको गुनासो सुनाउनुभयो।

‘घरमा आम्दानीको स्रोत छैन। मजदुरी गरेर खाएका छौं,’ गुप्ताले भन्नुभयो– ‘अब यति धेरै भाडा कसरी तिर्न सकुँला ?’स्थानीय जनता मावि.ले विद्यालय सञ्चालनका लागि भन्दै वर्षौंदेखि सार्वजनिक जग्गा भाडामा लगाउँदै आएको छ। विद्यालयको भाडावृद्धिले लाखौं लगानी जोखिममा परेको व्यवसायीले बताएका छन्।

व्यवसायी असुरक्षित भएकाले तत्काल सरोकारवालाले समस्या समाधान गर्नुपर्ने मत व्यवसायीको छ। विद्यालयले वार्षिक ३ लाख भाडा असुल्दै आएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्