झुलाघाटमा पुलको लागि आन्दोलन अनसन बसेको २३ दिनमा पनि माग पूरा भएन



नेपाल समाचारपत्र,बैतडी।भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि रिले अनसन शुरू गरेको २३ दिन भइसकेको छ।

अहिलेसम्म पुल निर्माणका विषयमा सरकारीपक्षबाट कुनै पहल नभएकाले आफूहरूको अनसन जारी रहेको झुलाघाट पक्की पुल निर्माण संघर्ष समितिका संयोजक नरबहादुर चन्दले बताउनुभएको छ।

‘झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि सरकारले ठोस पहल नचाल्दासम्म आफूहरूको अनसन जारी रहन्छ’ –चन्दले भन्नुभयो, ‘सरकारले आफूहरूको माग नसुन्दासम्म शान्तिपूर्ण तरिकाबाट पुल निर्माणका लागि दवाव जारी राख्छौं।’

अनसनमा बैतडीवासीले स्वतस्फूतरूपमा सहभागिता हुँदै, सहयोग गर्दै आएका छन्। अनसनमा उद्योग वाणिज्य संघसँगै निर्माण व्यवसायी संघ, यातायात व्यवसायी संघ, पत्रकार महासंघ तथा होटेल व्यवसायी संघले समेत ऐक्यबद्धता जनाएको छ।

अहिलेसम्म चारसय जनाले रिले अनसनमा सहभागिता जनाइसकेको संघर्ष समितिले जनाएको छ। सरकारी पक्षको उदासीनताका कारण अनसन अझंै लम्बिने संकेत देखिएको छ।

रिले अनसनमा भजन–कीर्तन र देउडा गीत गाउँदै सरकारलाई दवाव दिने गरिएको संघर्ष समितिका सदस्य दिपेश शाहले जानकारी दिनुभयो। झुलाघाट नाका सुदूरपश्चिमको आर्थिक विकाससँग जोडिएको नाका भएकाले यो नाकामा पुल आवश्यक रहेको पर्यवेक्षकको ठहर छ।

पुल निर्माणका लागि आफूहरूले दशकौंदेखि दवाव दिँदै आएको भए पनि सरकारले नसुनेको बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खिमानन्द भट्टले जानकारी दिनुभयो। झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि सरकारले ठोस पहल नचाल्दासम्म आफूहरूको अनसन जारी रहने उहाँले बताउनुभयो।

नागरिकले गरेको शान्तिपूर्ण दवावलाई कमजोर नठान्न पनि उहाँले सरकारलाई आग्रह गर्नुभएको छ।झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि सबै दलका शीर्ष नेताले आश्वासन दिएको भए पनि कसैले पूरा नगरेकाले आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको अनसनमा सहभागीले बताएका छन्।

आफूहरूका माग पूरा गर्नेतर्फ सरकार सचेत नभए माइतीघर मण्डलामा अनसन थाल्नेसमेत आयोजकले चेतावनी दिएको छ।

दुई दशकदेखि पुल निर्माणका लागि विभिन्न माध्यमबाट दवाव दिए पनि कुनै सुनुवाई नभएपछि झुलाघाट पक्की पुल निर्माण संघर्ष समितिको अगुवाइमा रिले अनसन बस्न बाध्य हुनुपरेको पुल निर्माण संघर्ष समितिले जनाएको छ।

यसका साथै यहाँका राजनीतिक दलहरूले झुलाघाटमा पक्की पुल बनाउने भनेर चुनावी एजेन्डा नै बनाएका थिए।
यसअघि आसोज ४ गते मात्रै बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलार्ई भेटेर पुल निर्माणका विषयमा कुराकानी गर्नुभएको थियो।

कुराकानीमा सीमा क्षेत्रमा पुल निर्माण गर्नुपर्ने भएकोले भारतसँग पनि छलफल गरेर अगाडि बढ्ने बताइएको थियो।
विसं २०५९ सालमा १० हजार बैतडीवासीको हस्ताक्षर संकलन गरेर तत्कालीन सरकार र भारतीय राजदूतावासलाई ज्ञापनपत्र बुझाएको भए पनि अहिलेसम्म कुनै सुनुवाईं नभएको बताइएको छ।

यसका साथै मोटरेवल पुल निर्माणको लागि विसं २०७५ फागुनमा प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाइएको थियो।
करिब डेढसय वर्ष अगाडि मात्रै इस्ट इन्डिया कम्पनीले नेपाल–भारत सीमा नाका झुलाघाटस्थित महाकाली नदीमा बनाएको झोलुंगे पुल जीर्ण बन्दै गएपछि बैतडीलगायत सुदूरपश्चिमवासी समस्यामा परेका छन्।

झुलाघाट सुदूरपश्चिमका पहाडी जिल्ला भित्रिने पुरानो प्रवेशद्धार हो।झुलाघाट नाकामा पक्की पुल निर्माणको एकसुत्रीय माग राखेर जिल्ला प्रसासनअगाडि गएको भदौ २२ गतेदेखि अनसन शुरू भएको हो।

प्रतिक्रिया दिनुहोस्