विचार प्रशिक्षणको औचित्य र त्यसको प्रयोग



बालकृष्ण मैनाली

हिन्दूहरूको महान् चाड दशैंको पूर्वसन्ध्यामा नेपालमा रहेका विभिन्न दलमध्ये कुनै एक दलको निमित्त त्यसमाथि पनि शीर्ष नेतृत्व तहमा रहेका व्यक्तिहरूको निमित्त छिमेकी राष्ट्र चीनबाट कुनै विशिष्ट विचार प्रवाह गर्ने उद्देश्यको लागि अनुभव आदानप्रदानको माध्यमबाट कुनै एक दलका नेताहरूलाई प्रशिक्षण दिने कार्य सम्पन्न भयो।

वर्तमान अवस्थामा चीनले हासिल गर्दै गइरहेको विकासको सफलतामा वर्तमान चिनियाँ राष्ट्रपति र उनका सहयोगीहरूकोे योगदान अतुलनीय रहेको कुरामा कतै विमति छँदै छैन। यस मानेमा सी विचारधाराको प्रशिक्षण राजनीतिक आवरणदेखि बाहेक विकास सुशासनसम्बन्धी अनुभवको ग्राह्यतालाई प्राथमिकतामा राखी सञ्चालन गरिएको हो भने खासै चिन्ता मानिहल्नुपर्ने अवस्था विद्यमान छैन।

यो विषयमा प्रशिक्षण अवधिभर के–के विषयमा प्रशिक्षण भयो भन्ने कुरा न प्रशिक्षकले, न त सहभागी कसैले पनि सार्वजनिक गरेका छैनन्। सामान्यतया प्रशिक्षणपश्चात् छवटा बुँदाहरूमा सहमति जनाई आगामी दिनमा त्यही छवटा बुँदाहरूमा उल्लेख भएका कुराहरूको माध्यमबाट आ–आफ्ना गतिविधि सञ्चालन गर्दै जाने कुरामा सहमति भई दुवै पक्षबाट हस्ताक्षरचाहिँ भएको छ।

नेपालको तर्पmबाट पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री के.पी. ओली र अर्का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई साक्षी राखेर सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ। प्रशिक्षणदेखि लिएर सहमतिका बुँदाहरूमा हस्ताक्षर भएसम्मको समाचारहरू सार्वजनिक भएपश्चात् विभिन्न कोणहरूबाट यसबारेमा टिकाटिप्प्णीहरू शुरु भएका छन्।

प्रायः विरोध गर्नै पर्ने राजनीतिक धर्मअनुसार प्रतिपक्षमा रहेका राजनीतिक व्यवसायीहरूले विरोध गरेर आफ्नो भूमिका निभाएका छन् र सो क्रम जारी नै छ। यो विषय यत्तिमा मात्र सीमित रहेन।

यो विषयलाई लिएर अमेरिकी राजदूतको विपक्षी दलका नेता तथा स्वयं हस्ताक्षरकर्ता माधवकुमार नेपाललाई भेटेर चासो राख्ने काम भयो भने चिनियाँ राजदूतले एउटा कार्यक्रममा चीनले आफ्नो विचारलाई निर्यात गर्दैन भनेर स्पष्टीकरणसमेत दिनुपर्यो।

यो सँगसँगै भारतीय प्रधानमन्त्रीले पनि विचार आदानप्रदानसम्बन्धमा आफ्नो पनि रुचि रहेको भन्दै सामाजिक सञ्जालमा ट्वीट गरेको कुरा सार्वजनिक भएको छ।

बदलिँदो युग तथा परिवेशले मानव सभ्यतामा के कुराको बोध गराइसकेको छ भने, मानवहितको लागि, मानवकल्याणको लागि अथवा कुनै पनि देशमा विधिका शासनको निरन्तरताको लागि चलाइने र चालिने कुनै पनि व्यक्ति वा समूहको आदर्शतालाई उनका अनुयायीहरूले अनुभवको आदानप्रदान गर्दै अझ भनौं प्रशिक्षणमार्पmत नै ज्ञान प्रदान गर्नुलाई अन्यथाको रुपमा ग्रहण गरिनुहुँदैन।

वर्तमान अवस्थामा चीनले हासिल गर्दै गइरहेको विकासको सफलतामा वर्तमान चिनियाँ राष्ट्रपति र उनका सहयोगीहरूकोे योगदान अतुलनीय रहेको कुरामा कतै विमति छँदै छैन।

यस मानेमा सी विचारधाराको प्रशिक्षण राजनीतिक आवरणदेखि बाहेक विकास सुशासनसम्बन्धी अनुभवको ग्राह्यतालाई प्राथमिकतामा राखी सञ्चालन गरिएको हो भने खासै चिन्ता मानिहल्नुपर्ने अवस्था विद्यमान छैन।

तर देशमा छिमेकी मित्र राष्ट्रलगायत अन्य मुलुकबाट समेत आ–आफ्ना रुचिका विषयहरूलाई सम्बोधन गराउन प्रयास हुने गरेको तथ्यलाई दृष्टिगत गर्दै आंशका जन्मिनुलाई पनि अन्यथा मानिहाल्नुपर्ने अवस्थाचाहिँ छैन।

अनुभव आदानप्रदानको माध्यमबाट राजनीतिक विचारधारासँग मात्र नजोडी देशको भौगोलिक र सामाजिक अवस्था अनि देशमा रहेका विविधतासमेतलाई दृष्टिगत गरी विकास र सुशासनलाई आफ्नो देशको हावापानीमा रुपान्तरण गरी इमानदारीपूर्वक विकासको गतिलाई तीव्रता दिन सक्यो भने अन्य झीना–मसिना कुरा र आरोपले खासै प्रभाव पार्दैन।

तर कुरा मात्रै थोपर्ने र विकासले गति लिन नसक्ने अवस्थालाई नै निरन्तरता दिन खोजियो भनेचाहिँ भविष्यमा यसको असर नकारात्मकरुपमा देखिन सक्ने कुरामा पनि सरोकारवालाहरू सचेत हुनै पर्दछ।

हाम्रो देशको विकासमा सहायक हुन जाने केही मूल्य र मान्यताहरू छन्, जसलाई सरकारमा र संसद्मा प्रतिनिधित्व गरिरहेकाहरूले आत्मसात् गरेर आफ्नो शासनशैलीमा परिवर्तन ल्याउनु अनिवार्य देखिएको छ। प्रत्येक पाँच–पाँच वर्षमा हुने गरिएका जनप्रतिनिधि छनौट गर्ने सवालमा जनता अर्थात् मतदाताहरू अब साँच्चिकै सचेत हुनु अनिवार्य भइसकेको छ।

खोक्रा अश्वासन, कप्टी र छली भाषणबाट सतर्क भई अबदेखि हुने प्रत्येक निर्वाचनमा मतदाताहरू दलीय दृष्टिकोणबाट मात्र प्रभावित नभई जनप्रतिनिधिको नाउँमा उम्मेदवारी दिएका व्यक्ति विशेषमा जनमत केन्द्रित हुनुपर्ने आवश्यकता देखिइसकेको छ।

अबको मत दललाई जुनसुकै दलको टिकट लिएर उठेको भए पनि व्यक्तिको सत् चरित्रको आधारमा दिने बानी बसाल्नुपर्दछ अन्यथा अक्षम जनप्रतिनिधिहरू निर्वाचित हुन जाने र देशको बेइज्जतीको निरन्तरता आगामी दिनमा पनि कायम भइरहनेमा द्विविधा देखिँदैन।

देशमा बेथिति र विसंगति नभएको क्षेत्र पहिल्याउन गाह्रो भएको छ। अनुशासनहीनताले सीमा नाघिसकेको छ। जनजन हरेक क्षेत्रमा आनन्द प्राप्तिको सट्टा अक्रान्तमा बाँच्न विवश भएका छन्।

भ्रष्टाचार अन्त्यको अश्वासन सही अर्थमा कार्यान्वयन हुन गाह्रो हुन पुगेको छ। विकासको मुद्दालाई माध्यम बनाउँदै विभिन्न देशका आ–आफ्ना रुचिहरूलाई प्रयोग गर्ने थलोको रुपमा देश चिनिन थालेको छ।

नेतृत्वको दूरदृष्टिको अभावले शहरी क्षेत्रहरूमा हुने सामान्य ट्राफिक नियन्त्रण काबुबाहिरको स्थितिको रुपमा देखा परिरहेको छ। एकततिर भएका सडकको दाँजोमा यातायातका साधनहरूको संख्या अत्यधिक भएको छ, तैपनि कार्यालय आउने जाने समयमा सार्वजनिक यातायातमा हुने भीडको चापले वृद्धवृद्धा, महिला तथा बालबालिकाको हविगत हेरी साध्य नै छैन।

देशमा परिवर्तनको संवाहक बनेर विविध सेवामा प्रवेश पाएका केही राष्ट्रसेवकहरू केही महिना वा केही वर्ष थुनामा बसेर करोडौं वा अर्बौं पचाउन पाइन्छ भन्ने मान्यताबाट ग्रसित हुन पुगेका छन्। विश्वका अन्य मुलुकहरूमा अपराध गरेर सजिलो गरी लुक्न पाउने अखडाको रुपमा परिचित हुन पुगेको छ हाम्रो देश।

आपराधिक मनोवृत्ति भएका व्यक्तिहरूले आफ्नो आपराधिक कार्यको लागि हाम्रो देशलाई सुगम देशको रुपमा लिन थालेका छन्। यी यावत् कुराहरूलाई समयमै सम्बोधन कसरी गर्ने भन्ने पिरलोले देश ग्रसित हुन पुगेको निकै समय भइसकेको छ।

विभिन्न कालखण्ड हुँदै आजको दिनसम्म आइपुग्दा जनजनलाई के स्पष्ट भैसकेको छ भने, देशमा सञ्चालन हुने कुनै पनि नामको शासन व्यवस्था वा शासन पद्धति आपैmंमा खराब हुँदै हुँदैन। यदि खराब हुन्छ भने शासन सञ्चालनको लागि जिम्मा पाएका सञ्चालकहरूको मनोवृत्ति।

शासन सञ्चालक सक्षम हुन पुगे भने देशलाई कानुनी शासनको माध्यमबाट आफू पनि सम्बोधित हुन्छन् र अरूलाई पनि सम्बोधित गराउँछन्। यस कुरामा विमति छँदै छैन।

क्षमता नभएका वा क्षमता भएर पनि कानुनी शासनको माध्यमबाट सत्ता सञ्चालन गर्न इच्छुक नभएका सञ्चालकको हातमा सत्ता पुग्यो भने शासन पद्धतिबारे संविधानमा वा अन्य कानुनहरूको लेखावटमा जतिसुकै अधिकारका वर्णनहरू भए तापनि त्यो वर्णनको कुनै उपादेयता रहनेछैन र त्यसले सार्थकता पनि पाउँदैन भन्ने कुरामा जनजन पूरा विश्वस्त छन्।

कानुनको शासनलाई सर्वोपरि राखी सत्ता सञ्चालित भएको देशमा कानुन कार्यान्वयनको अर्थले महत्वपूर्ण भूमिका राख्दछ। आफ्ना देशका नागरिकलगायत अन्य देशका नागरिकहरूको नालीबेली आफ्नो देशको सिस्टममा एकचोटि प्रवेश गराएपछि त्यो मुलुकभर उसले गर्ने प्रायः सबै गतिविधिहरूका लेखाजोखा राख्ने कार्य स्वतः परिचालन हुन्छन्।

एकचोटि आपराधिक कार्यमा संलग्न भएर कानुनीरुपमा अपराधी घोषित व्यक्तिले पुनः अपराधमा प्रवेश गर्ने सम्भावना ज्यादै न्यून रहन्छ। त्यति मात्र होइन, आफ्नो देशको नागरिकले अरू देशमा गएर जान–अनजानमा गरेको अपराधलाई ती देशका सरकारले आफूलाई लज्जाबोध महसुस गर्छन् र कुनै पनि हालतमा अपराधमा संलग्न व्यक्तिलाई आफ्नो देशमा फिर्ता ल्याएर आफ्नो देशको कानुनअनुसार सजायको भागिदार बनाउन मरिहत्ते गर्छन्।

हालै अमेरिकाले एउटा गम्भीर अपराधमा कसुरदार ठहरिएको व्यक्तिलाई नेपालबाट आफ्नो देशमा लैजान कुनै कसर बाँकी राखेन। लाखौं डलर खर्च गरेर भए पनि हवाईजहाज नै चार्टर गरेर कसुरदार ठहरिएकालाई आफ्नो देशमा लिएर गयो। सम्भवतः चीनका केही नागरिक जसले नेपालको एटीएम ह्याकिङ गरी आर्थिक अपराधको कसुरमा कारबाही भोगिरहेका छन्, तिनीहरूलाई पनि कुनै दिन चीन सरकारले आफ्नो देशमा लगेर आफ्नो देशको कानुनअनुसार सजायको भागिदार बनाउँछन् नै।

कानुनको शासन जति सुदृढ बन्दै जान्छ, देशको विकास पनि त्यही रफ्तारमा अगाडि बढ्दै जान्छ भन्ने कुरामा चीन उदाहरणीय भएको कुरामा विमति देखिँदैन।

चीनमा भएको विकासको पछाडि कानुनको सही कार्यान्वयन, त्यसको पालना र अनुशासनको महत्वपूर्ण भूमिका रहेको छ। विशेष गरी चीन आजको अवस्थासम्म आइपुग्ने विविध कारणहरूमध्ये व्यक्तिगत सम्पत्ति र चाकडी प्रथालाई गौण ठान्नु पनि हो। हालै भएको चिनियाँ विदेशमन्त्रीको भ्रमणमा उनको सरलताले पनि त्यो कुराको पुष्टि गर्दछ।

चिनियाँ राष्ट्रपतिले कम्युनिस्टलाई दह्रो परिभाषामा व्याख्या गरेका छन् अर्थात् व्यक्तिगत सम्पत्ति जोड्ने कम्युनिस्ट हुन सक्दैन भन्दै यदि जनताको निमित्त सेवामुखी राजनीति गर्ने हो भने व्यक्तिगत सम्पत्तिको मोह त्याग्नुपर्ने कुराले चीनको विकासमा महत्वपूर्ण योगदान दियो भन्दा अत्युक्ति हुनेछैन।

नेपालमा रहेका कम्युनिस्टटहरूको लागि यो भनाइले कति महत्व राख्ला व नराख्ला, त्यो आफ्नै स्थानमा छ। हालसम्मको अवस्थालाई हेर्ने र अध्ययन गर्ने हो, सम्भवतः धेरै प्रतिशत कम्युस्टिहरूलाई यो परिभाषाले खासै असर गरेको अनुभूति जनजनलाई भएको छैन।

नेपालको सन्दर्भमा सबै वर्गका राजनीतिक व्यवसायीहरूलाई जोगी हुनलाई राजनीतिमा प्रवेश गरेको होइन भन्ने पुरानो उखान टुक्कालाई अभैm पनि प्रचलनमै राख्ने कार्य जारी नै छ र हालसम्म नेपालका धेरै प्रतिशत राजनीतिक व्यवसायीहरूको हकमा जोगी हुनलाई राजनीति गरेको होइन भन्ने कथनले नै सार्थकता प्राप्त गरेको छ।

हालै भएको प्रशिक्षण नै होस् वा अनुभवको आदानप्रदान होस्, जे भए पनि सामान्य राजनीतिक रुचिका विषयदेखि बाहेक भ्रष्टाचार नियन्त्रण गर्ने सवालमा, कानुनी शासनप्रति लगावको सवालमा र व्यक्तिगत सम्पत्तिको मोहको सवालमा पनि छलफल र अनुभवको आदानप्रदान भएको हुनुपर्छ भन्ने जनजनको विश्वास छ।

तर ती आदानप्रदानका राम्रा गुणहरूलार्ई सहभागीहरूले आफ्नो बाँकी जीवनकालमा कत्तिको जिम्मेवारीपूर्वक भूमिका निभाएर देशलाई सार्थक सम्बोधन गर्छन् होला भन्ने कुरा निकट भविष्यले जवाफ दिनेछ।
(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ।)

 

प्रतिक्रिया दिनुहोस्