अलोकतान्त्रिक चरित्र



संविधानले प्रत्येक नेपालीलाई आफ्नो विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हक दिएको छ । आफूलाई लागेको विचार अभिव्यक्ति गर्न पाउने प्रावधानलाई संविधानको मौलिक हकअन्तर्गत राखिनुको अर्थ हो राज्य यस प्रावधानमा बढी संवेदनशील छ । यो हक लोकतन्त्रको आत्मा हो ।

तर, पछिल्लोपटक आफूलाई मनमा लागेको कुरा बोलेकै आधारमा त्यसप्रति असहमति राख्ने जमात आक्रमणमा उत्रिएका घटना दोहोरिन थालेका छन् ।

नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजाल र सामाजिक संस्थामा संलग्न ज्ञानेन्द्र शाहीमाथि भएको व्यवहार कुनै पनि सभ्य र लोकतान्त्रिक मुलुकका लागि सुहाउने विषय हुन सक्तैन ।

यी दुवै घटनामा रिजाल र शाहीमाथि क्रमशः हातपात गर्ने दुस्प्रयास गरिएको र भौतिकरूपमा गम्भीर क्षति पुर्याइएको छ । यी दुवै घटनामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताको हात रहेको बताइएको छ ।

शाहीलाई चितवनमा शारीरिकरूपमा गम्भीर क्षति पुग्ने गरी आक्रमण गरिएको छ । शाहीको कुनै व्यवहारमाथि चित्त नबुझे सरकार आफ्नै पार्टीको छ, कानुनी कारबाही चलाउन सकिन्थ्यो, उहाँ सवार माइक्रोबसमा समेत क्षति पुग्ने गरी आक्रमणकारीले तोडफोड गरेका छन् ।

कत्रो आक्रोश, कति अराजक हुने चाहना ! केही समयअघि सतारूढ दलका भातृ संगठनले शाहीलाई विभिन्न जिल्लामा आउन निषेध गरेको सन्दर्भमा तिनै संगठनमा आबद्ध युवा समूहले कुटपिट गर्नुले त्यसमा राज्यको प्रत्यक्ष–परोक्ष संरक्षण छैन भनेर पत्याउन गाह्रो पर्छ । यसै गरी नेपाली कांग्रेसका नेता पूर्वमन्त्री रिजालमाथि तनहुमा हातपातको दुस्प्रयास भएको छ ।

आफू र आफू संलग्न दलको विचारभन्दा फरक विचार राखेकै आधारमा यसरी कुटपिट गर्ने कार्यले लोकतन्त्रको मूल्य–मान्यतामाथि नै धब्बा लगाएको छ । नेपाली समाज बहुल छ । यसले गर्दा विचार पनि बहुल नै हुने गर्दछ ।

विविध जातजाति, भाषाभाषी, लै·िक पहिचान, वर्गीय भिन्नता र विकासका प्रवाहमा पछाडि परेका वा पारिएका अल्पसंख्यक, सीमान्तकृत वर्ग र समुदायहरू छन् । यसले गर्दा सबैका आ–आफ्नो हकहित र स्वार्थअनुरूप मानिस विभिन्न राजनीतिक दलमा आस्था राख्ने र संलग्न हुने गर्दछन् ।

राजनीतिक दलले आफ्नो प्रतिनिधिहरूका आधारभूत हकलाई संरक्षण गर्न विभिन्न एजेन्डा र नारा बनाउने गर्दछन् । समाजको विविधता राजनीतिक पार्टी र विचारधारामा पनि प्रतिबिम्बत हुने भएकाले विचारमा विविधता देखिनु स्वाभाविक हो ।

लोकतान्त्रिक राज्य व्यवस्थाले सबैलाई आफूलाई लागेको विचार व्यक्त गर्ने, राजनीतिक दलमा आबद्ध हुने हक निर्बाधरूपमा दिएको हुन्छ । तर, आफूभन्दा फरक विचार राखेकै आधारमा कुटपिट हुन्छ भने लोकतन्त्र र निरंकुश शासन व्यवस्थामा के अन्तर भयो त ?

लोकतन्त्र भनेको चिन्तनको स्वतन्त्रता पनि हो । कसैले विचार राख्ने बितिक्कै त्यसलाई जस्ताको तस्तै स्वीकार गर्नुपर्दछ भन्ने छैन । कसैले व्यक्त गरेको विचार चित्त नबुझेमा खण्डन गर्ने, प्रतिवाद गर्ने कार्य राजनीतिक चरित्रभित्रै पर्दछ ।

त्यसो गर्नुको साटो विचारप्रति असहमति राख्दै हतियार लिएर सडकमा उत्रिने काम पक्कै पनि राजनीतिक चरित्र हुनै सक्दैन । अराजनीतिक चरित्र देखाउने जो–कोहीलाई कानुनी दायरामा ल्याउनुपर्छ, अन्यथा सरकारमाथि प्रश्न उठ्छ । जनताले नजिकिँदै गरेको उपचुनावदेखि नै जवाफ दिन नथाल्लान् भन्न सकिन्न !

प्रतिक्रिया दिनुहोस्