विश्व मुटु दिवसमा प्रभावतफेरी  नर्भिकमा अत्याधुनिक क्याथल्याब



नेपाल समाचारपत्र, काठमाडौं। नर्भिक इन्टरनेसनल हस्पिटलले बृहत् प्रभातफेरी गर्दै सन् २०१९ कोे विश्व मुटु दिवस शुक्रबार मनाएको छ। बिहान सबेरै अस्पताले राजधानीमा बृहत् प्रभातफेरी कार्यक्रमको आयोजना गर्यो ।

प्रभातफेरीमा विगतमा नर्भिकमा मुटुरोगको उपचार गरी सफलता प्राप्त गरेका व्यक्ति, उपचारमा संलग्न चिकित्सक, अस्पतालमा कार्यरत कर्मचारी तथा सर्वसाधारणको संलग्नता रहेको थियो।अस्पतालका मुटुरोग विभागका निर्देशक प्राडा यादवदेव भट्टसहित अन्य मुटुरोग विशेषज्ञहरू, कर्मचारी, विभिन्न संघ–संस्थाका पदाधिकारी, अस्पतालबाट स्वास्थ्यलाभ गरेका सफल व्यक्ति तथा सर्वसाधारण गरी झन्डै २ जनाले प्रभातफेरीमा सहभागिता जनाएको अस्पतालका नायब महाप्रबन्धक आरपी मैनालीले जानकारी दिनुभयो।

बिहान सबेरै नर्भिक प्रांगणबाट शुरू भएको प्रभातफेरी कुपन्डोल, पाटनढोका, कृष्णमन्दिर हुँदै पुनः नर्भिक पुगेर टुंगिएको थियो।

क्याथल्याब समुद्घाटन

विश्व मुटु दिवसका अवसर पारेर विशेष समारोहकाबीच नर्भिकका अध्यक्ष वसन्तकुमार चौधरीले क्याथल्याब सेवाको शनिबार समुद्घाटन गर्नुभएको थियो।यो उपकरण सन् २००० को अगस्ट महिनामा जडान गरेको क्याथल्याब एड्भान्स क्याथल्याब भएको अस्पतालले जनाएको छ।

अत्याधुनिक सुविधा र प्रविधियुक्त मेसिन भएकाले मुटुका रक्तनली हातखुट्टाका रक्तनली र मुत्र प्रणालीका रक्तनली आदिको इन्टरभेन्सन्स् सुरक्षित छिटो र छरितो गर्न सकिनुका साथै न्युरो नेभिगेसनमा समेत अत्यन्त भरपर्दो हुने नर्भिकले जनाएको छ।

विश्व मुटु महासंघको आह्वानमा हरेक वर्ष सेप्टेम्बर महिनाको २९ तारिख यो दिवस मनाइन्छ। सन् २००० को सेप्टेम्बर २४ तारिखदेखि मनाउन थालिएको यस दिवसले झन्डै २ दशक हुन लागेको छ।

 

विश्वव्यापीरूपमा बढ्दै गएको मुटुरोगबारे बृहत् जनचेतनाको अभिवृद्धि गर्नु/गराउनु र रोग रोकथामका उपाय अवलम्बन गराउन जनमानसलाई अभिप्रेरित गराउनु नै यस दिवसको मुख्य उद्देश्य रहिआएको छ।

 

माथि उल्लिखित कारण विश्वभरकै मानिस प्रभावित बन्नुका कारण रोगीको संख्या दिनानुदिन बढ्दै गएको छ। साथै जटिलता पनि उत्तिकै थपिएको चिकित्सकहरू बताउँछन्। हाल विश्वभरका १ करोड ७५ लाखभन्दा बढी मानिसले प्रत्येक वर्ष मुटुरोगका कारण ज्यान गुमाइरहेका छन्।

नेपालमा पनि शहरी जनसंख्याको झन्डै ७ देखि ८ प्रतिशत मानिस कुनै न कुनै प्रकारका मुटुरोगबाट ग्रसित छन्।विश्व मुटु दिवसमा ‘स्वस्थ मुटुको नायक बनौं’ भन्ने मूल नाराका साथ नेपालमा पनि विविध कार्यक्रम मुटुरोग परीक्षण शिविरहरू, रोगबारे जनचेतना तथा रोकथामका उपायहरूबारे प्रवचन, शिक्षामूलक प्रशिक्षण जस्ता कार्यक्रम गरी मनाइयो।

कार्यक्रममा नर्भिकका फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. जेपी जैसवाललगायतका वक्ताहरूले मुटुरोगका विविध विषयमा प्रकाश पार्नुभएको थियो।सोही अवसरमा प्राडा यादवदेव भट्टले नेपालमा मुटुरोग विधालाई विश्वस्तरीय पार्न विविध विशेषज्ञ सेवा थप गर्दै ‘इन्टेन्सिभ केयर स्पेसलिस्ट’ को सेवा थप्ने जानकारी गराउनुभयो।

 

उहाँले थप्नुभयो– ‘नर्भिक केवल मुटुरोगका लागि मात्रै उत्कृष्ट छ, त्यो होइन। नर्भिक बहु आयामिक हस्पिटल भएकै कारण नर्भिकमा उपलब्ध पेट तथा कलेजो रोग, पेटसम्बन्धी शल्यक्रिया प्रसूति तथा स्त्रीरोग, स्नायुरोग तथा स्नायु शल्यक्रिया जस्ता विधामा समेत उच्चस्तरको सेवा रहेको छ।’

गतवर्ष नर्भिकमा जटिल मुटुरोगको उपचार गराउनेमध्येका डा. प्रेमराज वैद्यले नर्भिकमा आफूले उपचारका कारण नयाँ जीवन पाउनुका साथै आफू र आफ्नो परिवार सेवाप्रति प्रभावित भएको बताउनुभयो। ‘पेसाले आफैं मुटुरोग विशेषज्ञ हुनुहुन्छ।उहाँलाई गतवर्ष हृदयाघात भएको र नर्भिककै जटिल प्राइमरी एन्जियोप्लास्टी तथा स्टेन्ट प्रत्यारोपण गरिएको थियो। उहाँले मेरो परिवारमा मुटरोग वंशाणुगत जस्तै भएको छ।

उच्च स्थरको मुटु उपचार सेवा नेपालमा नहुँदा आफ्ना दाजुलाई गुमाउनुपरेको स्मरण गर्दै पितालाई भने मुटुको शल्यक्रिया नर्भिकमै गरियो’, उहाँ नर्भिक आफ्नो घरजस्तै भएको बताउँदै भन्नुहुन्छ– मुटुरोग विधामा अग्रणी भूमिका खेल्दै सन् २००५ मा नेपालको पहिलो ‘बिटिङ हार्ट’ मुटु शल्यक्रिया हुँदा आफू पनि शल्यचिकित्सक टोलीको सदस्य रहेको सुखद् अनुभूति आफूमा ताजै छ। नर्भिक नभएको भए आज म तपाईंहरूमाझ हुने थिइनँ।’

कार्यक्रममा मुटुरोगका बिरामी र उत्कृष्ट कर्मचारीसमेतलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा जटिल एन्जियोप्लास्टी, प्राइमरी एन्जियोप्लास्टी (व्यक्तिलाई हृदयाघात भएपछि जीवन बचाउन तत्कालै गरिने न्जियोप्लास्टी प्रक्रिया) र हृदयरोग शल्यक्रिया (वाइपास सर्जरी) गराई स्वास्थ्य लाभ गरिरहेका मध्ये १० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो।

हस्पिटलका विभिन्न विभागमा रही वर्षभर उत्कृष्ट कार्य गर्दै मुटुरोग उपचारमा विशेष योगदान पुर्याउनेकर्मचारीहरूलाई समेत कार्यक्रममा प्रबन्ध निर्देशक तथा समारोहका सभापति मेघा चौधरीद्वारा सम्मान गरिएको थियो।

दिवसका अवसरमा ‘विशेष मुटु जाँच योजना’ नामक कार्यक्रमअन्तर्गत विशेषज्ञबाट निःशुल्क जाँचका साथ निदानात्मक जाँचहरू र परामर्श सेवा सञ्चालन गरिएको थियो।

समारोहका प्रमुख अतिथि वसन्त चौधरीले आफ्ना सम्बोधनका क्रममा नर्भिकलाई अझै उत्कृष्ट पार्न संसारभर हाल विद्यमान सबै प्रविधि भित्याइने प्रतिबद्धता गर्नुभयो।

त्यसै गरी आगामी कात्तिक ९ गते नर्भिकको ८ तले नयाँ भवनको शिलान्यास गरिने र यसलाई २ सय ५६ शैøयायुक्त राष्ट्रकै अति विशिष्ट हस्पिटलका रूपमा रूपान्तरित गर्ने व्यहोरासमेत सार्वजनिक गर्नुभयो।

मुटुरोगका मुख्य कारण

  •  सुर्तीजन्य पदार्थको व्यापक प्रयोग
  •  मधुमेह
  •  अस्वस्थ आहार–व्यवहार
  • मद्यपान
  •  उच्च रक्तचाप
  •  उच्च रक्त कोलेस्टोरोल
  • ज्यादा मोटोपना
  • शारीरिक निस्क्रियता
  • विलाशपूर्ण जीवनशैली
  •  जन्मजात बाथ तथा मुटुरोग

 

डा. रेग्मीद्वारा अक्षयकोष स्थापना

विश्व मुटुरोग दिवसको सन्दर्भ पारेर वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बाथ मुटुरोग अनुसन्धान कोष स्थापना गर्नुभएको छ।बाथ मुटुरोग अध्ययन अनुसन्धान र रोकथाममा सहयोग पुर्याउने उद्देश्यले डा. रेग्मीले कोष स्थापना गरेको जानकारी गराउनुभयो।

शुक्रबार नेपाल हृदयरोग निवारण प्रतिष्ठान काठमाडौंमा आयोजित कार्यक्रममा डा. रेग्मीले कोष स्थापनाको घोषणा गर्नुभएको हो।डा. रेग्मी बाथ मुटुरोग अनुसन्धान तथा रोकथाम अक्षयकोष नाम दिइएको उक्तकोषमा आफ्नोतर्फबाट १० लाख रुपियाँ दान गरेको उहाँले जानकारी गराउनुभयो।

उहाँले उक्त कोष तीन वर्षभित्र २५ लाख र १० वर्षभित्र १ करोड पुर्याउने लक्ष्य राखेको बताउनुभयो।‘नेपालमा बाथ मुटुरोगको अवस्था भयावह बन्दै गएको छ। यसको अनुसन्धान र रोकथाम अहिलेको आवश्यकता पनि हो।त्यसका लागि सधंै अरूको मुख ताकेर मात्रै पनि सम्भव छैन।

त्यसैले आफैंले केही गरौं भनेर यो कोष स्थापना गरेको हो’, डा. रेग्मीले भन्नुभयो–‘कोषमा जम्मा भएको रकमको ब्याजबाट बाथ मुटुको अनुसन्धान खर्च गरिने र रोगथाममा लाग्ने व्यक्ति तथा संस्थालाई पुरस्कृत गर्ने योजना रहेको छ।’नेपाल हृदयरोग प्रतिष्ठानका अनुसार नेपालमा १ प्रतिशत बालबालिकामा बाथ मुटुरोगको समस्या हुने गरेको अनुमान छ।

मुटु दिवस–२०१९ का अवसरमा आयोजित कार्यक्रमको मुल उद्देश्य हामी सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीमा स्वस्थ मुटु सुखी जीवनको कामना गर्दछौं भन्ने थियो।विश्वमा बर्षेनी १ करोड ७५ लाख मानिस मुटुको रोगका कारण मर्ने गर्दछन्। यसमध्ये विकासोन्मुख राष्ट्र«हरूमा मुटु रोगबाट मर्नेको संख्या ८० प्रतिशतभन्दा बढी पर्न आउँछ।

विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०३० सम्ममा मुटु रोगबाट विश्वभर मर्नेको संख्या बर्षेनी २ करोड ५० लाख पुग्ने अनुमान छ।विकासोन्मुख राष्ट्रहरूमा आज हृदयघातका कारण मृत्यु हुनेको संख्या २५ प्रतिशत छ भने सन् २०३० सम्ममा यो संख्या बढेर ३५ प्रतिशत पुग्ने अनुमान गरिएको छ। यसरी मुटुरोगी बढ्दै जानु हाम्रा लागि ठूलो चिन्ताको विषय हो।

नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अनुसार हाल नेपालमा कुल जनसंख्याको २५ प्रतिशतअर्थात् करिब ७५ लाख जनता मुटुरोगी भएको अनुमान गरिएको छ।नेपालमा करिब ३० प्रतिशत वयश्क जनतालाई उच्च रक्तचाप छ, २० प्रतिशतलाई कोलेस्टेरोल छ, ६ प्रतिशतलाई मधुमेह छ, १ प्रतिशत बालबालिकालाई बाथ मुटुको रोग छ।

९० प्रतिशत नेपालीले मुटुमैत्री खाना खाँदैनन्। करिब ५० प्रतिशत शहरिया नेपालीले आवश्यक व्यायाम गर्दैनन्। ४० प्रतिशतले चुरोट, सुर्ती सेवन गर्छन्।धेरै नेपालीलाई मानसिक तनाव छ। मुटुको रोग बद्दै जानुको प्रमुख कारण मानिसको जीवनशैली अस्वस्थकर हुनु हो। आजका मानिसको जीवनशैली अस्वस्थकर भएको छ।

 

एकातिर खानामा अत्यधिक चिल्लो, गुलियो र नुनको मात्रा बढेको छ, हरियो सागपात, फलफूल आदि घटेको छ, चुरोट, सुर्तीको सेवन बढेको छ, रक्सी पिउने बानी बढेको छ भने अर्कोतिर व्यायाम गर्ने बानीमा कमी आएको छ, मानसिक तनाव अत्यधिक बढेको छ।

यस प्रकारको अस्वस्थकर जीवनशैलीलाई स्वस्थकर बनाउनेतर्फ कदम चाल्नु नै मुटुरोगबाट बच्ने सबै सबैभन्दा सरल र उत्तम उपाए हो।नेपाल सरकार नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणका लागि सन् २०१४ देखि २०२० सम्मको कार्य योजना तर्जुमा गरी कार्यान्वयनतर्फ अग्रसर छ।

 

मुटुलगायत अन्य नसर्ने रोगहरूको उपचारबाट वञ्चित भई कुनै पनि नेपालीको मृत्यु नहोस् भन्ने हाम्रो चाहना रहेको छ।मुटुरोगको उपचारतर्फ मात्र नभई आगामी दिनहरूमा नेपाल सरकारले मुटुरोग रोकथामका विभिन्न कार्यक्रम पनि अघि बढाउनेछ भन्ने आशा गर्दछौं।नेपाल हृदयरोग निवारण प्रतिष्ठान र नेपाल हार्टनेटको संयोजनमा एक ‘हाम्रो प्रण ः स्वस्थ मुटु’ भन्ने नाराका साथ विश्व मुटु दिवस मनाएको थियो। स्वस्थ जीवनशैली नै मुटुमा ऊर्जा भर्ने एक मात्र उपाय हो। मुटु ऊर्जावान् भए जीवन सशक्त बन्दछ।

अल्कामा स्वास्थ्य शिविर

 

ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले विश्व मुटु दिवसका अवसरमा आइतबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।‘स्वस्थ्य मुटु सुरक्षित भविष्य’ भन्ने नाराका साथ लायन्स क्लब अफ काठमाडौं अल्का र लियो क्लब अफ काठमाडौं अल्काको सहयोगमा अस्पतालले अस्पताल प्राङ्गणमा शिविर आयोजना गरेको हो।

मुटु दिवसका अवसरमा अल्का अस्पतालले बिरामीका लागि विभिन्न ल्याब परीक्षणमा छुट दिएको छ। ईसीजी, इको, लिपिड प्रोफाइल, क्रेटिनाइन र ब्लड सुगर फास्टिङ परीक्षण निःशुल्क गरिएको अल्का अस्पतालले जनाएको छ।

मुटुरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा चिकित्सकले सिफारिस गरेका परीक्षण निःशुल्क गरिएको अल्का अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिलीप थापाले बताए।

उनका अनुसार निःशुल्क शिविरका जाँच गरिएका बिरामीलाई १० दिनसम्मका लागि औषधि पनि निःशुल्क वितरण गरिएको छ।शिविरमा जाँच गरेकाहरूको  १४ दिनसम्ममा एकपटक फ्लो अपमा आउँदा ओपीडी चार्ज नलाग्ने अस्पतालले जनाएको छ।विश्वमा हरेक वर्ष मुटुसम्बन्धी १७ लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

नेपालमा भने २६ लाख मानिसमा कुनै न कुनै मुटुसम्बन्धी रोग लागेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख रहेको छ।धूमपान, मद्यमान नगर्ने, चिल्लो–पीरो नखाने, माछामासु कम खाने र दैनिक व्यायाम गरे मुटु रोगबाट बच्न सकिने चिकित्सकहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्