रेडियो सन्देशको वार्षिकोत्सव  स्वास्थ्य शिविरमा औषधि, चस्मा र शल्यक्रिया 



नेपाल समाचारपत्र, हेटौंडा। रेडियो सन्देश १०६.९ मेगाहर्जको वार्षिकोत्सवको अवसर तथा मनहरी गाउँपालिकाको सहकार्यमा भएको ‘निःशुल्क स्वास्थ्य शिविर’ मा ६ सय ५० जनाले सेवा लिएका छन्।शिविरमा बालरोग विशेषज्ञ सेवा, फिजिसियन सेवा, आँखा र दाँत, मुखको सम्पूर्ण समस्याको उपचार गरिएको थियो। मनहरी गाउँपालिकास्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयमा भएको शिविरमा सबैभन्दा धेरै बिरामी आँखासम्बन्धी समस्या लिएर आएका थिए।

 

शिविरमा ३ सय जनाले आँखा जाँच गराएका छन्। जसमा २२ जनामा मोतियाबिन्दु भेटिएको हेटौंडा सामुदायिक आँखा अस्पतालका वरिष्ठ नेत्र सहायक कृष्णराज ढुंगानाले बताउनुभयो।

सेवा लिन आएकाको समस्या हेरेर धेरैको संख्यामा चस्मा र औषधि निःशुल्क वितरण गरिएको थियो।मोतियाबिन्दु भएका २२ जनाको पनि निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको रेडियोका अध्यक्ष सुनील खड्काले बताउनुभयो।

शिविरमा १ सय ५ जनाले फिजिसियन सेवा लिएका थिए भने विभिन्न समस्या भएर आएका ९५ जना बालबालिकाको पनि जाँच गरी निःशुल्क औषधि वितरण गरिएको थियो। त्यस्तै १ सय ५० जनाले दाँतसम्बन्धी समस्याको निःशुल्क उपचार र औषधि लिएका थिए।

शिविरमा हेटौंडा सामुदायिक आँखा अस्पताल, हिमालय नेपाल डेन्टल केयर प्रालि र मकवानपुर सहकारी अस्पतालले प्राविधिक सहयोग गरेका थिए भने मनहरी गाउँपालिकाको सहकार्यमा शिविर आयोजना गरिएको थियो।

शिविरको उद्घाटन गर्नुहुँदै प्रदेशसभा सदस्य ओम घलान (प्रदीप) ले स्वास्थ्यको विषय मानव जीवनको एकदमै महत्वपूर्ण कुरा भएकाले आफ्नो स्वास्थ्यको चासो राख्नुपर्ने बताउनुभयो।

सामुदायिक रेडियोले समुदायमा आधारित कार्यक्रम गरेकोमा खुसी व्यक्त गर्दै यस्ता सामाजिक कार्यको निरन्तरताका लागि सुझाउनुभयो। ग्रामीण क्षेत्रमा रहेका आम नागरिकको स्वास्थ्यको विषयमा सबैले चासो राख्नुपर्ने उहाँको भनाइ थियो।

सरकारको राष्ट्रिय अभियान समृद्ध नेपाल सुखी नेपाली साकार पार्न पहिले स्वस्थ्य हुनुपर्ने घलानको भनाइ थियो।कार्यक्रमका विशिष्ट अतिथि मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले गाउँपालिकाले जनता हितमा काम गरिरहेको बताउँदै नागरिक स्वस्थ रहेको देख्ने आफ्नो चाहना रहेको बताउनुभयो।

 

गाउँपालिकाले रोग र बिरामीको पहिचान गरी तत्काल उपचारको व्यवस्था गराउने निर्णय गरेको पनि अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो।स्वास्थ्य शिविर मनहरी गाउँपालिकामा आयोजना भएकोमा खुसी व्यक्त गर्दै उहाँले आयोजकलाई धन्यवाद पनि दिनुभयो।

कार्यक्रममा मनहरी गाउँपालिका ७ नम्बर वडाध्यक्ष ठाकुरराम तितुङ, मनहरी गाउँपालिका प्रशासकीय अधिकृत देवराज चौलागाईं, वडा सदस्य शेखरबहादुर बर्तौला, मकवानपुर सहकारी अस्पताल जनरल फिजिसियन अनिल उप्रेती, हेटौंडा सामुदायिक आँखा अस्पतालका वरिष्ठ नेत्र सहायक कृष्णराज ढुंगाना, हिमालय नेपाल डेन्टल केयर प्रालिका सरोज चौधरी, राष्ट्रिय रोटरी मध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष शालिकराम बानिया, राष्ट्रिय रोटरी माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद पौडेललगायतको आतिथ्यता रहेको थियो।

शिविरमा वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर हरिबहादुर खड्का, जर्नल फिजिसियन डाक्टर अनिल उप्रेती र डाक्टर अमृत चौंलागार्इं, हेटौंडा सामुदायिक आँखा अस्पतालको चिकित्सकहरूको टिम, हिमालय नेपाल डेन्टल केयर प्रालिका डाक्टर सपना सुवेदीसहितको टिमले उपचार सेवा दिनुभएको थियो।

शिविरमा आँखाका बिरामीलाई चस्मा र औषधि निःशुल्क वितरण गरिएको थियो भने मोतियाबिन्दु भएका आँखाका बिरामीको निःशुल्क शल्यक्रियासमेत हुने भएको छ। त्यस्तै दाँतको समस्या भएका बिरामीको पनि निःशुल्क उपचार गरिनुको साथै औषधि पनि निःशुल्क वितरण गरिएको थियो।बालरोग विशेषज्ञ र फिजिसियन डाक्टरहरूले पनि निःशुल्क उपचार सेवा दिनुभएको छ भने औषधि पनि निःशुल्क वितरण गरिएको रेडियोका अध्यक्ष खड्काले जानकारी दिनुभयो। वार्षिकोत्सवको मुख्य कार्यक्रम असोज १४ गते मंगलबार हुँदै छ।

प्रतिक्रिया दिनुहोस्