ग्रान्डीले लापरबाही गरेको प्रमाणित न्यौपाने दम्पतीलाई तीन महिनापछि न्याय



भगवती तिमल्सिना, काठमाडौं।ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले सञ्जीवचन्द्र न्यौपाने र एकता घिमिरेको नवजात शिशु (छोरा) को उपचारमा चरम लापरबाही गरी कल्पनै गर्न नसकिने पीडा दिएको कुरा तीन महिनापछि प्रमाणित भएको छ।

सो सम्बन्धमा अनुसन्धान गर्न नेपाल मेडिकल काउन्सिलको ०७६ असार ७ गतेको पूर्ण बैठकद्वारा प्राडा गणेश राईको नेतृत्वमा गठित विज्ञ टोलीले हालै बुझाएको प्रतिवेदनमा उक्त शिशुको उपचारमा चिकित्सकको टिमबाट धेरै कमी–कमजोरी भएको देखाएको हो।

जबकि नेपाल समाचारपत्र दैनिकले तीन महिनाअघि नै उक्त शिशुको उपचारमा अस्पतालले चरम लापरबाही गरेको समाचार प्रकाशित गरेको थियो।

उक्त प्रतिवेदनमा उपचारका क्रममा शिशुलाई एकैपटक अत्यधिक मात्रामा पारासिटामोल दिइएको, मस्तिष्कको भर्टिकल र सीवाईएसटीको आकार–प्रकारबारे रेडियोलोजिस्ट र उपचाररत न्युरो सर्जन चिकित्सकका बीच बुझाइको अत्यन्तै अभाव देखिएको र बिरामी पक्षलाई पर्याप्त र यथार्थ जानकारी नदिइएको उल्लेख छ।

जिम्मेवार चिकित्सकहरूबीचमै उपचारमा संलग्न विभिन्न प्रक्रिया र त्यसबाट सिर्जित अवस्थाको विषयमा बुझाईमा एकरूपता नदेखिनुले चिकित्सकहरू आपसी समन्वय, काउन्सिलिङ, ब्रिफिङमा अत्यन्तै चुकेको निष्कर्ष निकालिएको प्रतिवेदनले खुलाएको छ।

प्रतिवेदनको निष्कर्षमा भनिएको छ– ‘शिशुको मस्तिष्कको भिडियो एक्सरे गरेपश्चात्् रेडियोलोजिस्टहरूका सुझावअनुसार सिटी अथवा एमआरआई गर्न चिकित्सकले ढिलाइ गरेको देखियो।

बिरामीको उपचार गरिरहँदा पनि सुधार नआएपछि रोगको अवस्था र जटिलताका बारे समयमै पहिचान गर्न बिरामीको सिटी वा एमआरआई अत्यन्तै जरुरी पर्दछ। जुन समयमा गरिएको देखिएन। जसले गर्दा रोगको जटिलताको समयमै पहिचान गर्न नसक्नु यो घटनाको मुख्य कमजोरी हो।’

‘१० महिनाको अवधिमा शिशुको पटक–पटक शल्यक्रिया भएको र बिरामीको नाजुक अवस्था हुँदासम्म बिरामी पक्षलाई आशा जगाउँदै छैठौंपटक शल्यक्रियाका लागि तयारी गरेको देखिँदा अस्पतालको तर्फबाट मानवीय संवेदनशीलतामा सावधानी अपनाएको पाइएन।’ –सोही प्रतिवेदनले बोलेको छ।

गत असार १२ गते ग्रान्डी अस्पतालमा सञ्जीव न्यौपाने र एकता घिमिरेको बच्चाको उपचारका क्रममा लापरबाही गरिएको भनी नेपाल मेडिकल काउन्सिलसमक्ष छानबिनका लागि निवेदन पेस भएको थियो।

सोही निवेदनका विषयमा काउन्सिलले यही असोज १० गते अन्तिम निष्कर्षसहितको प्रतिवेदन ग्रान्डी अस्पताललाई बुझाउँदै कानुनी कारबाही अगाडि बढाउने निर्णय गरेको काउन्सिल स्रोतले नेपाल समाचारपत्रलाई जानकारी दिएको छ।

तीन महिनाअघिको घटना सम्झँदै न्यौपानेले भन्नुभयो– ‘बच्चा जन्माउने योजनादेखि नै ग्रान्डीका चिकित्सकहरूको सल्लाह र सुझावअनुसार अघि बढ्यौं। पूरा समय नहुँदै ३६ हप्तामा सिजरिङ गरी बच्चा निकाल्यौं।

उनीहरूले जे–जे भने त्यही–त्यही मान्यौं तर, उनीहरूको विश्वासमा पर्दा बच्चालाई एनआईसीयूको ब्याक्टेरियाका कारण निमोनिया भएछ। सोही कारण टाउकोमा पिप जमेर दिमाग नै नष्ट भएछ।

यस्तो हुँदासम्म चिकित्सकले गुमराहमा राखेर टाउकोको अप्रेसन गरिरहे।’ उहाँले मेडिकल काउन्सिलको विज्ञ टोलीको प्रतिवेदनका आधारमा दोषीमाथि हदैसम्मको कानुनी कारबाही हुनुपर्ने बताउनुभयो।

नेपाल मेडिकल काउन्सिलका प्रवक्ता ढुण्डी पौडेलले भने चिकित्सकको गल्ती/कमजोरीलाई ‘चरम लापरबाही’ भन्न नमिल्ने दाबी गर्दै भन्नुभयो– ‘चिकित्सक, व्यवस्थापक, प्रशासन, कर्मचारी सबैको तर्फबाट सामूहिकरूपमा गल्ती भएको प्रतिवेदनले देखाएको छ।’ न्यौपाने दम्पत्तिले काउन्सिलमा उजुरी दर्ता गराएपछि काउन्सिलले विज्ञ टोली बनाई अनुसन्धान अघि बढाएको थियो।

यो पनि पढ्नुहोस्…

ग्राण्डीको निरन्तर लापरबाही. ‘सकुशल’ बच्चाको उपचारकै क्रममा मृत्यु

‘हामीलाई त ग्राण्डीले नराम्ररी ठग्यो, अब कोही नठगियून्’

 

प्रतिक्रिया दिनुहोस्