पर्यटकीयस्थल लभ्लीहिल पुग्न पदमार्ग सञ्चालन



प्रताप बानियाँ, म्याग्दी ।

पर्यटकीयस्थल लभ्लीहिल पुग्नका लागि रेलिङसहितको पक्की पदमार्ग बनेको छ । म्याग्दीको सदरमुकाम बेनीबजारदेखि नजिकै रहेको पर्यटकीयस्थल लभ्लीहिल पुग्ने पदमार्ग सञ्चालनमा आएको हो । बेनी नगरपालिकाले ५०, मोना आइईसीले ४० र म्याग्दी उद्योग वाणिज्य संघले १० प्रतिशत लागत खर्च बेहोर्ने गरी त्रिपक्षीय साझेदारीमा नवनिर्मित पदमार्गको हालै उद्घाटन गरिएको छ ।

समुन्द्री सतहदेखि करिब १ हजार २ सय मिटरमा अवस्थित लभ्लीहिल पुग्ने पदमार्ग निर्माणमा कुल ७४ लाख ७३ हजार छ सय नौ रुपैयाँ लगानी भएको छ । त्यसमध्ये बेनी नगरपालिकाले ३७ लाख ३६ हजार आठसय पाँच, मोना आइईसीले २९ लाख ८९ हजार चारसय ४४ र म्याग्दी उद्योग वाणिज्य संघले सातलाख ४७ हजार तीनसय ६० रुपैयाँ लगानी गरेका छन् ।

कुल ६ सय ३० मिटर लम्बाइको पदमार्गमा २ मिटर चौडाइको सिँढी बनाइएको छ भने ६ इन्च उचाई रहेको सिँढीको पैताला १२ देखि १४ इन्चसम्म रहेको छ । पदमार्गको दुवैतर्फ रेलिङ हालिएको छ भने पदमार्गको मुख्य प्रवेशद्वार समेत बनाइएको छ । ‘मोना–बेनी–लभ्लीहिल’ नाम राखिएको पदमार्गको गएको वर्ष भदौ ८ गते शिलान्यास गरिएको थियो भने शिलान्यास भएको झण्डै ६ महिनापछि गत माघ २८ गतेबाट मात्रै निर्माणको काम अगाडि बढाइएको थियो ।

नवनिर्मित पदमार्गको उद्घाटन गर्दै प्रतिनिधि सभाका सदस्य भूपेन्द्रबहादुर थापाले प्रवासी म्याग्देलीहरुले जिल्लाको सामाजिक, भौतिक र मानवीय क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरे । उनले पदमार्ग निर्माणपश्चात् पर्यटन क्षेत्रको विकासमा थप टेवा पुग्ने बताउँदै विदेशमा सिकेको सिप र पुँजी लगानीका लागि जिल्लामा पर्याप्त सम्भावना भएको बताए । पूर्व सभासद गोविन्द पौडेल र गण्डकी प्रदेशका सांसद विनोद केसीले पर्यटन, कृषि एवं जलविद्युतको क्षेत्रमा लगानी आवश्यक रहेको बताएका छन् ।

सोही अवसरमा पदमार्गको बिचमा बेनपा–७, का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले आफ्नो स्वर्गीय पिताको नाममा बनाएको विश्रामस्थल र लभ्लीहिलमा नवनिर्मित बाटिकाको समेत उद्घाटन गरिएको छ । डिभिजन वन कार्यालयको आर्थिक सहयोग तथा स्थानीय उपभोक्ताको जनश्रमदानबाट निर्मित बाटिकाको उद्घाटनसँगै अवलोकन गरिएको थियो ।

कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, नेपाली कांग्रेसका सचिव क्या. मिनबहादुर कार्की, बेनपा–२, का वडा अध्यक्ष हिराबहादुर थापा, मोनाका संस्थापक अध्यक्ष प्रकाश पुन र मोना आइईसीका पदमार्ग संयोजक ओमनारायण जुग्जालीले लभ्लीहिललाई पर्यटकीय गन्तव्यको क्षेत्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यको अध्यक्षता, सचिव सुर्वण रिजालको सञ्चालन र मोना आइईसीका अध्यक्ष चक्रबहादुर थापाको स्वागतमा सम्पन्न कार्यक्रममा पदमार्ग व्यवस्थापन समितिका कोषाध्यक्ष सुनिता केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । सदरमुकाम बेनीबाट आधा घण्टाको समयमा पुगिने लभ्लीहिलमा पदमार्ग बनेपछि अब १५ मिनेटमा सजिलै पुग्न सकिन्छ । यसैगरी बेनी–हाँडेभिर हुँदै जङ्गलभित्र कच्ची सडकमा सवारीसाधनमार्फत पनि १० मिनेटमा लभ्लीहिल पुगिन्छ ।

लभ्लीहिलमा आर्थिक वर्ष २०७३/७४ मा पर्यटन कार्यालय पोखरा, बेनी नगरपालिकाको आर्थिक सहयोग र स्थानीयवासीको श्रमदानमा भौतिक पूर्वाधारको विस्तार गरिएको लभहिल पर्यटन पूर्वाधार विकास उपभोक्ता समितिले जनाएको छ । कुल १२ लाखको लागतमा लभ्लीहिलमा गोलघर (भ्यु प्वाईन्ट), रेलिङ र बस्नका लागि आरामदायी बेन्च लगायतका पूर्वाधारहरुको निर्माण गरेसँगै अहिले त्यहाँ पुग्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।

लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, पुलाचौर, केभहिल, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाज लगायतका क्षेत्रहरु देख्न सकिन्छ । यसैगरी म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौं अग्लो चुचुरो धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदय र सुर्यास्तको समेत अवलोकन गर्न पाइन्छ । बेनीबजार आसपासका क्षेत्रबाट बग्ने म्याग्दी र कालीगण्डकी नदीको बहावलगायत आकर्षक दृष्यको अवलोकन गर्न सकिन्छ ।

पूर्वाधार निर्माणसँगै पछिल्लो समय म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको पर्यटकीय तथा रमणीयस्थल लभ्लीहिल पर्यटक आकर्षणको केन्द्र बन्दै जान थालेको छ । खबरामा रहेको लभ्लीहिल आन्तरिक र बाह्य पर्यटकका लागि मुख्य आकर्षणको केन्द्र बनेको लभ्लीहिलको पुरानो नाभ भने खाराको डाँडो रहेको स्थानीयवासी बताउँछन् ।

खासगरी युवायुवतीका लागि ‘डेटिङ स्पोट’का रुपमा परिचित लभ्लीहिल अहिले विभिन्न जिल्लाबाट म्याग्दीको बेनीबजारमा आउने आन्तरिक पर्यटकका लागि पनि आकर्षक गन्तव्यस्थल बनेको छ । बेनीबजारसँगै जोडिएको खबराको डाँडोलाई लभ्लीहिल नामाकरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्