दशैंको किनमेल



एकथरि लालबुझक्कड देखेर धरहरालाई झनन्न रिस उठ्छ, जो भन्छन्– ‘बजारमा किन यत्रो भीड गरेका मानिसले, फुटपाथ र खुला बजारतिर पाइला राख्ने ठाउँ छैन, यही बेला भिडमभीड गरेर किन महँगो र नक्कली सामान किन्नुपर्ने ! ‘

मानौं, उनीहरूलाई जति अरू कसैलाई केही थाहा छैन । दशैंका बेला ५ सयको प्यान्टलाई १७ सय नै किन हाल्नु नपरोस्, त्यसको मजै बेग्लै हुन्छ ।

कहिले किनेको भनेर कसैले सोधे ‘दशैंमा’ भनेर ठाँटसँग जवाफ दिन सकिन्छ । किन्नेलाई जति मजा हुन्छ, लाउनेलाई पनि उत्तिकै आनन्द आउँछ, ‘दशैंको प्यान्ट’ भन्न पाइन्छ ।

उहिल्यै भूतकालमा तीजतिर किनेको र भविष्यको छठपछि चाडबाडविहीन अवस्थामा किनेर लाएको सस्तो लुगाको के अर्थ !जवानीका बेला खर्च हुन्छ भनेर बिहे नगर्ने, कि त बाल वा कि वृद्ध विवाह उमेरमा विवाह गर्ने यस्तै लालबुझक्कडहरू हुन् ।

खर्च बचाउन समय आउनुअघि वा समय गएपछि गरेको कामको के अर्थ । यिनीहरूलाई हो पढाउनुपर्ने– लगनपछिको पोते भन्ने उखान ! दशैं भनेको लगन हो, यसलाई छोप्नुपर्छ ।

त्यसैले ललितपुरको लगनखेल, काठमाडौंको भृकुटीमण्डप, रत्नपार्कआदि बजारमा बुद्धिमानी नागरिक जति भन्यो त्यति पैसा तिर्दै भिडमभीड गरेर किनेको किन्यै छन् ।

कतिलाई त हुलमूलमा नयाँ प्यान्ट भनेर किन्दा अर्काको जडौरी पनि पर्दोरहेछ, टालेका जुत्ता बोकेर जाने ग्राहकको पनि कमी हुँदोरहेनछ । तर, केही छैन, खास कुरो दशैं मान्नुसँग छ !

प्रतिक्रिया दिनुहोस्