भारत यू–१८ साफ च्याम्पियन



नेपाल समाचारपत्र, काठमाडौं। भारतले बंगलादेशविरुद्धको फाइनल खेल २–१ गोलअन्तरले जित्दै काठमाडौंमा भएको तेस्रो यू–१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। आइतबार हल्चोक मैदानमा भएको फाइनल खेलको इन्जुरी समयमा रविबहादुर रानाले गोल गर्दै भारतलाई उपाधि दिलाएका हुन्।

उनी नेपाली मूलका भारतीय खेलाडी हुन्। भारत पहिलोपटक यू–१८ साफमा विजेता बनेको छ। यसअघि भारत पहिलो संस्करणको फाइनल पुगेको थियो भने अघिल्ला दुई संस्करण नेपालले जितेको थियो।

यसअघि विक्रम प्रताप सिंहले खेलको दोस्रो मिनेटमै वान भर्सेस वानमा गोल गर्दै भारतलाई १–० को अग्रतामा राखेका थिए। तर, २३औं मिनेटमा भारतका गुरकिरात सिंह र बंगलादेशका मोहम्मद रिडोएले रातो कार्ड खाँदै बाहिरिएपछि दुवै टोली १० खेलाडीमा सीमित भएको थियो।

दुवै जना विक्रमलाई गरिएको फाउलबारे भनाभन हुँदै एक–अर्कामाथि हातपातसमेत गर्न तम्सिएका थिए। यसैमा नेपाली रेफ्री कविन व्यञ्जनकारले रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए। यसको बाबजुद ४०औं मिनेटमा बंगलादेशका कप्तान यासिन अराफतले गोल गरेर खेल १–१ बराबरीमा पुर्याएका थिए।

तर, उनले गोलको खुसीमा जर्सी फुकाल्ने कोशिस गर्दा खेलमा दोस्रो पहेंलो कार्ड आत्मसात गर्दै बाहिरिनु पर्यो। योसँगै बंगलादेशले ९ खेलाडीले बाँकी खेल खेल्नुपरेको थियो।

तापनि बंगलादेशले खेललाई टाइब्रेकसम्म लान कोशिस गरेको थियो। अन्तमा भने भारतका रविले लङ सटलाई गोलमा परिणत गर्दा बंगलादेश लगातार उपाधिबाट विमुख भयो। यसअघिको संस्करणमा बंगलादेश उपाधिबाट चुकेको थियो।

 

प्रतिक्रिया दिनुहोस्