खसीबोकाको व्यापारमा झरी बाधक



नेपाल समाचारपत्र, हेटौंडा।अघिल्ला वर्षमा हेटौंडामा दशैंको बेला खसीबोकाको कारोबार उच्च रहने गरे पनि यस वर्ष भने कारोबार त्यति उत्साहजनक छैन।

लगातार वर्षाका कारण कारोबार घटेको व्यवसायी बताउँछन्। झरीका कारण गाउँ–गाउँका व्यापारीलाई बजारसम्म आइपुग्न समस्या भएपछि खसीबोकाको व्यापारमा गिरावट आएको हो।

विगतका वर्षमा दशैं आउन डेढ महिनाअघिबाट राम्रो कारोबार हुने गरे पनि यस वर्ष भने खसीबोकाले त्यति बजार पाउन नसकेको व्यापारीको भनाइ छ।

बजारमा कारोबार घट्दा गाउँबाट खसीबोका बिक्रीका लागि बजारमा ल्याउने व्यापारीले खरिद गरेको मूल्यभन्दा कममा बिक्री गर्न बाध्य भएको व्यापारी रमेश सिग्देलले बताउनुभयो।

हेटौंडा–१०, बसपार्कस्थित खसीबोका बजारमा दैनिक सात सयसम्मको संख्यामा कारोबार हुन्थ्यो। तर, यसपटक भने दुई÷तीन सय खसी बिकाउन मुस्किल भएको खसीबोका तथा बाख्रा खरिदबिक्री केन्द्रका इञ्चार्ज राजकुमार महर्जनले बताउनुभयो। झरीले यसपटकको व्यापार चौपट पारेको उहाँले गुनासो गर्नुभयो।

महर्जनका अनुसार अन्य समयमा कम व्यापार हँुदा पनि व्यापारी खासै चिन्तित बनेका थिएनन्। तर, बिक्री हुने मुख्य समयमा नै खसीबोकाको व्यापार घट्दा यतिखेर व्यापारी समस्यामा परेका हुन्। विगतमा यहाँका व्यापारीले खसीबोकाको माग थेग्न नसक्ने अवस्था थियो।

‘गाउँ–गाउँबाट खसीबोका खरिद गरेर व्यापारीले काठमाडौं लैजान थालेपछि हेटौंडामा खसीबोकाको व्यापार घटेको हो,’ उहाँले भन्नुभयो।

बिक्री केन्द्रमा नामटार, बस्तीपुर, मनहरी, ज्यामिरे, फापरबारी, शिखरकटेरीलगायत स्थानबाट पनि खसीबोका ल्याइने महर्जनले बताउनुभयो। अन्य जिल्ला तथा भारतबाट यस वर्ष खसी हेटौंडामा नआएको उहाँको भनाइ छ।

उहाँले व्यापारको समस्यासँगै भवनको समस्या रहेको बताउनुभयो। उहाँका अनुसार खसीबोका बिक्री गर्ने भवन अपुग भएकोमा कुनै निकायले चासो लिएका छैनन्।

आदर्श टोल विकास संस्थाले भवन बनाउने भनिएको थियो। तर, नगरपालिकाले उक्त संस्थालाई भवन बनाउन अनुमति नदिएको महर्जनले जानकारी दिनुभयो।

भवन व्यवस्थित नहँुदा व्यापारीले भनेअनुसार खसीको संख्या बढाउन नसकिएको उहाँले बताउनुभयो। पानी पर्दा व्यापारीहरू होटलतिर खसीबोका लिएर दगुर्नुपर्ने अवस्था रहेको महर्जनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्