होमस्टेको लोकप्रियता आकासियो पर्यटकीय गाउँका होमस्टेमा अग्रिम बुकिङ



गणेश घिमिरे,इलाम। जिल्लामा दर्जनभन्दा बढी स्थानमा होमस्टे सञ्चालन भएपछि होटलभन्दा यसतर्फ पर्यटक आकर्षित भएका छन्। पछिल्लो समय जिल्लामा आउने पर्यटकले होटेलभन्दा होमस्टे रोज्न थालेका हुन्।

न्यानो आतिथ्यका माध्यमबाट गाउँघरका परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई होमस्टेले आकर्षित गरेको हो। प्रायः होमस्टे सञ्चालन भएका गाउँमा यातायातको सुविधा भएपछि पर्यटक सिधै होमस्टेका लागि पुग्ने गरेका छन्।

जिल्लामा भित्रिएकामध्ये धेरै पर्यटक होमस्टेको मज्जा लिनका लागि इलाम आउने गरेका छन्। होमस्टेको गाउँ नै भनेर चिनिएको जिल्लाको सूर्योदय नगरपालिका स्थित श्रीअन्तुमा आन्तरिक पर्यटक र भारत पश्चिम बंगालका पर्यटक बढी मात्रामा आउने गरेका छन्।

श्रीअन्तुसहित इलाम नगरपालिकाको बालनगाउँ, सन्दकपुर गाउँपालिकाको माईपोखरी, माईमझुवा लगायतका पर्यटकीय स्थलमा दर्जनौको संख्यामा होमस्टे सञ्चालित छन्। श्रीअन्तुमा ४४ वटा होमस्टे दर्ता भएर सञ्चालनमा रहेको छ।

श्रीअन्तुमा मात्र वार्षिक ३०–४० हजारको हाराहारीमा आन्तरिक र बाह्य पर्यटक भित्रने गरेका छन्।
विशेष गरेर अतिथि सत्कारसँगै होमस्टेमा पाइने स्थानीय स्तरमा उत्पादित वस्तुको स्वादमा रमाउनका साथै सूर्योदयको दृष्यावलोकन सहित चियाबगान, नेपाल र भारतका विभिन्न ठाउँहरू देख्न सकिने, अन्तु पोखरीमा बोटिङको मज्जा लिन तथा सल्लाघारीमा रमाउन अन्तुमा वार्षिक हजारौंको सङख्यामा पर्यटक पुग्ने गरेका छन्।

पर्यटकहरू होमस्टेको अनुभव लिनकै लागि पनि श्रीअन्तुमा आउने गरेको होमस्टे सञ्चालक तथा अन्तु पर्यटन विकास केन्द्रका अध्यक्ष धनकुमार आलेले बताउनुभयो। उहाँका अनुसार पर्यटकले होमस्टेमा अग्रिम बुकिङ नै गर्ने गरेका छन्।

एकहप्ता वा पन्ध्रदिनपछिका लागि होमस्टेमा पर्यटकले अग्रिम बुकिङ गर्ने गरेको र अहिले पनि त्योक्रम जारी रहेको छ। पर्यटकीय सिजन आउने समय भएकाले कात्तिक महिनाको लागि पर्यटकले होमस्टेमा अग्रिम बुकिङ गर्न थालिसकेको अध्यक्ष आलेले बताउनुभयो।

अन्तुमा गत वर्ष एकै घरमा ३ हजार ६ सयजना भन्दा बढी पर्यटक बास बसेका थिए। अहिले पनि यहाँका प्रत्येक होमस्टेमा दैनिक कम्तिमा पनि १०–१२ जना पर्यटक बास बस्ने गरेका छन् तर सिजनमा भने अत्यधिक धेरै हुने हुँदा थेग्न गाह«ो हुनेगरेको आलेको भनाइ छ।

जिल्लाको अर्को पर्यटकीय गाउँ सन्दकपुर गाउँपालिकाको माईपोखरी–सुलुबङमा रहेका सामुदायिक होमस्टेमा बास बस्नका लागि आन्तरिक पर्यटकले अग्रिम बुकिङ गर्न थालेका छन्।

महिलाले मात्र सञ्चालन गरेको माईपोखरी देउराली सामुदायिक होमस्टेमा पर्यटक अग्रिम बुकिङ गरेर होमस्टेमा रमाउन अनि होमस्टेको अनुभव लिनका लागि होटल छाडेर आउने गरेको होमस्टे सञ्चालक समितिकी अध्यक्ष लिलादेवी भट्टराईले बताउनुभयो।

उक्त क्षेत्रमा नौवटा होमस्टे दर्ता भएर सञ्चालनमा छन्। सो गाउँपालिकाका पर्यटकीय क्षेत्र माईपोखरी, हाँगेथाम, चोयाटार, सन्दकपुरलगायतका पर्यटकीय क्षेत्र घुमेर फर्कने र घुम्न आउने पर्यटक त्यहाँका होमस्टेमा गुन्द्रुकको अचार, लोकल कुखुराको मासुसहित स्थानीय स्तरमा उत्पादित कृषि उपजको स्वादमा रमाउँदै बास बस्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्