सुनसान गाउँ दशैंले रमाइलो



विमल बिष्ट,डोटी। दशैं नजिकिएसँगै भारतमा रोजगारी गरेर फर्कने सुदूरपश्चिमेलीहरूको हिजो आज राजमार्गमा लर्को लाग्न थालेको छ।

असारको काम सकेर कामका लागि भारतका विभिन्न शहर तथा जिल्लाबाहिर गएका डोटीसहित यहाँका अछाम, बझाङ, डडेलधुरा, बैतडी, दार्चुला, बाजुरा जिल्लाका स्थानीयबासीहरू घर फर्किन थालेपछि यहाँका गाउँघरमा दशैंको रौनकसँगै चहलपहल बढेको छ।

रोजगारीका लागि भारतका विभिन्न शहरमा गएका यहाँका स्थानीयहरू दशैं मनाउन घर फर्किन थालेपछि अहिले डोटीलगायत यहाँका विभिन्न जिल्लाका गाउँ घरमा निकै चहलपहल तथा रमाइलो छाउन थालेको बडीकेदार गाउँपालिकाका–१ का स्थानीय प्रकाशबहादुर कल्लेले बताउनुभयो। उहाँले भन्नुभयो– ‘पहिले गाउँ प्रायः सुनसान थियो, अहिले दशंै मनाउन सबै गाउँ फर्किन थालेपछि गाउँमा निकै रमाइलो हुन थालेको छ।’

कामका लागि भारत गएकाहरू गाउँघरमा फर्किन थालेपछि अहिले यहाँका गाउँघरमा व्यापार व्यवसाय पनि फष्टाउन थालेको स्थानीय व्यापारीहरू बताउँछन्।

अहिले यहाँका जिल्ला सदरमुकामभन्दा पनि गाउँघरका पसलहरूमा बढी व्यापार व्यवसाय हुन थालेको केआईसिंह गाउँपालिका काफलीका स्थानीय व्यापारी जहरसिंह खवारले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘दशै–तिहारमा प्राय पैसा नभएको त कोही हँुदैन तैपनि रोजगारीबाट फर्किएकाले बढी सरसामान किन्ने हुँदा यहाँको व्यापार व्यवसाय एकाएक फष्टाएको छ।’

उता रोजगारीका लागि भारत गएकाहरू घर फर्किंदा सिमानाकामा दैनिक जसो लुटिने तथा हेपिने गरेको भारतको केराला शहरमा काम गरी फर्किएका डोटीको पुर्विचौकी गाउँपालिकाका स्थानीय राम बिकले गुनासो गर्नुभयो।

उहाँले भन्नुभयो–‘भारतीय प्रहरीले अनाहकमा दुःख दिन्छन्,पैसा माग्छन, नदिए सामान नै ल्याउन दिँदैनन्।’ प्रायजसो दुई–तीन जना सुदूरपश्चिमेलीहरू सिमानाकामा दिनहुँ लुटिने गरेको स्थानीयबासीहरू बताउँछन्।

उता सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी तारणीप्रशाद लम्सालले भारतबाट फर्किने नेपालीहरूलाई दुःख नदिन सिमा क्षेत्रमा खटिएका प्रहरीलाई निर्देशन दिएको बताउनुभयो।

‘भारतीय प्रहरीले सिमा क्षेत्रमा भारतबाट फर्किएकालाई दुःख दिन थालेको छ भन्ने खबर आएपछि हामीले दुःख नदिन खबर गरेका छौ, –उहाँले भन्नुभयो– ‘सीमानाकामा कसैले दुःख पाएको भए प्रहरीले खोलेको नागरिक सहायता कक्षमा उजुरी गरे हामी सहयोग गर्छौ।’

सीमा क्षेत्रमा वर्षेनी सुदूरपश्चिमेलीहरू लुटिँदा र हेपिँदासमेत सरकारले त्यसको रोकथामका लागि खासै पहल गर्न नसकेको स्थानीयबासीको आरोप छ। सुदूरपश्चिमेलीहरू कैलालीको त्रिनगर तथा कञ्चनपुर जिल्लाको ग·ाचौकी भन्सारमा बढी लुटिने गर्ने गरेका छन्।

सुदूरपश्चिम प्रदेशका लगभग नौ वटै जिल्लाबाट कामका लागि भारत जानेहरू बर्षेनि बढ्दैगए पनि कति जना रोजगारीका लागि जान्छन् त भन्ने यकिन तथ्यांक भने कसैसँग छैन।

यद्यपि करीब २५ लाख जनसंख्या रहेको सुदूरपश्चिम प्रदेशबाट कामका लागि भारत जानेहरूको संख्या कम्तिमा पनि ६ लाख जति रहेको अनुमान विभिन्न संघसंस्थाहरूले लगाउने गरेका छन्।

आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्युन पारिश्रमिकमा काम गर्नुपर्ने, औषधीमुलोसमेत राम्रो नपाइने भएपछि सुदूरपश्चिम प्रदेशबाट रोजगारीका लागि भारत जानेको संख्या दिन प्रतिदिन बढ्दो क्रममा रहेको दिपायलका स्थानीयबासी तथा समाजसेवी घनश्याम पाठकले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्